‘बालिका वधू’की प्रत्यूषा बनर्जीद्धारा आत्महत्या

२० चैत, एजेन्सी ।
सत्य समाचारलाई पनि झुट जस्तो पार्नेगरि भारतीय चर्चीत टेलिश्रृंखला बालिका बधूकी अभिनेत्री प्रत्यूषा बेनर्जीले आत्महत्या गरेकी छिन् ।

अप्रिल फूल अर्थात् पश्चिमाले मुर्ख दिवस मनाइरहेको बेलामा यसैको हावा लाग्नेगरि सत्य समाचार पनि झुट जस्तो गरि झुक्याउने पारेर भएको मृत्युपछि मुम्बई प्रहरीका अनुसार प्रत्युषाले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएकी थिइन् ।

हिन्दुस्तान टाइम्सका अनुसार उनको प्रेमीका राहुल राज सिंहसँग भएको खटपट पछि उनले आवेशमा आएर आत्महत्या गरेकी हुन् ।

गम्भिर अवस्थामा अस्पताल पुर्याइएपनि डाक्टरले प्रत्युषालाई मृत घोषणा गरेका थिए ।

केही समयपछि बिवाह गर्ने पक्का पक्की जस्तै अवस्थामा प्रेमीले धोका दिएको आरोप लगाइरहेको समयमा उनको आत्महत्या भएको र आत्महत्या अघि उनले कुनै पनि सुसाईड नोट लेखेको नभेटिएको प्रहरीले बताएको छ ।

प्रत्यूषा अंधेरी वेस्ट मुम्बईमा साथीसँग बस्दै आएकी थिइन् भने उनको परिवार मुम्बई बाहिर बस्दै आएको छ ।

जापानबाट छोराको आमालाई पत्र

आमा !! म विदेशमा छु । टाढा छु । आमा, तपाईले फेसबुक चलाउन जान्नु हुन्न । तर पनि मन थाम्न लेख्छु । मलाई थाहा छ, आमा ! यो पत्र तपाईसम्म पुग्छ ।

फोटोहरु देखेर मन कुडिएको छ । आँखाभरि आँशु टिलपिलाएको छ । वरपरको पृष्ठभूमी र हजुरको हेराईको भाव बुझ्छु, आमा । कत्ति निश्चल छ है हजुरको मन । म कत्ति सजिलै बुझ्छु ती भावहरु ।

आमा, जे हुनु भयो । मन बुझाउनु है । म छु । मसंग हामी छ । हामीसंग हामीहरू छौँ । वितेका व्यथालाई सम्झेर मन खिन्न बनाउनु हुदैन ।

अब नयाँ ढङ्गले पाईला सार्नुपर्छ । आमासंगै अरू तीन धर परिवारलाई भन्छु । बाचा गर्छु । तपाईका पाईलाहरूमा हामी साथ दिन्छौँ । यहाँ राजु दाई, छेउघरे बा, सुर्य र केशब सम्दी लगायतका परिवारलाई समावेश गर्दछु ।

हामीले अझै रमाईला क्षणहरू बिताउनु छ । निराशालाई बदलेर आशाहरु पलाउनु छ । आशाहरुलाई भरोशा बनाउनु छ । भरोशाहरुलाई साहासमा बदल्नु छ ।

आमा ! बाबा !! दाई !! सम्दी !!! खुट्टा कत्ति पनि नडग•मगाउनुस् है ।
उही तपाईको छोरा
विनेश दुरा

५० हजार कामदार मलेसियाबाट फिर्ता

मलेसिया,चैत २२ । मलेसिया सरकारले आप्रवासी कामदारलाई रोजगारीका लागि मलेसिया आउन बन्द गरेसँगै यहाँको रोजगारी छाड्ने नेपालीको संख्या वृद्धि भएको छ । एक महिनाको अवधिमा मलेसियाबाट ५३ हजार २५ जना नेपाली वैधानिक श्रमिकको सूचीबाट हटेका छन् ।

मलेसियामा चार लाख ८३ हजार नौ सय आठ नेपाली श्रमिक वैधाधिन रुपमा काम गरिरहेको अध्यागमन विभागको तथ्यांकमा छ । मलेसियाबाट एक महिनाको अवधिमै ५० हजारभन्दा बढी नेपाली घर फर्किएको वा अवैधानिक भएको भन्ने विषयमा अध्यागमनले स्पष्ट पारेको छैन ।

मलेसियामा रोजागारी छाड्ने नेपालीको संख्या अन्य देशका श्रमिकभन्दा धेरै छ । करिब ५० हजारभन्दा धेरै नेपाली श्रमिकले मलेसियाको वैधानिक रोजगारी छाडेका छन् । नेपाली कामदारको तथ्यांकले पनि मलेसियामा आउनेभन्दा स्वदेश फर्कने धेरै भएको पुष्टि गर्छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

 

धाराको एक गाग्रो पानीको ५० रुपैयाँ

१९ चैत, सिन्धुली ।
भुवनेश्वरी ७ का पूर्णबहादुर कामी ठकुरी ७० वर्षका भए । उनकी श्रीमती ६५ वर्षकी भइन् । उनीहरु दुवै जना पानी बोक्न सक्दैनन् । तर खानैपर्छ ।
 
