धुर्मुस सुन्तली फाउण्डेशनमा जापानमा उठ्दैछ सहयोग

१ असार, काठमाडौं ।
हाँस्य कलाकारद्धय धुर्मुस सुन्तलीले सिन्धुपाल्चोकको गिरान्चौर गाउँमा बनाउन लागेको एकीकृत बस्तीका लागि जापानबाट सहयोग उठ्ने क्रम बढेको छ ।

धुर्मुस सुन्तली फाउण्डेशनलाई भूकम्पबाट ध्वस्त वस्ति निर्माणका लागि हालै नेवाः अन्तर्राष्ट्रिय फोरम जापानले सहयोग हस्तान्तरण गरेको छ ।

समाचार अनुसार धुर्मुस सुन्तली फाउण्डेशन गिरान्चौर एकिकृत बस्ती निर्माणको सहयोगार्थ आर्थिक संकलन अभियान जापानलाई नेवारहरुको क्रियासिल संस्था नेवास् अन्तर्राष्ट्रिय फोरम जापानद्वाराले आर्थिक सहयोग गरेको हो ।

संघको कोष र सक्रिय सदस्यहरुको आर्थिक सहयोगमा कुल ६३००१ येन अभियानका संयोजक शिव तण्डुकारको खातामा पठाइएको संघका उपाध्यक्ष दीपरत्न शाक्यले बताउनु भयो ।

हालसम्म संकलित रकममध्ये ठुलो रकम नेवास् अन्तर्राष्ट्रिय फोरम जापानले गरेको र जापानमा क्रियाशिल संस्थाद्वारा पहिलो सहयोग पठाएकोमा संयोजक शिव तण्डुकारले धन्यबाद ब्यक्त गर्नुभयो ।

आर्थिक संकलन अभियानको १८ औ दिनसम्म कूल ६ लाख ११ हजार ३४१ येन जम्मा भएको छ । यो अभियान आगामी जुन १७ तारिक शुक्रबारसम्म रहने छ ।

राष्ट्र निर्माणमा बिना स्वार्थ लागेको धुर्मुस सुन्तलीको अभियानलाई देश विदेशमा रहेका नेपालीहरुले आफ्नो क्षमता अनुसार आर्थिक सहयोग गर्दै आएका छन् ।

भूकम्प विशेषमा नेसाज र इन्जिनियर्स एसोसियसनको सिम्पोजियम तयारी

१ असार, टोकियो ।
नेपाली बिद्यार्थी समाज जापान 'नेसाज' र नेपाली इन्जिनियर्स ईन जापानले यस बर्षको सिम्पोजियम भूकम्प विशेष गर्ने भएको छ ।

दुई संस्थाको संयुक्त आयोजनामा यही जुन १८ मा हुने एकदिने सिम्पोजियममा भूकम्प सँग सम्वन्धित रहेर १२ बिबिध अध्ययन प्रतिवेदन प्रस्तुत गरिने भएको छ ।

गत वर्ष बैशाख १२ गते नेपालमा गएको भूकम्प र त्यसबाट सिक्नुपर्ने पाठ लगायतका विषयमा तयार पारिएको प्रतिवेदन कार्यक्रममा प्रस्तुत हुने भएको आयोजकले जानकारी दिएको छ ।

नेपाली अनुसन्धानकर्ता तथा बिद्यार्थीहरुका केही भिन्न प्रस्तुति पनि रहने कार्यक्रम टोकियो बिश्वबिद्यालय, इन्स्टिच्युट अफ इन्डस्ट्रियल साइन्सको रिसर्च भवन भित्रको एन ब्लक कोठा नं ४०१ र ४०२ मा हुने भएको छ ।

शनिबार हुने कार्यक्रममा नेपाली राजदूताबास जापानका कार्यबहाक राजदुत गहेन्द्रराज राजभण्डारी, एनआरएनए जापानका अध्यक्ष सुदन थापा लगायतको उपस्थिति रहने बताइएको छ ।

नेटवर्किङ व्यापार खुल्ला, पिरामिड शैली प्रतिबन्ध

१ असार, काठमाडौं ।
सरकारले नेटवर्किङ व्यवसायलाई बैधता दिएपनि पिरामिड शैलीमा यस्तो व्यवसाय गर्न नपाउने व्यवस्था गर्ने भएको छ। कारोबार दैनिकमा समाचार छ।

