११ जेठ, काठमाडौं ।
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिलाई सम्मानित गराउन गाउँदेखिका नेता–कार्यकर्ता जनसेवी र चरित्रवान हुनुपर्ने बताउनुभएको छ ।

सामाजिक लोकतन्त्र अध्ययन केन्द्रद्वारा राजधानीमा आयोजित ‘राजनीतिलाई कसरी सम्मानित क्षेत्र बनाउन सकिन्छ’ विषयक गोष्ठीमा वरिष्ठ नेता पौडेलले जनताले आफ्नो नजिकको नेतालाई राम्रोसँग चिन्ने भएकाले उनीहरु जिम्मेवार हुनुपर्ने बताउनुभयो ।

अहिले नेपालको राजनीति भनेकै सत्ताको लुछाचुँडी, ढाँटछल, गण्डागर्दी र झुटा आश्वासन बाँड्ने कार्यका रुपमा बुझ्न लागिएकोप्रति चिन्ता व्यक्त गर्दै उहाँले राजनीतिलाई मर्यादाको सीमाभित्र राख्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा पार्टीका पूर्वमहामन्त्री प्रकाशमान सिंहले नेता तथा कार्यकर्ताको जीवनशैली र व्यवहार जनमैत्री भएमा राजनीतिक क्षेत्रको सम्मान आफैँ बढ्ने बताउनुभयो ।

कार्यक्रममा काँग्रेसका नेता प्रदीप गिरी, मानबहादुर विश्वकर्मा, कोषाध्यक्ष सीतादेवी यादव, जीवन परियार, राजनीतिज्ञद्वय नीलाम्वर आचार्य र प्रा कृष्ण खनाल, मधु आचार्यलगायतले राजनीतिलाई सम्मानित बनाउने उपायका बारेमा धारणा राख्नुभएको थियो ।

११ जेठ, काठमाडौं ।
सरकारले आन्दोलनरत मधेशी मोर्चासंग भइरहेका संवाद र अनौपचारिक छलफलका बारेमा दलहरुलाई जानकारी गराएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आव्हानमा आज भएको सर्वदलीय बैठकमा मधेशी मोर्चा उपस्थित नभए पछि प्रमुख प्रतिपक्षि काँग्रेसलगायतका दलहरुलाई वार्ताका लागि भइरहेका प्रयाशकाबारेमा प्रधानमन्त्रीले जानकारी गराउनु भएको हो ।

बैठक पछि नेकपा एमालेका नेता एवं कानून मन्त्री अग्नी खरेलले मधेशी मोर्चासंग छलफल गरेरै आजको बैठक राखिएको भए पनि पछिल्लो समयमा मोर्चाले बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएकाले वार्ता र संवादबाट समस्या समाधान गर्नका लागि फेरि छिट्टै बैठक गरिने सहमति भएको बताउनुभयो ।

नेपाली काँग्रेसका नेता महेश आर्चायले मोर्चाका मागका विषयमा अनावश्यक टिकाटिप्पणी गर्नु भन्दा पनि परिणाममुखी वार्ताका लागि सरकारले पहल गर्नुपर्ने र त्यसका लागि सहयोग गर्न काँग्रेस तयार रहेको जानकारी गराएको बताउनुभयो ।

मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष एवं उपप्रधानमन्त्री विजयकुमार गच्छदारले सरकारले वार्तालाई गम्भिरता पूर्वक अघि बढाएकाले आन्दोलनरत मोर्चा वार्तामा आउनु पर्ने बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापाले समस्यालाई वार्ताबाटै समाधान गर्ने विषयमा प्रमुख प्रतिपक्षिलगायत दलहरुसंग छलफल भएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले वार्ताका लागि हिजो मोर्चाका नेताहरुलाई पत्राचार गर्नुभएको थियो ।

११ जेठ, भक्तपुर ।
आन्दोलनरत २९ दलीय संघीय गठबन्धनले आज भक्तपुरमा बिरोध सभाको आयोजना गरेको छ ।