एक गाग्री पानीको ५० रुपैयाँ दिएर ल्याउन लगाउँछु ।’ ठकुरीले भने, ‘पानी नहुँदा सरसफाइदेखि हरेका कुरामा समस्या छ । यो उदाहारण मात्र हो ।
 
भूकम्प र खडेरीले खानेपानीको मूहान सुकेपछि सिन्धुलीका दर्जनभन्दा बढी गाविसका बासिन्दाले सास्ती पाएका छन् । भुवनेश्वरी ७ का बासिन्दालाई पानी ल्याउन २ घण्टा समय लाग्छ ।
 
घरमा काम गर्नेमान्छे नहुनेले पैसा तिरेर अरुलाई पानी ल्याउन लगाएर खाइरहेका छन् । अाजको कारोबार दैनिकमा समाचार छ ।

पूर्वअर्थमन्त्री महत भर्‍याङबाट लडेर घाइते

काठमाडौं,चैत १८ ।  पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामशरण महत भर्‍याङबाट लडेर भएका छन् । महतलाई अहिले राजधानीको धापारीस्थित ग्राण्डी अस्पतालमा भर्ना गरिएको उनका सहयोगी तथा नेपाली कांग्रेस नुवाकोटका युवा नेता रमेश महतले जानकारी दिए ।बाँसबारीस्थित निवासको  बुधबार सााझ  भर्‍याङ चढ्दै गर्दा महत लड्न पुगेका हुन् ।  भर्‍याङबाट लड्दा उनको खुट्टाको गोलीगाठो  फ्याक्चर भएको  छ ।

चीन र नेपालले जारी गरेको संयुक्त प्रेस बक्तव्यको नेपाली अनुबाद

१. जनबादी गणतन्त्र चीनको राज्य परिषदका प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा नेपालका प्रधानमन्त्री सम्माननीय केपी शर्मा ओलीले सन् २०१६ मार्च २० देखि २७ सम्म चीनको औपचारिक भ्रमण गर्नुभयो । भ्रमणका दौरान प्रधानमन्त्री ओलीले जनवादी गणतन्त्र चीनका महामहिम राष्ट्रपति सि जिन पिङसंग शिष्टाचार भेट गर्नुका साथै चिनियाँ राज्य परिषदका प्रधानमन्त्री ली खछ्याङ र चिनिया जनराजनैतिक परामर्श परिषदका केन्द्रिय कमिटी अध्यक्ष महामहिम यु जेनसेङ्गसंग द्वीपक्षिय औपचारिक बार्ता गर्नुभयो । बेइजिङको यो भ्रमण पश्चात प्रधानमन्त्री ओली एसिया बार्षिक सम्मेलनको बोआओ मञ्च २०१६ मा सहभागि हुनुहुने छ र सानक्षी प्रान्तको साइयान र सिचुवान प्रान्तको चेङ्दुको पनि भ्रमण गर्नुहुने छ । प्रधानमन्त्री ओलीको भ्रमणदलमा उहाँकी श्रीमती राधिका शाक्य, उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री माननीय कमल थापा, अर्थमन्त्री माननीय बिष्णु पौडेल, बाणिज्यमन्त्री माननीय दीपक बोहोरा, शिक्षामन्त्री माननीय गिरिराजमणी पोखरेल, सम्माननीय प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बिष्णु प्रसाद रिमाल, सांसद सदस्यहरू, बरिष्ठ सरकारी अधिकृतहरू र निजीक्षेत्रका प्रतिनिधी तथा संचारकर्मीहरू रहनुभएको छ ।