सदस्य संख्या बढाउँदै पिरामिड आकारमा सञ्जाल विस्तार गरी बस्तु तथा सेवा बिक्री गर्ने व्यवसायीले गठी गरेपछि सरकारले कानुन बनाएरै यस्तो व्यवसायमा प्रतिबन्ध लगाएको हो। वाणिज्य मन्त्रालयले तयार गरेको बस्तु तथा सेवा प्रत्यक्ष बिक्री एेनमा यस्तो व्यवस्था गरिएको छ।

सर्वोच्च अदालतले ६ वर्षअघि नै नेटवर्किङ व्यवसायसम्बन्धी कानुन बनाउन सरकारलाई आदेश दिएको थियो। संविधानबमोजिम कुनै पेसा व्यवसाय गर्न रोक्न नमिल्ने भएकाले नेटवर्किङ व्यवसायलाई भने बैधता दिइने भएको छ।

सोही बमोजिम नेटवर्किङको ठगी रोक्न तथा नियमन गर्न ऐन तयार पारिएको वाणिज्य मन्त्रालयले जनाएको छ। वाणिज्य मन्त्रालयका कानुन उपसचिव श्रीरामजी दर्नाइका अनुसार नयाँ कानुनले नेटवर्किङ व्यवसाय गर्न पाइने व्यवस्था गरेको छ।

युनिटी लाइफ इन्टरनेश्नल, हर्वो इन्टरनेशनल, गोलक्वेस्ट, क्रिस्टल भिजन लिमिटेडलगायतले पिरामिड आकारको व्यवसाय सञ्चालन गरी नेपालीलाई ठगी गरेपछि सरकारले प्रतिबन्ध लगाएइको थियो।

युनिटी  लाइफ र हर्बो इन्टरनेसनलका सञ्चालकलाई पक्राउ गरी कारबाही भइसकेको छ।

चार एआईजीले फुली पाए काम पाएनन्

१ असार, काठमाडौं ।
सर्वोच्च अदालतको आदेशअनुसार दुई महिनाअघि बढुवा भएका चार प्रहरी अतिरिक्त महानिरीक्षक 'एआइजी' कामविहीन भएका छन्। मन्त्रिपरिषद्को निर्णयअनुसार गृह मन्त्रालयले पदस्थापन गर्न नसक्दा एआइजीहरू यादव अधिकारी, परशुराम खत्री, विश्वराजसिंह शाही र सुशीलबरसिंह थापा कामविहीन भएका हुन्। नयाँ पत्रिका दैनिकमा समाचार छ।

सरकारको निर्देशन गृहद्वारा बेवास्ता बढुवा भएकै दिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गृह मन्त्रालयलाई पत्र पठाउँदै चार एआइजीलाई पदस्थापन गर्न निर्देशन दिएको थियो।

मुख्यसचिव डा। सोमलाल सुवेदीले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न भन्दै गृहसचिवलाई गत २६ चैतमै पत्र पठाएका थिए। उनले गृह मन्त्रालयकै प्रस्तावममोजिम मन्त्रिपरिषद्ले निर्णय गरेकाले सोअनुसार गर्न गराउन पत्राचार गरेका थिए।

गृहमन्त्री र आईजिपी नै पदस्थापनमा उदासीन

स्रोतका अनुसार गृहमन्त्री शक्तिबहादुर बस्नेत र प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल दुवै एआइजीको पदस्थापनर्को पक्षमा छैनन्। गृह प्रवक्ता यादवप्रसाद कोइराला भने एआइजीहरूलाई जिम्मेवारी दिन दरबन्दीको अभाव रहेको बताउँछन्।

‘अहिले कुनै दरबन्दी नै छैन, दरबन्दी सिर्जना भएपछि काम पाउनुहुन्छ होला,’ कोइरालाले भने। एआइजीको विशेष दरबन्दी सिर्जना गर्न गृह मन्त्रालयले गरेको पहलका बारेमा आफूलाई कुनै जानकारी नभएको उनले बताए।

चारवटा दरबन्दी सिर्जना गरियो, तर पदस्थापना गरिएन

मन्त्रिपरिषद्ले २९ साउन २०७१ देखि लागू हुने गरी प्रहरी अतिरिक्त महानिरीक्षक पदको चारवटा विशेष दरबन्दी सिर्जना गर्ने र सोही दरबन्दीमा बढुवा भएकाको पदस्थापन गर्ने निर्णय गरेको थियो। तर, दुई महिना बितिसक्दा पनि गृहले पदस्थापनको गृहकार्य अघि बढाउन सकेको छैन।

महिनावारी हुँदा देवताको डर

१ असार, मुगु ।
ग्रामीण भेगका अशिक्षित महिला मात्रै होइन जाने बुझेका महिला पनि देवीदेवताको डरले महिनावारी भएका बखत घरभित्र नबसी गोठमै बस्ने गरेका छन्। अन्नपूर्ण पोस्टमा समाचार छ।