बिरोधसभामा बोल्दै राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारीले संघीय गठबन्धनको अस्तित्व स्वीकार नगरेसम्म सरकारसंग वार्तामा नबस्ने बताउनु भएको छ ।

उहाँले संघीय गठबन्धन भित्रै मधेशी मोर्चा पनि भएकाले यो अस्तित्वलाई सरकारले स्वीकार गरेर मात्रै वार्तामा बोलाउनु पर्ने बताउनुभयो ।उहाँले सरकारले संघीय गठबन्धनलाई फुटाउने षडयन्त्र गरेको आरोप लगाउनुभयो ।

कार्यक्रममा तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले सार्थक वार्ताको पक्षमा गठबन्धन रहेको बताउँदै सरकारले सार्थक वार्ता नचाही आन्दोलन दबाउन खोजेकाले वार्ता सफल हुन नसकेको जिकिर गर्नुभयो ।

त्यस अवसरमा संघीय समाजवादी फोरमका उपाध्यक्ष रकम चेम्जोङ्गले गठबन्धनको अहिलेको आन्दोलन निर्णायक आन्दोलन भएको दाबी गर्दै जातीय समानुपातिक प्रतिनिधित्व र अधिकारको सुनिश्चितता नभएसम्म आन्दोलन जारी रहने बताउनुभयो ।

कार्यक्रममा गठबन्धनमा आबद्ध बिभिन्न दलका नेताहरुले देशभरका विभेदमा परेका जनताको अधिकारका लागि अहिलेको आन्दोलन भएकाले सबैलाई साथ दिन आग्रह गर्नुभएको थियो ।

तारा पौडेल-११ जेठ, पोखरा ।

नशालु पदार्थ सेवन गराई लुटपाट गर्ने ५ जनालाई कास्की प्रहरीले मंगलवार पक्राउ गरेको छ ।

यसरी पक्राउ पर्नेमा स्याङ्गजा स्वरेक वडा नं ७ बस्ने बर्ष ४९ को विकास भन्ने डिलबहादुर सेन ठकुरी, नवलपरासी अरुणखोला गा.वि.स.वडा नं ८ बस्ने बर्ष ३७ को प्रकाश सुनार, पर्वत हसौनी गा.वि.स.वडा नं ६ घर भई हाल रुपन्देही वुटवल न.पा. १२ बस्ने बर्ष ५९ को राम गुरुङ, स्याङ्जा छाङछाङ्दी वडा नं.१ भई हाल रुपन्देही वुटवल न.पा.वडा नं १२ बस्ने बर्ष ४५ को लालेबहादुर दमै र स्याङ्गजा पेलाकोट गा.वि.स.वडा नं. ६ घर भई हाल पोखरा उपमहानगरपालिका ७ बस्ने वर्ष ४५ को धन बहादुर वि.क. रहेका छन् ।

निजहरुले विभिन्न व्यक्तिहरुलाई नशालु पदार्थ सेवन गराई विभिन्न ठाउँबाट लुटेर फरार भएको भन्ने जिल्ला प्रहरी कार्यालय कास्कीलाई प्राप्त विषेश सुचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।

उनीहरुले रुपन्देहीको बुटवल नगर क्षेत्रका विभिन्न स्थानमा जग्गा बेच्ने व्यक्तिहरुको मोवाईल नम्वर पत्ता लगाई आफु जग्गा किन्ने व्यक्ति भएको भन्दै मोल—मोलाई गर्नको लागि बुटबल वसपार्कका होटलहरुमा बोलाएर पेय पदार्थ (जुस) तथा विष्कुटमा नशालु पदार्थ मिसाई खुवाएर बेहोस बनाई लुट्ने तथा पोखराका विभिन्न स्थानहरुबाट पाल्पा, मुग्लिङ, मनकामना सम्म जानु छ भनेर ट्याक्सी रिर्जभ गरी उक्त स्थान तर्फ लैजाँदा बाटोमा पेय पदार्थ (जुस) तथा विस्कुटमा नशालु पदार्थ मिसाएर खुवाई बेहोस बनाई विभिन्न गर–गहना र नगद तथा मोबाईल समेत लुटेर पोखरामा लुकि छिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पोखरा ७ जनप्रिय मार्गबाट नशालु औषधी र बिस्कुट सहित पक्राउ गरेको र थप अनुसन्धान भईरहेको कास्की प्रहरीले जनाएको छ ।