२. दुबै देशका नेताहरूले दुई देशकाबीच सन् १९५५ मा दौत्य सम्बन्ध स्थापना भएपश्चात बिबिध क्षेत्रमा समन्वय गरि हासिल गरेका उल्लेख्य उपलब्धीहरूप्रति सन्तोष ब्यक्त गर्दै फरक भौगोलिक आकार र सामाजिक संरचना भएका दुई देशकाबीच सहअस्तित्वका नमुनाका रुपमा रहेका पञ्चशीलका सिद्धान्तहरूका आधारमा दुईपक्षीय सम्बन्धले गति लिन सकेको बिश्वास ब्यक्त गर्नुभयो । चिनियाँ पक्षले नेपालले भरखरै नयाँ संबिधान जारी गरेकोमा स्वागत गर्दै सो कदमलाई नेपालको राजनैतिक परिबर्तनको क्षेत्रमा एउटा ऐतिहासिक प्रगति भएको जनायो । यो अवसरलाई नेपालले राजनैतिक स्थायित्व तथा आर्थिक बिकासको लागि उपयोग गर्न सक्नेमा पनि चिनियाँ पक्षले आफू आशावादी रहेको जनायो ।
दुबै पक्षहरूले आ–आफ्ना देशहरू बिबिध किसिमका परिबर्तन, सुधार र बिकासको प्रक्रियामा रहेको कुरा मनन गरे । चिन–नेपाल सम्बन्ध नयाँ उचाइमा पुगेको र दुबै देश बिकास र उन्नतिका थप अबसरहरूको सम्मुख छन् । यस परिपेक्ष्यमा दुबै पक्षहरूले पारम्परिक मित्रतालाई अघि बढाउदै समानता र आपसी हितलाई मध्यनजर राखी दुई देश र जनताको हीतका खातिर आपसी समन्वयलाई अझ प्रगाढ बनाउने छन् ।
३. दुबै पक्षले एक अर्काको स्वतन्त्रता, सार्बभौमिकता र भौगोलिक अखण्डतालाई सम्मान गर्दै एक अर्काका समस्या र चाँसोप्रति सम्मानका साथ सदासयीहुने प्रतिबद्धता प्रकट गरे । नेपालले एक चीन नीतिप्रतिको आफ्नो प्रतिबद्धतामा अडिग रहेको जनायो । आफ्नो सार्बभौमिकता, राष्ट्रिय एकता र भौगोलिक अखण्डतालाई अक्षुण्ण राख्न चीनले चालेका कदमहरूप्रति नेपालले पूर्ण समर्थन जनाउँदै कुनै पनि शक्तिलाई चीन बिरोधी र चीन बिभाजनका गतिबिधी सञ्चालनको लागि नेपालको भूमी प्रयोग गर्न नदिने कुरामा नेपाल अडिग रहेको कुरामा चिनियाँ पक्षलाई आश्वस्त बनायो । त्यस्तै, नेपालको आफ्नै छनौटको सामाजिक प्रणाली, बिकासको अबधारणा, स्वतन्त्रता, सार्बभौमिकता र भौगोलिक अखण्डता तथा राष्ट्रिय एकता र स्थायित्वको दिशामा चालेका कदमहरूप्रति चिनियाँ पक्षले दृढ समर्थन जनायो ।

४. दुई देशकाबीच उच्चस्तरमा हुने सम्पर्कको दुई देशको सम्बन्धको बिकासमा बिशेष महत्व रहने कुरामा दुबै पक्षले बिश्वास प्रकट गरे । दुबै पक्षले उच्चस्तरीय आपसी भ्रमणको सिलसिलालाई अझ गति दिन तथा दुईपक्षीय तथा बहुपक्षीय अबसरहरूमा उच्च नेतृत्वबीच आपसी चाँसोका बिषयहरूमा बिचार आदान प्रदान गर्नुपर्ने कुरा मन्जुर गरे । कुटनीतिक परामर्शहरू तथा संयुक्त आर्थिक तथा ब्यापार समिति लगायतका बिद्यमान संयन्त्रहरूको पूर्ण उपयोग गरि दुई देशका सरकारी निकाय, ब्यबस्थापिका तथा राजनैतिक दलहरूकाबीचमा समन्वयको बिस्तार गरिने कुरामा पनि दुबै पक्ष मन्जुर भए ।

५. नेपाल–चीन आपसी समन्वयको सवालमा दुबै पक्षले एक अर्काको बिकासका योजनामा सामन्जस्यता कायम गर्दै दुईपक्षीय हितका उपयुक्त कार्यक्रमहरूको तर्जुमा गरी मुख्य मुख्य बिकास योजनाहरूलाई ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’को अबधारणा अनुरुप कार्यान्वयन गर्ने कुरामा दुबै पक्ष मञ्जुर भए । त्यस्तै दुई देशका बीचमा सम्पर्कलाई अझ बढाउनका लागि हवाइमार्ग तथा सडकमार्गलाई अझ उन्नत बनाउन र जमिनबाट हुने ढुवानीमा सुधार गर्न दुबै पक्ष मञ्जुर भए । चिनियाँ पक्षले अरनिको राजमार्गको मर्मत तथा सञ्चालन सुचारू गर्ने, स्याप्रुबेसीह–रसुवागढी सडकखण्डको मर्मत तथा सञ्चालन सुचारू गर्ने तथा पुलान्यारी नाकाको हिल्सामा कर्णाली नदीमाथि पुल निर्माण गर्ने योजनाहरूको सम्भाब्यता अध्ययनको लागि द्रुत गतिमा काम गर्ने प्रतिबद्धता जनायो । त्यस्तै बिद्यमान समस्याहरुको समाधान गरि काठमाडौं चक्रपथ सुधार–पहिलो चरणको कामलाई द्रुतगतिमा अघि बढाउन र दोस्रो चरणको सम्भाब्यता अध्ययनलाई उपयुक्त समयमा अघि बढाउन पनि दुबै पक्ष राजी भए । यसका लागि नेपाल पक्षले ती योजनाहरूको कार्यान्वयनमा आबश्यक सहजीकरण गर्नेछ । दुई देशका सम्बन्धित निकायहरूले सीमापार रेलमार्ग निर्माण गर्ने तथा नेपालमा रेलमार्गको सञ्जाल निर्माण गर्ने बिषयमा बिचार र प्रस्ताबहरूको आदानप्रदान गर्ने तथा सरोकार निकायहरूलाई यथाशक्य चांडो आबश्यक तयारी शुरु गर्न सहयोग गर्नेछन् । दुबै पक्षले नेपालका पूर्वाधार निर्माण लगायतका मूख्य लगानीका क्षेत्रहरूमा नेपालको कानुन अनुसार चिनियाँ लगानीलाई प्रोत्साहन गर्ने बिषयमा बिचारको आदान प्रदान गरे । दुबै पक्ष चालु रहेका नाकाहरूबाट सीमापार आर्थिक समन्वयका आधारको खोजी गर्न तथा पूर्बबत् सम्झौता अनुरुप थप नाका खोल्नका लागि शिघ्र गतिमा आबश्यक कार्य अघि बढाउन राजी भए । भरखरै सम्पन्न पाराबहन सम्झौतालाई निश्कर्षमा पु¥याउन सफल भएकोमा दुबै पक्षले सन्तोष ब्यक्त गर्दै आ–आफ्ना देशका सम्बन्धित निकायहरूलाई सो सम्झौताको अंग हुनेगरि सम्झौता कार्यान्वयनको पद्दति निर्माणका लागि तुरुन्त बार्ता शुरु गर्न निर्देशन दिए । साथै दुबै पक्ष ब्यबस्थित सीमा प्रणालीका लागि सम्बाद गर्नका लागि पनि राजी भए ।