महिनावारी भएका बेला घरभित्र बसे कुल देवताले आफूलगायत सन्तानलाई दुःख दिने भन्दै महिलाहरु परम्परागत रुपमै पाँचदेखि सात दिनसम्म गोठमा बस्ने गरेका छन् ।

शिक्षित र बुझेका महिलासमेत सदरमुकाममै घरभित्र बस्न मान्दैनन्। उनीहरुसमेत तीनदेखि पाँच दिनसम्म भान्सा र पानीसमेत नछोई बाहिरै बस्ने गरेका छन्।

महिला हिंसाको मुख्य कारक यहाँका महिलामा रहेको छाउपडी प्रथा भएकाले यसको उन्मूलनका लागि महिला तथा बालबालिका कार्यालयले अभियान नै चलाएको छ।

जिल्लाका २४ गाविसमध्ये ६ गाविसहरु कार्कीबाडा, पिना, रोवा, रुगा, रारा र सेरीमा हिमाली ग्रामीण युवा समाज केन्द्र नामक संस्थाले छाउपडी सम्बन्धी चेतनामुलक कार्यक्रम सञ्चालन गरेको छ।

केही बुझेका घरका पुरुषले महिनावारी भएका बेला सरसफाइ गरेर घरभित्र बस्न भने पनि महिलाहरु नै देवीदेवताको डरले महिनावारी भएका बेला घरबाहिर बस्ने गरेका छन्।

बिदेशीले भनेपछि सरकार ‘गोपी कृष्ण…’

१ असार, दोलखा ।

सरकारले आफ्नै जनता पनि चिन्न छाडेको पाइएको छ। मालिकले सुगालाई आदेश दिएपछि ‘गोपी कृष्ण…’ भनेकै शैलीमा दाताहरुले आदेशपछि सरकार धमाधम भूकम्पपीडितलाई नक्कली पगरी गुथाएर पीडामाथि झन् पीडा दिन उद्यत देखिएको छ। नेपाल समाचार पत्र दैनिकमा समाचार छ।

प्रसंग दोलखा जिल्लाका भूकम्पपीडितको हो। भूकम्पपीडित कार्ड वितरण गर्ने र आफैले कार्ड वितरण गरेको व्यक्तिलाई नक्कली भूकम्पपीडितको आरोप लगाउने सरकारी रवैयाप्रति अहिले स्थानीय पीडितहरु आक्रोशित समेत भएका छन्।

आफै कार्ड वितरण गर्ने, आफै नक्कली भूकम्पपीडितको आरोल लगाउने र आफै गुनासोसमेत सुन्ने सरकारी रवैया लाजमर्दौ देखिएको नेपाली कांग्रेस दोलखाका पूर्वसभापति ताराबहादुर कोइरालाले बताए।

दोलखा जिल्लामा गाविसमार्फत ८० हजार ७ सय ११ घरधुरीले भूकम्पपीडित परिचयपत्र लिएर सरकारले दिएको १० हजार र १५ हजारसमेत प्राप्त गरिसकेका छन्।

उक्त विवरण अविश्वसनीय रहेको भन्दो दाताले प्रश्न उठाएपछि भूकम्प प्रभावित सवै जिल्लामा सरकारले केन्द्रीय तथ्यांक विभागमार्फत तथ्यांक संकलन गर्न लगाएको थियो।

पढ्न बिदेशी विद्यार्थी बढे

१ असार, काठमाडौं ।

यो आर्थिक वर्षको बैशाखसम्म ३१ हजार जनाले विदेश पढ्न जान शिक्षा मन्त्रालयबाट अनुमति पत्र लिएका छन्। कान्तिपुर दैनिकमा समाचार छ।

बर्सेनि यो संख्या बढ्दो छ।  स्वदेशमा राजनीतिक अस्थिरता, पढाइमा अनियमितता, रोजगारी समस्याजस्ता कारण शिक्षाका लागि विदेशिने क्रम बढेको छ।

२०६८÷०६९ देखि २०७२÷०७३ बैशाखसम्म ७० हभन्दा बढी मुलुकमा एक लाख १७ हजार पाँच सय ७४ विद्यार्थी मन्त्रालयबाट अनुमति पत्र लिएका छन्। विदेश अध्ययनमा एक जनाले सरदर १५ लाख खर्च गर्छन्। परामर्श दार्त संस्थाले जानकारी दिएअनुसार ती मध्ये ८० प्रतिशत प्लस टु सकाएका विद्यार्थी छन्।