कास्की प्रहरीका अनुसार निजहरुले वुटवल—रुपन्देही, मुग्लिङ—चितवन र पाल्पामा समेत विभिन्न व्यक्तिहरुलाई नशालु पदार्थ सेवन गराई नगद तथा सुनका गरगहनाहरु लुटि फरार रहेको भन्ने रहस्य प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ ।

११ जेठ, काठमाडौं ।
सर्वोच्च अदालतले त्रिपुरेश्वर कलकी सडक विस्तार रोक्न आदेश दिएको छ ।

सर्वोच्च अदालतबाट विपक्षीलाई झिकाउने र त्यस अवधीसम्म तत्काल केहि नगर्न नगराउनको लागि अन्तरिम आदेश जारी भएको हो ।

राम शरण डं्रगोल समेतको उत्प्रषण मुद्दामा का. मु. प्रधानन्यायधीश शुशिला कार्कीको एकल ईजलासले सो अन्तरिम आदेश जारी गरेको हो ।

कालीमाटीको टेकुपुल देखी सोल्टिमोड सम्म २२ मीटर सडक चौडा गर्ने भनी मिति २०७३/०१/१८ गतेकादिन डोजर तयारी अवस्थामा राखी माइकिङ गरेको थियो ।

सडक मिचेर घरबनाएकाहरुले काठमाडौ उपत्यका विकास प्राधिकरण, काठमाडौमा बुझ्दा रेखाङ्कन गरेको घर जग्गा सडकमा पर्ने भएकोले सो भत्काउन लागिएको जानकारी गराएको थियो ।

सडक मिचेकाहरुले मुआब्जा तथा क्षतिपुर्ती केही नपाएकोले सो घर जग्गा नभत्काउन भनी भौतिक पुर्वाधार मन्त्रालय, शहरी विकास मन्त्रालय तथा काठमाडौ उपत्यका प्राधिकरणमा आग्रह र दवाव दिएका थिए ।

महानगरले रेखाङ्कन गरिएको घरहरु नभत्काए अर्को हप्ता डोजर लगाई भत्काउने सूचना यसअघि जारी गरेको थियो ।

यस बिरुद्ध मिति २०७३/०२/०९ गतेका प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय समेत १३ जनालाई विपक्षी बनाई सर्वोच्च अदालतमा उत्प्रेषण मुद्दा दायर गरेको थियो । राम शरण डंगोल समेत १०६ जनाले दायर गरेको उक्त मुद्दामा शिक्षा स्वास्थ्य र आवासको व्यवस्था नगरे सम्म सडक सम्वन्धी कुनै पनि कार्य नगर्नु नगराउनु भनी उत्प्रेषणको आदेश माग राखेको थियो ।

आज मुद्दा उपर बहस पश्चात सर्वोच्च अदालतका का. मु. प्रधानन्यायधीश शुशिला कार्कीको एकल ईजलासले सडक विस्तार सम्वन्धि कार्य तत्काल कुनै पनि कार्य नगर्न नगराउन तथा विपक्षि झिकाउने अन्तरिम आदेश जारी गरेको हो ।

११ जेठ, नेपालगञ्ज ।
आफ्ना दुई छोरीहरुको एक महिलाले हत्या गरेकी छिन् ।

प्रहरीका अनुसार श्रीमान तथा सासु ससुराले मानसिक यातना दिए पछि घर छाडेर हिँडेकी ति महिलाले आफनै दुई नाबालिका छोरीको हत्या गरेको प्रारम्भिक सोधपुछबाट खुलेको छ ।