६. चीन सरकारले आफ्नो क्षमता अनुसार नेपालको सामाजिक आर्थिक बिकासका लागि निरन्तर सहायता पु¥याउने छ । चीन सरकारले सन् २०१६ देखि २०१८ सम्ममा नेपालको भूकम्प पछिको पुनर्निर्माणमा संचालित हुने पुर्बाधार निर्माण, जनताको पुनर्थापना, ऐतिहासिक र सांस्कृतिक संपदाहरूको पुनर्निर्माण, प्रकोप जोखिम न्यूनिकरण, स्वास्थ्य सेवा लगायतका २५ मुख्य योजनाहरूका लागि तीन अर्ब रेन्मिन्बी (आरएमबीः करिब ५० अर्ब नेपाली रुपैंयाँ) उपलब्ध गराउने छ ।

चिनियाँ पक्ष ३२००० घरका लागि चाहिने घरेलु सौर्य बत्ती प्रदान गर्न, बिभिन्न क्षेत्रहरूमा स–साना शैक्षिक तथा स्वास्थ केन्द्रहरू निर्माण गर्न, तथा प्रकोप पूर्ब तयारी तथा ब्यबस्थापनमा सहायता दिन मञ्जुर गर्दछ । बर्षाको पानी संकलन तथा अन्य जनजीविकाका स्थानीय परियोजना संचालन गर्न पनि चिनियाँ पक्ष मञ्जुर गर्दछ । चीनसंग सीमाना जोडिएका जिल्लाका बासिन्दाहरूको फाइदाका लागि पूर्बाधार निर्माण तथा सामाजिक र आर्थिक बिकासका काममा अझ बढी सहकार्य गर्न चिनिया पक्ष मञ्जुर गर्दछ ।

७. चीनसंग नेपालको ब्यापार घाटाको सम्बन्धमा नेपाली पक्षबाट भरखरै प्राप्त सुचीअनुसारका बस्तु तथा उत्पादनको चिनियाँ बजारमा पहुँच बढाउनका लागि चिनियाँ पक्ष गम्भिर रहेको छ । दुबै पक्ष चीन नेपाल स्वतन्त्र ब्यापार सम्झौताको लागि संयुक्त सम्भाब्यता अध्ययन गरी चांडो भन्दा चांडो निस्कर्षमा पुग्ने कुरामा मञ्जुर छन् । स्थानीय चिनियाँ निकाय तथा सरकार, चिनियाँ कम्पनीहरू तथा चिनियाँ सामाजिक समूहहरूलाई नेपालमा उत्पादन क्षमता र आर्थिक तथा ब्यापारिक समन्वयका क्षेत्रहरूमा रहेका अवसरहरुलाई चिनेर निर्माण सामाग्री, जलसंरक्षण तथा जलबिद्युत र प्रांगारिक कृषि जस्ता श्रोत र सम्भावना रहेका नेपालका क्षेत्रमा लगानीका लागि सुदृढ समन्वय स्थापना गर्न चिनिया पक्ष प्रोत्साहित गर्दछ ।
८. चीनबाट नेपालमा पेट्रोलियम पदार्थ आपूर्ति गर्ने सम्झौतालाई निस्कर्षमा पु¥याउन दुबै पक्ष मञ्जुर छन् । यस सन्दर्भमा कम्पनीहरूलाई बार्तालाई घनिभुत बनाउन तथा सम्बन्धित निकायहरूलाई मूल्य, कर, ढूवानी, गुणस्तर, तथा भन्सार लगायतका आबश्यक औपचारिक बिषयमा अध्ययन गरि नीतिगत सुझाब दिन दुबै पक्ष प्रोत्साहन गर्दछन् । चिनियाँ पक्ष नेपालका लागि तेल भण्डार निर्माण गर्न राजी छ, साथै चिनले नेपालमा तेल र ग्यासको अध्ययन अन्वेषणका लागि बिज्ञहरू पठाउने छ । दुबै पक्ष सिमापार बिद्युत गृड निर्माण, जलबिद्युत, सौर्य बिद्युत लगयतका उर्जाको क्षेत्रमा दिर्घकालगिन समन्वय निर्माणको लागि एउटा बार्ता संयन्त्र निर्माण गर्न मञ्जुर भए । यी क्षेत्रहरूमा लगानी गर्ने चिनिया लगानीकर्ताहरूलाई सहजीकरण गर्नका लागि आबश्यक कदम चाल्ने कुरामा नेपाली पक्ष मञ्जुर भयो ।