यसअनुसार वर्षमा २४ हजारभन्दा बढी प्लस टु सकाएका विद्यार्थी विदेशिन्छन्। प्यस टु सकाउने सरदर १ लाख २० हजारमध्ये २४ हजार बाहिरिँदा २० प्रतिशत विद्यार्थी विदेश अध्ययन गर्न जाने गरेको देखिन्छ। यसको लागत विश्लेषण गर्दा पाँच वर्षमा एक खर्ब ७६ अर्ब ३६ करोड १० लाख स्वदेशी पुँजी बाहिरिएको छ।

यो रकम सरकारले आउँदो आर्थिक वर्षका लागि छुट्याएको शिक्षाको बजेटभन्दा ६० अर्ब बढी हो।

एसएलसीको नतिजा तीन दिनमै

१ असार, काठमाडौं ।
परीक्षा नियन्त्रण कार्यालयले २०७२ सालको एसएलसी परीक्षाको परीक्षाफल तीन दिनभित्र प्रकाशित गर्ने भएको छ। नेपाल समाचार पत्र दैनिकमा समाचार छ।

लेटर ग्रेडिङ प्रणालीबाट पहिलोपटक परीक्षाफल प्रकाशित गर्न लागेको पनिकाले यहि असार २ वा ३ गतेभित्र नतिजा प्रकाशित गर्ने भएको छ।

परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले सकभर २ नभए ३ गते भित्र परीक्षाफल प्रकाशित गर्ने तयारी भएको बताए।

परीक्षा सञ्चालन समितिको बैठकमा नियन्त्रक काप्रीले २ वा ३ गतेभित्र परीक्षाफल प्रकाशति गर्ने जानकारी गराएका थिए। एसएलसी परीक्षा सुरु भएको ८३ वर्षपछि यो परीक्षाफल अन्तिम हुनेछ।

पहिलो लेटरग्रेडिङ र अन्तिम एसएलसी भएको कारण यो परीक्षा ऐतिहासिक हुने भएको छ।

व्यस्त संगै महंगा हुदैछन् एक्सन डाइरेक्टर चन्द्र पन्त

काठमाण्डौ । नेपाली , हिन्दी र भोजपुरी भाषाका चलचित्रमा बराबर सक्रिय द्धन्द निर्देशक चन्द्र पन्त यतिबेला नेपालमा पनि व्यस्त छन् ।

भर्खरै लप्पनछप्पनमा द्धन्द निर्देशन गरेका पन्त हिफाजत २ र हिरो  रिटन्स पनि साइन गरिसकेका छन् । उनको व्यस्तता संगै उनी महंगा फाइट डाइरेक्टरको रुपमा पनि चिनिन्छन् ।

हाल सम्म ४० भन्दा बढि सिनेमामा द्धन्द निर्देशन गरिसकेका पन्तले हालसालै मात्र अन्र्तराष्ट्रिय स्तरको द्धन्द निर्देशन संग सम्वन्धित वर्कसपमा सहभागिता जनाएर नेपाल फर्केका छन् ।

राम्रो फिल्म छानेर मात्र चलचित्र गर्ने बताउने पन्तले काम गरेका अधिकाश चलचित्र नेपाली बक्स अफिसमा  सुपरहिट भएका छन् ।

भर्खरै हिफाजत २ साइन गरेका पन्तको बारेमा निर्माता छबिराज ओझाले खुलेरै तारिफ पनि गरे । यतिबेला उनि आफै निर्देशक भएर एक भोजपुरी फिल्म निर्देशन गर्ने हल्ला पनि चलिरहेको छ ।

छिटो सडक विस्तार गरेर कालो पत्रे गर्न निर्देशन

१ असार, काठमाडौं
व्यवस्थापिका संसदको विकास समितिले काठमाडौं उपत्यकामा भइरहेको सडक विस्तार कार्यलाई तीब्र गतिमा अगाडि बढाउन र सरकारको नीति तथा कार्यक्रमअनुसार एक वर्षभित्र कालोपत्र गरिसक्न निर्देशन दिएको छ ।

समितिले आजको बैठकले चक्रपथ भित्रका सबै सडक एक वर्षभित्र कालोपत्र गर्न सहरी विकास भौतिक पूर्वाधार तथा यातायात, उपत्यका विकास प्राधिकरण, काठमाडौं उपत्यका सडक विस्तार आयोजना, काठमाडौं महानगरपालिका र सडक विभागलाई निर्देशन दिएको हो ।