कलैया नगरपालिकाको बरेवाका विजय साह कानुकी श्रीमती सबिता देवीले आफना छोरीहरु चार बर्षीया काजल र अढाइ बर्षीया अनिताको हत्या गरेकी हुन्।

भेडियाहीमा अवस्थित शम्सानघाट नजिक रहेको सिंगहा नदिको पानीमा मङगलबार साँझ सबिता देवीले दुवै छोरीलाई डुबाएर हत्या गरेकी हुन् ।

छोरीहरुको हत्या पछि सबिताले पनि आत्महत्याको प्रयास गरेकी थिइन् । गाँउलेले देखेपछि उनलाई आत्महत्या गर्नबाट रोकेका थिए ।

११ जेठ, काठमाडौं ।
दिदिलाई भेटेर फर्कीएका एक युवाले बिच बाटोमै आत्महत्या गरेका छन् ।

गोर्खा जिल्ला तान्द्राङ्ग गाबिस ओख्ले घर भएका अर्जुन भट्टले आत्महत्या गरेका हुन् ।

केहि दिन अघि मात्रै ससुराली र दिदीको घर जान्छु भनेर चितबन जान भन्दै घर बाट निस्किएका भट्टले चितबनमा केहि दिन बिताई चितबन बाट काठमाडौँ फर्कने क्रममा बीच बाटोमानै गाडी बाट ओर्लिएर देह त्याग गरेका हुन् ।

मुङ्ग्लिन नजिकैको काली खोला नजिक भट्टको शब् भेटिएको थियो ।

भट्टको श्रीमती र एक छोरा काठमाडौँको नयाँ बजारमा डेरा गरि बस्छन् । भट्ट नेपाली कांग्रेसका सक्रिय सदस्य पनि थिए ।

प्लेनको टिकटमा २२ किलो सामान मात्र लैजान पाइने उल्लेख थियो । तर सँधैजसो एकजनाले २६ किलो सामान थियो ।

तर जापानमा यत्तिका बर्ष रहँदा छोड्नै मन नलाग्ने सामान झण्डै सय किलो जतिको जोडिएछ । जीवन संगिनिसँगै देश फर्कन लागेको मैले आधा सामान सुटकेसमा खाँदेपनि बाँकी सकिन । केहीसिप नलागेपछि किन्नु पर्ने सामान पैसा तिरेर फालेर रेल चढेर एयरपोर्टतर्फ लागें ।

अनायासै पर…देश छोडेर देश फर्कन लाग्दा म जन्मंदै जोडिएर आएका सम्बन्धका आफन्तजन, आफुले आर्जेका मित्र र कार्यथलोका सहकर्मीहरु सबैसँग फोनबाटै बिदाई मागें । प्रतिउत्तरमा पाउने आश्चर्य भाव, शुभकामना, शुभयात्रा, शुभेच्छा वा सुझाव आदि दिनु अघिनै म आफ्नो कुरा टुंग्याएर फोन राख्थें । जसले गर्दा खासै मन चिढिएन परको यो देश छाडेर मनभित्रको स्वदेश फर्कनु पर्दा ।

बरु उल्टै रमाएं आमाको त्यो मातृ वात्सल्यमा फेरी रमाउन पाउने खुशीले । जिवनको उत्तरार्ध तिर पुग्नुभएको आमाको काखमा फेरी रमाउन पाउने हर्सले मन पुकलित थियो । धन कमाए पनि मन नरमाउने यो सुखभोगी शहर छाड्दा सुखबाट टाढिने शोकले कत्ति छोएन, बरु दशैंमा मामाघरमा टिका लगाएर पाँच रुपैयाँको नयाँ नोट पाउँदा रमाउँदै उफ्रेको त्यो बाल कोमलताको खुशीले मलाई मेरै देशमा लोभ्यायो ।