९. दुबै देशका कानुन कार्यान्वयन गर्ने निकायका बीचमा सूचनाहरूको आदान प्रदान, क्षमता अभिबृद्धि, तालिम आदिको माध्यमबाट समन्वय सुदृढ बनाउन दुबै पक्ष राजी भए । अपराध जन्य कसुरमा आपसी कानुनी सहायता, सुपुर्दगी लगायत बिषय तथा सीमा प्रशासनबीच समन्वयलाई सुदृढ बनाउन र गैर कानुनी रुपले सीमा प्रबेश तथा अन्तरदेशीय अपराध रोकथाम गर्न आबश्यक सन्धी–सम्झौताका लागि बार्ता गर्न दुबै पक्ष राजी भए ।

१०. नेपाल सरकाले ग्वाङ्झाउमा महाबाणिज्य कार्यालय स्थापना गर्ने निर्णयलाई चिनले स्वागत गर्यो, साथै छेङ्गदुमा पनि महाबाणीज्य कार्यालय स्थापना गर्ने नेपालको प्रस्ताबलाई हार्दिकताका साथ अध्ययन गर्न चीन राजी भयो । चीन र नेपालका यासु–पोखरा, सानान–भक्तपुर र चेङ्गदु–काठमाडौकाबीच भगिनी सम्बन्ध स्थापना गर्ने सम्झौतालाई दुबै पक्षले स्वागत गरे । यस बिषयमा तिब्बत स्वायत्त क्षेत्र, सिचुवान, यूनान, र चिंङ्हाइ तथा अन्य प्रदेशहरूलाई समेत नेपाल सरकारसंग समन्वय राख्न चीन सरकार प्रोत्साहन गर्दछ ।
११. दुबै पक्ष आ–आफ्नो देशमा एक अर्काको पर्यटन प्रबद्र्धन गरी जन–जनको बीचमा सम्पर्क बढाउने कार्यमा सहयोग गर्न राजी भए । नेपालको पर्यटन क्षेत्रको पुनर्स्थापनाको लागि आगामी ५ बर्षमा २०० नेपाली पर्यटन ब्यबसायीहरूलाई चिनियाँ भाषाको तालिम दिन चिनियाँ पक्षले इच्छा देखाएको छ, साथै चिनियाँ ब्यबसायीहरूलाई नेपालको पर्यटन क्षेत्रमा लगानी गर्न पनि चीन प्रोत्साहित गर्दछ । चिनियाँ पक्षले मानब संसाधन बिकासमा करिब ४०० तालिमका अबसरहरू प्रदान गर्न इच्छुक छ । यसबर्ष नेपाली बिद्यार्थीहरूलाई अझ बढी सरकारी छात्रबृति प्रदान गर्न तथा अन्य माध्यम र कार्यक्रमबाट आउने बढी भन्दा बढी नेपाली बिद्यार्थीहरूलाई चीनमा उच्च शिक्षाका लागि स्वागत गर्न पनि चिनियाँ पक्ष इच्छुक छ । चिनियाँ पक्षले यसै बर्षभित्र सातौ चाईना महोत्सब र दोस्रो काठमाडौं सांस्कृतिक मञ्चको आयोजना गर्नेछ । साथै नेपालमा रहेको चिनियाँ सास्कृतिक केन्द्रमार्फत चीन–नेपाल सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाउने छ । यस सम्बन्धमा आबश्यक सहयोग र सुबिधा उपलब्ध गराउन नेपाल पक्ष इच्छुक छ ।

