६ असार, काठमाडौं ।
नक्कली प्रमाणपत्र रहेको आरोपमा पक्राउ परेका चिकित्सकले भारतको बिहार बोर्डबाट पास गरेको आइएस्सी प्रमाणपत्र पेस गरेको रहस्य खुलेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आठ सय नौ जना चिकित्सकको शैक्षिक प्रमाणपत्रबारे अनुसन्धान गर्दा एक सयजनाको नक्कली प्रमाणपत्र रहेको पत्ता लगाएको हो।

ब्यूरोले नक्कली चिकित्सक पक्राउ गर्न थालेको 'अप्रेशन वाक' अर्न्तग तगत शुक्रबार दश जिल्लाबाट ३६ जना चिकित्सकलाई पक्राउ गरेको थियो । अन्नपूर्ण पोष्टमा समाचार छ।

६ असार, ढाका ।
कलेज नै निलम्बनमा परेपछि आफूहरु विचल्लीमा परेको भन्दै बंगलादेशमा एमबीबीएस अध्ययनरत ७५ विद्यार्थी ढाकास्थित नेपाली दूतावासको सम्पर्कमा आएका छन्। कान्तिपुर दैनिकमा समाचार छ।

प्रावधान पूरा नगरेको र शैक्षिक कार्यक्रममा समस्या देखिएको भन्दै सरकारले अध्ययनरत कलेजलाई केही समयका लागि निलम्बन गरेकाले आफूहरु समस्यामा परेको विद्यार्थीले गुनासो गरेका छन्।

आइतबार उक्त कलेज निलम्बित परेको जानकारी पाएपछि विद्यार्थी दूतावासको सम्पर्कमा पुगेका थिए ।

‘तीन निजी कलेजका ७५ विद्यार्थी समस्यामा परेको जानकारी आएको छ । शैक्षिक कार्यक्रम र पूर्वाधार अपुग भन्दै बंगलादेश सरकारले अस्थायी रुपमा सस्पेन्स गरेको जानकारी आएको हो,’ कार्यबाहक राजदूत सुशील लम्सालले टेलिफोनमा भने ।

उनले नेपालको मेडिकल काउन्सिलले नै अध्ययनका लागि ठीक ठहर गरी स्वीकृत गरेको खण्डमा मात्र विद्यार्थी आउने हुनाले निजी कलेजबारे जानकारी लिन आवश्यक रहेको बताए ।

६ असार, काठमाडौं ।

सुनको औंठी माइतीबाट दाइजो नपाएपति रौतहटमा एक युवतीलाई मानसिक सन्तुलन बिग्रिएको भन्दै घर निकाला गरेका छन् ।

विवाह भएको तीन महिना नबित्दै पोखराज जडित सुनको औंठी नल्याएको भन्दै चन्द्रपुर नगरपालिका ४ घर भएका एक इन्जिनियले श्रीमतीलाई घर निकाला गरेका हुन् ।

भारतको बिहार राज्यकी पूर्वी चम्पारण जिल्ला छोडादान गाउँका मनोज जयसवालकी २२ वर्षीया छोरी लवलीकुमारी जयसवालको गएको माघमा रोतहटको चन्द्रपुर नगरपालिका ४ स्थित अजय साहका २५ वर्षीय छोरा इन्जिनियर नवीन साहसँग मागी विवाह भएको थियो । आजको अन्नपूर्णमा समाचार छ ।

विवाहअघि कबोल भएअनुसार काठमाडोंमा घडेरी किन्न लवलीका बाबुले केटाका बाबुलाई १६ लाख नगद दिएका थिए । उक्त रकमबाट साहले काठमाडौंको बालाजुमा घडेरी किनेका छन् । त्यसबाहेक ल्यापटप, एसी, ४० इन्चको एलईडी , सुनको सिक्री, औंठीलगायतका गरगहना दाइजो दिएको जानकारी युवतीका बाबुले दिएका छन् ।

नवीनले माइतीबाट पोखराज जडित सुनको औंठी माग्न श्रीमतीलाई दैनिक दबाब दिँदै आएका थिए । पीटित युवती स्नातका उत्तीर्ण हुँदा उत्कृष्ठ अंक ल्याएबापत बिहार सरकारबाट सम्मानित भएकी थिइन् ।

उनले आफूले दाइजोको बिरोध गर्दा सासूससुरा र श्रीमानले पागल भन्दै घर निकाला गरेको बताइन् ।

६ असार, काठमाडौं ।

ललितपुरमा विस्फोट भएको हिमालयन पेट्रोकेमिकल्स प्रालिको एचपी ग्ससम्बन्धी छानबिन समितिको प्रतिवेदन आपूर्ति मन्त्रालयका कर्मचारीले नै लुकाएका छन् ।