अब त झन दिनहुँ अभ्यस्त हुनु छ । पोहोर बाबाले किन्नु भएको छाकमै तीन लिटर दुध दिने गाईको सेवा र नित्यकर्ममा । यता मन कुँड्याएर ग्युनिकु भन्दै दिनहुँ पुज्ने गौमाता काटिरहनुपर्ने परदेशिको विवसताबाट बाहिर निक्लिएर मैले सबै गोमी बक्स फोहोर फाल्ने भाँडोमा बाध्यता, सुख अनि केही एसआरामका सपनाहरुलाई तुच्छ बनाई फोलेर देश तर्फ लम्कँदैछु ।

पशिनासँगै आँसुसँग साटेको पैसाले छोरा छोरीलाई सुख दिन सकेपनि चाहिने बेलाको मायाँ र अभिभावकत्व दिन नसकिरहेको खड्को अब टर्ने भएको छ ।

दिनभरि खेलेर राती थकानले लुपुक्क काखमा सुत्ने मेरा छोरा छोरीको खुट्टा पैसाले किनेको मलमले हैन मेरै हातले सुमसुक्याएर ठिक पार्नेछु । जसमा मायाँ मिसिएको हुनेछ ।

मेरा छोराछोरीले पर बारीको पाटा र खेतको गराका डिलबाट बाबा भनेर बोलाएको त्यो मायाँको शब्द अब कानमा गुञ्जिनेछ ।

खेतमा काम गरिरहँदा आमाले घरबाट कत्ति काम गरेको, खाना पाकिसक्यो छिटो खान आउ भनेर बोलाउँदाको त्यो पल अब फेरी दोहोरिने भएको छ । अनि कर्मले आर्जेको सम्पत्ती र खुशीमा रमाउन पाउने त्यो भाग्य फेरी दोहोरिंदैछ ।
उफ्…

थकानले होला म भुसुक्क निदाएछु रेलमै ।
अकस्मात सुने 'सिन्जुकु, सिन्जुकु…' । अनि भिड र कोलाहल ।
म एयरपोर्ट हिँडेको मान्छे फेरी कता सिन्जुकु आइपुगें ? अलमलिएं एकछिन् ।

रेलको ढोका लाग्ने संकेत बजिसकेको थियो । सकिन मैले रेलमै फर्कीएर कोठामा जाउँ र सपनामै भएपनि देश फर्कीएको कुरा यर्थाथमा बदलुं । हतारमा किक्लिएं । ढोका लाग्यो ।

हिजो रात अबेरसम्मको व्यस्त काम । आजको फेरी उस्तै दैनिकि फेरी दिनभर गर्ने कामहरु मानस्पटलमा घुम्नथाले । क्रमश सपनाका महलहरु भत्काउँदै र मेट्दै ।

चितवन भरतपुर नगरपालिका ६, लंकु ।
हाल : जापान टोकियो ।

११ जेठ, टोकियो ।

१४ मे मा जापानको टोकियो सहरमा १४ सय एटिएमबाट तीन घन्टाभित्र १.४४ बिलियन जापानिज येन (एक अर्ब ४४ करोड नेपाली रुपैयाँ) चोरी भएको छ ।

सयजना व्यक्ति सम्मिलित एक समूहले निकै चलाखीपूर्ण तरिकाले एटिएमहरूबाट रकम निकालेको जापानिज प्रहरीले खुलासा गरेको छ ।

चोरीमा इन्टरपोलका ‘मोस्ट वान्टेड’ पनि

एटिएमबाट रकम चोरी गर्नेमा रोमानियाली नागरिक पनि छन् । जापानिज प्रहरीले ती व्यक्तिको नाम गोप्य राखेको छ । उनी इन्टरपोलको मोस्ट वान्टेड सूचीमा रहेको प्रहरीले जनाएको छ । प्रहरीले उनी पैसा चोरी गर्नेका नेता भएको दाबी गरेको छ ।

सबै घटना टोकियोमै
सो समूहले टोकियो सहरको लगभग सबै एटिएमबाट रकम झिकेको जनाइएको छ । तीन घन्टाको अवधिमा उनीहरूले ‘मास्टर प्लान’ बनाएरै एटिएमबाट रकम झिकेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा उल्लेख छ ।