१२. संयुक्त राष्ट्रसंघ जस्ता बहुपक्षीय मञ्चहरूमा द्वीपक्षीय चाँसोका बिषयमा उन्नत समन्वय स्थापना गर्न दुबै पक्ष राजी भए । जलबायु परिबर्तन, उर्जा, खाद्य सुरक्षा जस्ता बिषयहरूमा बिकासशील देशहरूको समन्वयले आपसी समर्थन तथा सामुहिक तागतलाई बढावा दिई बिकासका बिश्वब्यापी एजेन्डाहरूलाई मुर्तरुप दिन सहयोग पुग्छ भन्ने बिषयमा दुबै पक्ष बिश्वस्त भए । दुबै पक्षले क्षेत्रीय समन्वयका प्रक्रियाहरूमा एक अर्काका सहभागितालाई सकारात्मक रुपमा लिएका छन । साथै संघाइ समन्वय संघ (एससीआई), दक्षिण एसियाली सहयोग संगठन (सार्क) र अन्य क्षेत्रस्य संयन्त्रहरूमा पनि स्वीकृत अबधारणाहरूभित्र रही आपसी समन्वयलाई सुदृढ गर्न पनि दुबै पक्ष सकारात्मक छन् ।
१३. पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय बिमानस्थलका लागि प्राथमिकताका साथ आर्थिक सहयोग उपलब्ध गराउन चिनियाँ पक्ष राजी भयो । नेपाली पक्षले चिनियाँ पक्ष समक्ष दुई लेनको किमाथांका–खादबारी–धनकुटा सडक र काठमाडौं चक्रपथ सुधार, दोस्रो चरणका लागि बिस्तृत परियोजना अध्ययन गरि सडक निर्माण गर्न, रसुवागढी–काठमाडौं र काठमाडौं, पोखरा–लुम्बिनी रेलवे बिस्तार, ४३४ मेघावाट अरूण–किमाथांका बिद्युत आयोजना, रसुवागढी केरूङ नाका हुँदै ४०० केभी अन्तरदेशीय बिद्युत प्रशारण लाईन र काठमाडौ चक्रपथमा १३२ केभी डबल सर्किट बिद्युत प्रशारण मोनोपोल निर्माणमा आर्थिक र प्राबिधिक साहायता प्रदान गर्न चीन समक्ष अनुरोध गर्यो । नेपाली पक्षले मदन भण्डारी प्रबिधि प्रतिष्ठानको स्थापना र निजामति अस्पतालको बिस्तारमा समेत चिनियाँ सहयोगको अपेक्षा दर्सायो । उक्त आयोजनाहरू प्राथमिकता साथ निर्णय गरिएका र तिनीहरूको लागि आर्थिक ब्यबस्थापन बिभिन्न स्रोतहरूबाट गरिने कुरा पनि नेपाली पक्षले ब्यक्त गर्यो । यी सन्दर्भमा नेपाली पक्षले प्रस्तुत गर्ने बिस्तृत योजना प्रस्ताबलाई हार्दिकताका साथ अध्ययन गर्न चिनियाँ पक्ष इच्छुक
रहेको छ ।
१४. दुई देशकाबीचमा ब्यापार, पर्यटन र लगानीलाई सहजीकरण गर्न नियम कानुनको अधिनमा रही चिनियाँ लगानीका बैंकहरूलाई नेपालमा शाखा खोल्न चिनियाँ पक्ष समर्थन गर्दछ । यस सन्दर्भमा नेपालको बजारमा प्रबेश गर्ने चिनियाँ बैंकहरूलाई नेपाली पक्षबाट नीति नियमहरूमा सुबिधा प्रदान हुने अपेक्षा राखिएको छ ।
१५. प्रधानमन्त्री ओलीले चिनियाँ पक्षबाट प्रदान गरिएको न्यानो र मित्रवत आतिथ्यताको लागि आभार ब्यक्त गर्नुभयो । साथै चिनियाँ नेताहरूलाई यसैबर्ष भित्रमा नेपालको भ्रमण गर्न निम्तो पनि दिनुभयो । निमन्त्रणाका लागि चिनियाँ नेताहरूले धन्यबाद ज्ञापन गर्नुभयो र दुबै तर्फलाई उपयुक्त हुने समय कुटनैतिक माध्यमबाट तय गरि नेपालको भ्रमण गर्नका लागि राजी समेत हुनुभयो ।
भ्रमणका अवसरमा स्वतन्त्र ब्यापार, पारबहन, कनेक्टिभिटी तथा आर्थिक समन्वयका बिबिध सम्झौताहरूमा दुबै पक्षका तर्फबाट हस्ताक्षर सम्पन्न भए ।

नागरिक निम्ती एक दिने संबैधानिक शिक्षा

पप्पु गुरुङ्, १८ चैत्र, कञ्चनपुर । दोधारा चाँदनीमा ंसंसदिय परियोजना अन्तर्गत एक दिने नागरिक निम्ती संबैधानिक शिक्षा अन्तरक्रिया आज सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालयको सहयोग तथा सयुक्त संघिय बिकास कार्यक्रम धनगढी आयोजनामा आज साबिकको चाँदनी गाबिसको कार्यालयमा एक दिने नागरिक निम्ती संबैधानिक शिक्षा सम्पन्न भएको छ् । अन्तरक्रियामा नयाँ संबिधानको नागरिकको निम्ती संबिधान शिक्षाका बारे जनकारी गराईएको आयोजक संस्थाले जानकारी दिएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालयका कार्यकारी अधिकृत महेश बमको प्रमुख आतित्वमा संचालित अन्तरक्रियामा स्थानिय राजनितिककर्मी, वडा नागरिक मञ्चका पदाधिकारी, एलजिसिडिपीका प्रतिनिधी बिशन देब जोशी, युएनडिपीका बरिष्ट अनुगमन अधिकृत धन बहादुर चन्द, अनुगमन अधिकृत लक्ष्मी बिक, सामुदायिक सुरक्षा समितिका पदाधिकारीहरु लगाएत स्थानिय संघ संस्थाको बाक्लो उपस्थिती रहेको थियो । नयाँ संबिधानमा नागरिकको पहुच तथा संबिधान निमार्ण पछिको नेपालको परिवर्तनको बारे अन्तक्रियामा छलफल चलेको थियो । संबिधान निमार्ण पछिको कार्यान्वनको बारे अन्तरक्रियामा ब्यापक छलफल समेत भएको थियो । कानुन ब्यवसायी नरेन्द्र बहादुर शाहले प्रशिक्षण दिनुभएको अन्तरक्रियामा उपस्थित सहभागीले संबिधान तथा उपलब्धीको बारे प्रश्न गरेका थिए ।  युएनडिपीका बरिष्ट अनुगमन अधिकृत धन बहादुर चन्दले कार्यक्रमको बारेमा जानकारी गराउनुभएको थियो । 
 