छानविन समितिका संयोजक तथा आपूर्ति व्यवस्थापन तथा उपभोक्त हित संरक्षण विभागका निर्देशक लक्षण श्रेष्ठले आइतबार आपूर्ति मन्त्रालयका सचिव श्रीधर सापकोटालाई बुझाएको प्रतिवेदन कर्मचारीकै मिलेमतोमा लुकाइएको आजको कारोबार दैनिकले उल्लेख गरेको छ ।

आपूर्तिसचिव सापकोटाले मन्त्रालयका प्रवक्ता तथा सहसचिव आन्दाराम रेग्मीलाई, रेग्मीले आपूर्ति व्यवस्थापन तथा उउभोक्ता हित संरक्षण विभागका महानिर्देशक गोकुलप्रसाद धिाताल वा निर्देशक लक्ष्मण श्रेष्ठलाई सोधन्ु भन्दै प्रतिवेदन सार्वजनिक गर्न आनाकानी गरेकाछन् ।

प्रतिवेदनबारे महानिर्देशक धितालले निर्देशक श्रेष्ठलाई र श्रेष्ठले मन्त्रालयमा सोध्नु भन्ने गरेकाछन् ।

गत जेठ ७ गते ललितपुर उपमहानगरपालिकाको हौगल टोलवस्थित इताछेमा एचपी ग्यास विस्फोट हुँदा ३ जनाको मृत्यु भएको थियो ।

६ असार, काठमाडौं ।

सरकारले भागबण्डाका आधारमा सिफारिस गरेका प्रस्तावित राजदूतमध्ये अधिकांशमाथि आर्थिक अनियमितताको अभियोगमा अनुसन्धान भइरहको छ । उनीहरुमाथि छानबिन भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

बपजष्तबचअख्तियारको अनुसन्धान पूरा नभई सरकारले उनीहरुको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाएको छ ।

सरकारले २ महिनाअघि विभिन्न मुलुकका लागि एकैपटक २१ राजदूतको नाम सिफारिस गरेको थियो । आजको कारोबार दैनिकमा समाचार छ ।

कूटनीतिक नियोग, संवैधानिक तथा राजनीतिक नियुक्ति हुने विभिन्न निकायमा पदाधिकारी तथा सदस्य सिफारिस गर्दा अख्तियारको राय सुझाव लिने परम्परा छ । तर, यसपटक सो परम्परा लत्याउँदै सरकारले अनियमितता आरोप लागेका पूर्वमन्त्री तथा परराष्ट्र मन्त्रालयका कर्मचारीलाई महत्वपूर्ण मुलुकहरुमा राजदूत सिफारिस गरेको भन्दै अख्तियार रुष्ट छ ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा नेपाल र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले दलीय हैसियत अनुसार राजनीतिक भागबण्डामा राजदूत सिफारिस गरेका हुन् ।

भागबण्डामा नपरेपछि राजदूत सिफारिसप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको विरोध गर्दै आएको छ । चीन, बेलायत, जर्मनी, वेल्जियमका लागि सिफारि भएका राजदूतहरुबारे अख्तियारले अनुसन्धान गरिरहेको छ ।

६ असार, काठमाडौं ।

भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपालसँग रहेका ‘केही असमझदारी’ प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणसँगै अन्त्य भएको बताएकी छन् ।

नरेन्द्र मोदी नेतृत्वको सरकार बनेको दुई वर्षयता भारतीय विदेश नीतिका उपलव्धिबारे आइतबार नयाँदिल्लीमा आयोजित पत्रकार सम्मेलनमा स्वराजले नेपाललगायत सार्कमा आवद्ध सबै देशसँग भारतको सम्बन्ध राम्रो रहेको बताइन् । आजको अन्नपूर्णमा समाचार छ ।

पत्रकार सम्मेलनमा स्वराजले दुई देशबीच सांस्कृतिक, भौगोलिक तथा ऐतिहासिक सम्बन्ध रहेको उल्लेख गरिन् । नेपालले संविधान जारी गरेलगत्तै भारतले नाकाबन्दी लगाएपछि दुई देशवीच सम्बन्ध चिसिएको थियो ।

ओलीले फागुनमा गरेको भारत भ्रमणपछि पनि नेपाल भारत सम्बन्धमा कुनै सुधार आउन नसकेको टिप्पणीका बीच भारतीय विदेशमन्त्री स्वराजको यस्तो प्रतिक्रिया आएको हो ।

नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण रद्द गर्दै भारतस्थित राजदूत फिर्ता बोलाएपति दुई देशबीचको सम्बन्ध थप चिसिएको चर्चा भइरहको थियो । स्वराजले भारतले सार्क मुलुकसँगको सम्बन्धलाई भारतले भिन्न रुपमा महत्व दिइरहेको बताइन् ।