टोकियोको कानागावा, आइची, ओसाका, फुकुओकामा रहेका एटिएमबाट त्यति धेरै रकम झिकेको प्रहरीले बताएको छ । गिरोहले आइतबारको दिन रोजेको हो । त्यस दिन अधिकांश बैंक बन्द थिए ।

चोरीकार्यमा बैंकका कर्मचारीको संलग्नता रहेको आशंका
प्रहरीले बैंकका केही अधिकारी पनि ती समूहसँग मिलेको आशंका गरेको छ । ‘हाम्रै बैंकका पदाधिकारीको सहयोगविना ठूलो परिमाणमा एटिएमबाट रकम झिक्न मुस्किल छ, यस घटनामा केही बैंकका पदाधिकारीको पनि हात रहेको देखिन्छ,’ टोकियो प्रहरीका प्रवक्ताले भने ।

सिसिटिभी नै प्रमुख प्रमाण

प्रहरी अनुसन्धानमा सिसिटिभी नै पहिलो प्रमाण भएका रूपमा रहेको छ । यसबाहेक प्रहरीसँग अन्य प्रमाण छैन । प्रहरीले १४ सय एटिएम रहेको स्थानका सबै सिसिटिभी फुटेज झिकाएर अनुसन्धान थालेको छ ।

जापानिज प्रहरीले एटिएमबाट रकम झिक्ने गिरोह पक्रन इन्टरपोल र दक्षिण कोरियाका विभिन्न बैंकसँग पनि सहयोग लिने जनाएको छ । गिरोहले सबै एटिएमका डाटा चोरी गरेको छ ।

सात बैंकका एटिएम

टोकियोस्थित स्ट्यान्डर्ड बैंकले विभिन्न सात बैंकका एटिएम कार्ड प्रयोग भएको जनाएको छ । ‘आइतबार बिदाको दिन सात फरक बैंकका एटिएम प्रयोग भएको देखिन्छ, ती सबै एटिएम कार्ड नक्कली थिए,’ स्ट्यान्डर्ड बैंकको विज्ञप्तिमा भनिएको छ ।
चोर्न सयभन्दा बढी मान्छे परिचालित

डाटामा के छ ?
जापानमा एकै दिन लाखौँ रुपैयाँ एटिएमबाट निकालिएको यो नै पहिलो घटना होइन । यसअघि सन् २०१२ देखि २०१३ सम्म एटिएमबाट चार करोड डलर चोरी भएको थियो ।

विभिन्न सहरबाट सो परिमाणको रकम झिकिएको हो । आश्चर्यजनक रूपमा चार करोड डलर निकालिएको एटिएम ओमानबाट जारी भएको थियो ।

चोरीमा दक्षिण अफ्रिकाको एटिएम प्रयोग

अर्बौं रुपैयाँ चोरी गर्ने समूहले दक्षिण अफ्रिकाबाट जारी गरिएको एटिएम कार्ड प्रयोग गरेको खुलेको छ । ‘दक्षिण अफ्रिकामा बनेको एटिएमबाट रकम झिकेको देखिन्छ,’ प्रहरीको विज्ञप्तिमा भनिएको छ, ‘नक्कली एटिएम सजिलै बनाउन सकिन्छ ।’

प्रत्येक एटिमबाट एक लाख येन

एटिएमबाट रकम निकाल्ने समूहले एक सातादेखि ‘मास्टर प्लान’ बनाएको प्रहरीको भनाइ छ । त्यो समूहले प्रत्येक ट्रान्जिटबाट कम्तीमा एक लाख येन निकालेको छ ।

उनीहरूले बिहान ५ देखि ८ बजेसम्म आफ्नो योजना सफल पारेका थिए । बिहानमा धेरै चहलपहल नहुने भएकाले उनीहरू रकम झिक्न सफल भएको प्रहरीको भनाइ छ । जापानमा एक दिनमा एक लाख येनसम्म मात्र निकाल्न मिल्छ ।
आजको नयाँ पत्रिकामा समाचार छ ।