प्रेमीले नै जागिरको लोभमा यसरी फसाएपछि

२१ चैत, काठमाडौं । पतिसँग छोडपत्रपछि दुई सन्तान एक्लै हुर्काउने दायित्व थपियो, साउथ अफ्रिकाकी एमपाथोनी एमसाइनलाइ ।

३७ वर्षीया उनी जागिरको खोजीमा थिइन् । त्यही क्रममा क्रेष्टन पार्क बस्ने २८ वर्षे लुइसमाथि उनको नजर पर्‍यो ।

क्लब आउजाउ गर्दा झाँगिएको मित्रता प्रेममा बदलियो । २०१५ फेब्रुअरीमा लुइसले राखेको प्रेमप्रस्ताव उनले सहजै स्विकारिन् ।

एमसाइनले प्रेमी लुइसलाई जागिर खोजिदिन आग्रह गरिन् । केही दिनमै लुइसले उनको हातमा पैसा थमाइदिए । अनि पासपोर्ट बनाउन अह्राए ।

छोराछोरी पाल्ने मेसोमा प्रेमीले अह्राएको मान्दै जाँदा लागुऔषध ओसारपसारको गम्भीर आरोपमा केही दिन अघि मात्र उनी नेपालमा पक्राउ परेकी छन् ।

नेपाल प्रहरीले उनलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । आजको नागरिक दैनिकमा समाचार छ ।

महामन्त्री बोहराको कोठाभित्र महिलासँग……

काठमाडौं,चैत २२ ।  राप्रपाका महामन्त्री दीपक बोहरा पार्टी कार्यालय जान छाडेको धेरै भइसकेको छ । उनी कहिलेकाहीँ गए पनि आफ्नो कार्यकक्षमा भने पस्दैनन् । तर उनको कार्यकक्ष दिनहुँजसो सरसफाइ गरिन्छ ।मुख्यसचिव हरि घिमिरे बिहान ९ बजेअघि र बेलुका ५ बजेपछि महामन्त्री बोहराकै कार्यकक्ष भित्रै पस्छन् । उनलाई साथ दिएरहेकी हुन्छिन् पार्टी कार्यालयकै एक महिला कर्मचारीले ।

केही दिनअघि ४ बज्नुअघि नै मुख्यसचिव घिमिरे र ती महिला कर्मचारी ढोका थुनेर महामन्त्री बोहराको कोठामा मिटिङ बसेका रहेछन् । तर मान्छे छन् भन्ने मेसो नपाएपछि अरु कर्मचारीहरू ढोकामा चुक्कुल लगाएर बाहिर निस्केछन् । समाचार स्रोतका अनुसार यो घटनापछि मुख्यसचिव घिमिरे अफिस समयमा ती महिला कर्मचारीसँग मिटिङमा बस्न छाडेका छन् । हिजोआज उनी ९ बजेअघि नै कार्यालय पुगेर केहीबेर बसी निस्किन्छन् र बेलुका ५ बजेतिर नजिकैको एभरेष्ट रेष्टुरेन्टमा पुग्ने गरेको देख्नेहरूले बताएका छन् ।

ती महिला कर्मचारी पनि खाजा खान त्यहीँ पुग्ने गरेको बताइन्छ । जब कार्यालयका सबै कर्मचारी घर जान्छन्, तब उनीहरू केन्द्रीय कार्यालयमा आउँछन् स्रोतले भन्यो । केन्द्रीय कार्यालय सञ्चालन गर्ने जस्तो गहन जिम्मेवारी पाएको मुख्य कर्मचारी हरेक दिन १० बजे सबै कर्मचारीलाई बोलाएर सामूहिक मिटिङ राख्ने प्रचलन हुन्छ । तर अरु कर्मचारीसँग विश्वास नभएर हो या किन हो राप्रपा केन्द्रीय कार्यालयका मुख्यसचिव घिमिरे एकजना महिला कर्मचारीसँग मात्रै नियमितजसो मिटिङ बस्नुको रहस्य बुझ्न नसकिएको एक केन्द्रीय सदस्यले बताए ।

अन्य कर्मचारीले भने उनीहरूबीच अन्रंग सम्बन्ध रहेको आशंका गरेका छन् । पार्टी केन्द्रीय कार्यालयको आफ्नो कार्यकक्षमा भइरहेको यो काण्डबारे महामन्त्री बोहरा अनभिज्ञ छन् वा छैनन् ? पुष्टि हुन सकेको छैन । तर पछिल्लो समय भने उनले श्रम मन्त्रालयमै चाँदी कटाई गरिरहेका छन् । म्यानपावर दलालहरूले कामदार विदेश पठाउँदा व्यापक ठगी गरेपछि पूववर्ती श्रम राज्यमन्त्री टेकबहादुर गुरुङले फ्रि भिसा, फ्रि टिकको अवधारणा लागू गरेका थिए । तरुण साप्ताहिकमा समाचार छ ।