६ असार, काठमाडौं ।

सरकारले करिब एक अर्ब रुपैयाँ वित्तीय दायित्व पर्ने गरी कर्मचारीलाई कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता 'इन्सेन्टिभ' दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्अन्तर्गतको आर्थिक पूर्वाधार समितिको केही दिनअघिको बैठकले सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्क राख्ने निकायलाई भन्दा पनि पहुँचदार सरकारी कार्यालयका कर्मचारीलाई प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो ।

प्रोत्साहन भत्ता लागू भएका कार्यालयका कर्मचारीले ५० प्रतिशतसम्म भत्ता पाउनेछन् । कार्यालय समयभित्रको कार्यबोझ र थप कामका लागि सूचकका आधारमा २५ प्रतिशत र कार्यालय समयबाहिरको थप समयमा गरेको कामका लागि २५ प्रतिशत भारको आधारमा ५० प्रतिशतमा नबढ्ने गरी भत्ता दिइने आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

थप दश हजार कर्मचारीलाई दिइँदै करिब १० हजार कर्मचारीलाई इन्सेन्टिभ दिँदा करिब एक अर्ब रुपैयाँ दायित्व पर्ने देखिएको प्रधानमन्त्री कार्यालयका सचिव केदारबहादुर अधिकारीले बताए । ‘आगामी वर्षबाट भत्ता वितरणलाई वस्तुनिष्ट र न्यायोचित बनाउन, भत्ता उपलब्ध गराउनुपर्ने निकायको पहिचान एवं आधार सिफारिस गर्न सामान्य प्रशासन मन्त्रालयका सचिवको संयोजकत्वमा समिति गठन गरिएको छ,’ उनले भने ।

समितिमा अर्थ, कानुन र प्रधानमन्त्री कार्यालयका सचिव सदस्य छन् । कुन कार्यालयका कर्मचारीले पाउँछन् प्रोत्साहन भत्ता रु सरकारले आन्तरिक राजस्व, भन्सार र राजस्व अनुसन्धान विभागअन्तर्गतका कार्यालयका कर्मचारीलाई ५० प्रतिशतसम्म भत्ता दिने निर्णय गरेको छ ।

राजस्व र अनुसन्धान विभागका कर्मचारीले यसअघि नै भत्ता खाँदै आएकोमा अनुसन्धान विभाग यस वर्षबाट थपिएको हो । ‘राजस्वका कर्मचारीले फागुनदेखि असारसम्म ६ महिनाको मात्रै भत्ता पाउनेछन्,’ सचिव अधिकारीले भने, ‘अन्य निकायले एक वर्षकै पाउनेछन् ।’ प्रधानमन्त्री कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारीले साउनबाटै भत्ता खाइरहेका छन् ।

महालेखा परीक्षकको कार्यालय, निवृत्तिभरण व्यवस्थापन कार्यालय, एकल खाता कोष प्रणाली लागू भएका कोष तथा लेखा नियन्त्रक कार्यालयहरू, सर्वोच्च, पुनरावेदन तथा जिल्ला अदालत, महान्यायाधिवक्ता तथा जिल्लास्थित सरकारी वकिलको कार्यालय, राहदानी विभागलगायतका निकायका कर्मचारीले प्रोत्साहन भत्ता पाउनेछन् । गत वर्ष राष्ट्रपति, उपराष्ट्रपति कार्यालयका कर्मचारीले पनि प्रोत्साहन भत्ता पाएका थिए । यस वर्ष भने ती कार्यालयबाट भत्ता मागको प्रस्ताव नआएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

६ असार, काठमाडौं ।

सरकारले पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई उपलव्ध गराएको घरको बहाल नबुझाएको भन्दै खाली गराउन माग राखेर आइतबार ललितपुर जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

सरकारले घर बहालबापत मासिक एक लाख ३० हजार रुपैयाँको दरले सात महिनाको भाडा नबुझाएको भन्दै घरधनी रविभक्त विष्टले मुद्दा दायार गरेका हुन् । विष्टले घर खाली गर्न नमानेका कारण आफूचाहिँ डेरामा बस्नुपरेको पनि उल्लेख गरेका आजको अन्नपूर्णमा समाचार छ ।

‘बहाल भराई घर खाली गराई पाउँ’ भन्दै दायर मुद्दामा राष्ट्रपतिको कार्यालय, राष्ट्रपति भवन शीतलनिवास, सरकार र पूर्वराष्ट्रपति यादवलाई प्रतिवादी बनाइएको छ ।

विष्टले घरबहाल बापतको रकम उपलव्ध गराइदिन पटकपटक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निजेदन दिए पनि सुनुवाइ नभएपछि अदालत गुहारेको बताएका छन् ।