११ जेठ, काठमाडौं ।
नेपाली काँग्रेसका युवा नेता उदय शम्शेर राणाले संसदको अर्थ समितिमा अर्बौं रुपैयाँ कर छल्ने एनसेलका विषयमा छलफल गर्न माग गरेका छन् ।

तीन वटा विधेयकमाथि छलफल गर्न मंगलबार बसेको समितिमा सांसद राणाले एनसेल कर छलीबारे छलफलको माग सहित यो विषयमा अर्थ समितिले छलफल नगर्नुको कारण समेत मागे ।

राणाले भने-'एनसेलको करका विषयमा हामीले किन छलफल नगरेको ?'

अकस्मात राणाले एनसेल प्रकरणबारे प्रश्न गरेपछि अल्मलिएका एमाले नेता समेत रहेका समितिका संयोजक प्रकाश ज्वालाले अर्थ मन्त्रालयले समय नदिएका कारण छलफल हुन नसकेको जवाफ दिए ।

ज्वालाले एनसेलको कर प्रकरणमा केही प्रगति भएको भन्दै अर्थ मन्त्रालयले केही समय पर्खन भनेकाले उक्त विषयमा छलफल चलाउन नपाएको तर बजेटमा व्यस्त भएकाले अर्थमन्त्रीकै आग्रहमा स्थगित एनसेल कर छली प्रकरणबारे छलफल चलाउने आश्वासन सांसद राणालाई दिएका छन् ।

११ जेठ, काठमाडौं ।
सर्वोच्च अदालतले अदालतको अवहेलना सम्बन्धि एक मुद्दामा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तीन दिनभित्र अदालतमा उपस्थित हुन आदेश दिएको छ ।

द्वन्द्वकालीन मुद्दामा आफ्नो पार्टीका नेताहरुलाई अदालतले फसाउन खोजेको अभिव्यक्तिले अदालतको अवलेहना भएको भन्दै परेको मुद्दामा सर्वोच्चले आज यस्तो फैसला गरेको हो ।

सर्वोच्च अदालतका कामु प्रधानन्याधीश सुशीला कार्कीको इजलासले प्रचण्डलाई उपस्थित हुन आदेश दिएको हो ।

अवहेलना मुद्दामा १ वर्ष जेल र ५० हजार जरीवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।

यो मुद्दा नेपाली काँग्रेस समर्थक रहेका वकिल दिनेश त्रिपाठीले जेठ ३ गते दायर गरेका थिए ।

११ जेठ, स्विजरल्याण्ड ।
लोकप्रिय हाँस्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिबंस आचार्य सहितको टोली स्विजरल्याण्ड आइपुगेको छ ।

जेनेभा आइपुगेको मह जोडी सहित नरेन्द्र कंसाकार, गायीका माण्डबी त्रिपाठी, गायक यमन श्रेष्ठ, गायक मोहित आचार्य तथा हरिवंश पत्नी रमिला आचार्यको टोलीलाई जेनेभा विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

जेनेभा उत्रिएको मह संचारको यो टोलिले स्विजरल्याण्ड सहित युरोपका अन्य देशहरु स्पेन , पोर्तुगल, बेल्जियम, अस्ट्रिया, ग्रिस, फ्रान्स, जर्मनी लगायत देशमा विभिन्न मितिमा सांस्कृतिक कार्यक्रम गर्दैछ ।

अन्य देशको कार्यक्रम सकेपछि यही मे २८ तारिख शनिबारका दिन मह जोडीले जेनेभामा सांस्कृतिक तथा मनोरन्जनात्मक कार्यक्रम गर्दैछन् ।

गैर आवासीय नेपाली संघ महिला सह – संयोजक रजनी प्रधानको पहलमा लगभग ३ महिना को लागि युरोप यात्रामा रहेका मह जोडीको जेनेभा पश्चात गैर आवासीय नेपाली संघ स्विजरल्याण्डको आयोजनामा मे २९ तारिख बर्न मा पनि कार्यक्रम रहेको छ ।