टिचिङ्ग अस्पतालको लापरवाहीले एक वृद्धा ईन्तु न चिन्तु

काठमाडौ, चैत १९ । त्रिवि शिक्षण अस्पताल अन्र्तगतको मनमोहन कार्डियोलोजिका चिकित्सकहरुको लापरवाहीले रौतहट पतौराका ७५ वर्षिय जवाहर साहको अवस्था ईन्तु न चिन्तुको अवस्थामा पुगेको छ । मुटुमा भएको ब्लकेज हटाउन एनजीओ प्लास्टि गराउन चैत्र १ गते अस्पतालमा भर्ना भएका साहको चैत्र १० गते सफल अप्रेसन गरिए पनि अप्रेसन थिएटरमा चिकित्सकहरुको लापरवाहीले उनी लड्दा टाउको, गाला र गर्दनको हड्डी भाचिनुका साथै आँखामा रगत जम्दा साहको अवस्था झनै जटिल बन्न पुगेको हो । 

साहका छोरा अरुण कुमार साहले शुक्रवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर अप्रेसन थिएटरमै ह्विल चेयरमा राख्दा लडेर त्यस्तो भएको जवाफ डा. रत्नमणी गजुरेलले दिएको जानकारी दिदै सिटी स्क्यान गर्दा टाउकोको हड्डी फुटेर रक्तश्राब भएको , घाटीको हाड सरेको, गालाको हड्डी भाचिएको र आखाभित्र रक्तश्राब भएर झनै ईन्तु न चिन्तुको अवस्थामा रहेको बताए । 
उनले अस्पतालको लापरवाहीको विषयमा आफूले पटक पटक ध्यान आर्कषित गर्दा समेत उपचारको साटो उल्टै डिस्चार्ज गर्ने षडयन्त्र थालेपछि आफू बाध्यताबस गुहार माग्न पत्रकार सम्मेलन गर्न बाध्य भएको भन्दै आफ्नो बुबाको अवस्थाको विषयमा निष्पक्ष छानविन गरेर उनको निशुल्क उपचारको ब्यवस्था हुनु पर्ने बताए । 
साहले आफूले महानगरिय प्रहरी बृत्तमा समेत यस विषयमा उजुरी दिईसकेको भन्दै आफूलाई न्याय दिलाई दिन पहल गर्न सबैसँग आग्रह गरे । 
उनले अस्पतालकै गल्तीको कारण आफ्नो बुबाको अवस्था खराब भएकोले उनको निशुल्क उपचार र केही भए त्यसको जिम्मेवारीसहित क्षतिपूर्तिको माग गरे ।  

पाँच तलाबाट हामफालेर मर्न खोज्ने अमेरिकनको उद्दार

२१ चैत, काठमाडौं ।

होटलको पाँचौँ तलाबाट हाम फालेर आत्महत्या गर्न प्रयास गर्ने एक अमेरिकी नागरिकको प्रहरीले उद्धार गरेको छ ।

आज बिहान ठमेलको तारा होटलको पाँचौँ तलाबाट हाम फाल्न लागेकी २४ वर्षीय अमेरिकी नागरिक क्रिष्टियन निकोलको प्रहरीले उद्धार गरेको हो ।

दुई साता अघि नेपाल आएकी निकोल लागू औषध दुव्र्यसनी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको सोह्रखेट्टे प्रहरीका डीएसपी सोमेन्द्र सिंह राठौंरले जानकारी दिए ।

बेहोस भएकी निकाललाई सिविक अस्पताल लाजिम्पाटमा भर्ना गरिएको छ ।

लागुओषध दुव्र्यसनीबाट छुटकारा पाउन उनी केहि समय बुटवलमा विपासना ध्यानमा समेत बसेकी थिइन् ।

बाघको छाला सहित पक्राउ

२६ चैत, बर्दिया ।
नेपाल प्रहरी केन्द्रिय व्यूरो र जिल्ला प्रहरी कार्यालय बर्दियाले बाघको छाला सहित एक जनालाई पक्राउ गरेको छ ।

सुर्यपटुवा ९ सोताह मा बाघको छालासहित बानियाभार ४ बस्ने वर्ष ३९ को टिकाराम चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बिषेश सुचनाको आदारमा चौधरी बाट बाघको छाला बरामद गरेको प्रहरीले जनाएको छ ।

चौधरीलाई अन्य अनुसन्धानका लागी ईलाका प्रहरी कार्यलय ढोढरीमा राखिएको छ । अनुसन्धान पछि बर्दिया राष्ट्रिय निकुञ्जमा बुझाइने प्रहरी ले जनाएको छ ।

चौधरीलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार एक लाखदेखि पाँच लाखसम्म जरिवाना र एक वर्षदेखि पाँच वर्षसम्म जेल सजाय हुनेछ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web