बैठकमा उपत्यकाको सडक विस्तार कार्यअन्तर्गत निर्देशित जग्गा विस्तार कार्यक्रम, जनसहभागिता क्षतिपूर्ति, मुआव्जा समेतको कार्यप्रणाजी र उपत्यकाका चक्रपथभित्रका सबै सडक स्तरोन्नती गर्ने सम्बन्धमा सरोकारवाला निकायबीच छलफल भएको थियो ।

समिति सभापति रविन्द्रअधिकारीले काठमाडौं उपत्यका सडक विस्तार कार्यक्रमअन्तर्गत कुनै पनि क्षेत्रमा सडक विस्तार गरिंदा सम्बन्धित क्षेत्रका उपभोक्ता वा बासिन्दालाई सूचित गर्नुसमेत निर्देशन दिनुभयो ।

कर्मचारी सञ्चयकोष विधेयक पारित

१ असार, काठमाडौं ।
व्यवस्थापिका–संसद्, अर्थ समितिले कर्मचारी सञ्चय कोष नवौँ सशोधन विधेयक , २०७१ को प्रतिवेदनलाई पारित गरेको छ ।

कर्मचारी सञ्चय कोषले आफँै वा अरु संस्थासँग मिलेर विश्वविद्यालय, शिक्षण अस्पताल, मेडिकल कलेज सहित शैक्षिक क्षेत्र, औषधि र ऊर्जा उत्पादन तथा पर्यटन, कृषि विकासमा लगानी गर्न सक्ने प्रावधान प्रतिवेदनमा समेटिएको छ ।

पारित प्रतिवेदनमा कोषले सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको कुनै निकायद्वारा प्रवद्र्धित ऊर्जा उत्पादन, प्रसारण, पर्यटन, कृषि, विकास र अन्य पूर्वाधार निर्माणसँग सम्बन्धित कम्पनीका सेयरमा लगानी गर्न सक्ने व्यवस्थाका लागि विधेयकमा प्रस्ताव गरिएको छ ।

चिया बगानका श्रमिक तथा सहकारी सङ्घसंस्थामा कार्यरत कर्मचारीले समेत कोषमा आफ्नो आम्दानीको कोष कट्टा गर्न सक्ने व्यवस्था विधेयकमा अघि सारिएको छ ।

सञ्चयकर्ताले मासिक पारिश्रमिक रकमबाट कोषमा जम्मा गर्ने र कानुन अनुसार थप हुने रकम कोषमा जम्मा गर्ने जिम्मेवारी लिएको कर्मचारीले दाखिला गरेको नपाइएमा त्यो व्यक्तिबाटै रकम असुल गर्ने व्यवस्था गरिएको छ ।

उक्त व्यक्तिबाट सञ्चयकर्ताको सम्पूर्ण रकम असुल हुन नसकेमा त्यस्तो कर्मचारीको अन्य चलअचल सम्पत्तिबाट सरकारी बाँकी सरह असुल गर्ने प्रावधानका लागि सिफारिस गरिएको छ ।

एनजिओलाई पुर्ननिर्माण जिम्मा दिएको भन्दै काँग्रेसको बिरोध

३२ जेठ, काठमाडौं ।
प्रमुख प्रितिपक्षि दल नेपाली काँग्रेसले सरकारले पक्षपात रुपमा दल निकटका गैरसरकारी संस्थालाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका महत्वपूर्ण जिम्मेवारी सुम्पिएको आरोप लगाएको छ ।

भूकम्पपछिको पुनःनिर्माणमा भएको ढिलासुस्ती र अनियमितताका बारेमा छलफल गर्न काँग्रेसले काठमाडौंमा आयोजना गरेको भूकम्प प्रभावित १९ जिल्लाका सभापति, सांसद र केन्द्रीय सदस्यको भेलाले सरकारले आफ्नो दल निकटका व्यक्तिलाई खोजी खोजी राहत दिने र अन्यलाई बेवास्ता गरेको निष्कर्ष निकालेको हो ।

त्यस क्रममा सभापति शेरबहादुर देउवाले सरकारले जनतालाई झुक्याएका विषयहरुबारे जनस्तरमा जानकारी गराउनु आवश्यक रहेको बताउनु भयो । उहाँले बजेट र भूकम्पको पुनःनिर्माणका नाममा कार्यकर्ता पोस्ने र देशलाई घाटा पार्ने काम हुन नदिन स्थानीय स्तरमा सक्रियता देखाउन निर्देशन दिनु भएको नेताहरुले जानकारी दिनु भयो ।

नेता महेश आचार्यले भोलिदेखि चल्ने संसद बैठकमा उठाउने विषयबारे पनि बैठकमा छलफल भएको जानकारी दिनु भयो ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web