सरकारले डा. यादवका लागि भनेर ललितपु उपमहानगरपालिका ४ नख्खु खरिबोटमा रहेको विष्टको घर भाडामा लिएको थियो । उक्त घर २०७२ कात्तिक १२ गतेदेखि बहालमा लिने निर्णय भएको थियो । त्यसयताको सबै बहाल, बक्यौता रहेको दाबी फिरादपत्रमा छ ।

घरबहाल, बिजुली, पानीको समेत १० लाख २४ हजार आठ सय १० रुपैयाँ असुल्न बाँकी रहेको पनि विष्टले जनाएका छन् ।

एजेन्सी,असार ६ । आयोजक फ्रान्सलाई बराबरीमा रोक्दै स्विट्जरल्याण्ड युरोकप २०१६ को नकआउट चरणमा प्रवेश गरेको छ । सोमबार विहान भएको समूह एको खेलमा स्विट्जरल्याण्डले घरेलु टोली फ्रान्सलाई गोलरहित बराबरीमा रोकेको हो । यससँगै फ्रान्स समूह विजेता बनेको छ भने स्विस टिम समूह उपविजेताका रुपमा अन्तिम १६ मा पुगेको छ । यसअघि तीन पटक युरोमा सहभागिता जनाएको स्विट्जरल्याण्ड अहिलेसम्म नकआउट चरण पुग्न सकेको थिएन।

एजेन्सी,असार ६ । अल्बानियाले युरो कप २०१६ नक आउट चरणमा पुग्ने सम्भावना जिवितै राखेको छ । सोमबार विहान भएको खेलमा रोमानियालाई १-० गोल अन्तरले पराजित गर्दै अल्बानियाले नक आउट चरणमा पुग्ने सम्भावना जिवितै राखेको हो । यो जितसँगै अल्बानियाठूलो प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ

लियोनमा भएको समूह चरणको अन्तिम खेलमा अल्बानियाको जितमा साडिकुले ४३ औं मिनेटमा विजयी गोल गरे । जितसँगै ४ अंकसहित समूह एको तेस्रो स्थानमा रहेको अल्बानिया तेस्रो स्थानमा रहेका चार उत्कृष्ट टिममा परेर नकआउट चरणमा पुग्ने सम्भावना कायमै छ । यदि अल्बानिया अन्तिम १६ मा पुगेमा उसले समूह बी वा समूह सीको विजेतासँग खेल्नु पर्ने हुन्छ ।

६ असार, काठमाडौं ।
संयुक्त राज्य अमेरिकास्थित विभिन्न ३२२ उद्योगले नेपालका विभिन्न क्षेत्रमा करिव सात अर्ब ३३ करोड रुपियाँ लगानी गर्न स्वीकृति पाएका छन् ।

अमेरिकी उद्योगमध्ये सबैभन्दा बढी १४८ उद्योगले नेपालको सेवा क्षेत्रमा करिव दुई अर्ब ७० करोड रुपियाँ लगानीका लागि स्वीकृति पाएको उद्योग विभागले जनाएको छ ।

यसैगरी, अमेरीकाका ७० उद्योगले नेपालका उत्पादनमूलक क्षेत्रमा करिव दुई अर्ब १० करोड, ८० उद्योगले पर्यटन क्षेत्रमा करिव एक अर्ब दुई करोड, तीन उद्योगले ऊर्जा क्षेत्रमा करिव एक अर्ब २९ करोड र २० उद्योगले कृषि तथा वनजन्य क्षेत्रमा करिव २१ करोड रुपियाँ लगानीका लागि स्वीकृत प्राप्त गरेको उद्योग विभागको तथ्याङ्कमा उल्लेख छ ।

नेपालमा २०४६ सालदेखि हालसम्म विश्वका ८७ देशका जम्मा तीन हजार ५७८ भन्दा बढी उद्योगले लगानीका लागि स्वीकृति प्राप्त गरेका छन् ।

यसैबीच, उद्योग विभागले विदेशी उद्योग दर्ता प्रक्रियाको सहजताका लागि विभागले अनलाइन सेवा छिट्टै सञ्चालनमा ल्याउन लागेको उद्योग विभागका महानिर्देशक महेश्वर न्यौपानेले जानकारी दिनुभयो ।

६ असार, काठमाडौं ।
शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्ज वरिपरिको क्षेत्रलाई मध्यवर्ती क्षेत्र घोषणा गरिएपछि असी हजार जनसङ्ख्या लाभान्वित हुने भएका छन् ।

सरकारको निर्णयानुसार चैतमा राजपत्रमा सूचना प्रकाशन गरेपछि सो क्षेत्रलाई मध्यवर्ती क्षेत्र घोषणा गरिएको थियो ।

निकुञ्ज वरिपरिको ११८ किमी क्षेत्रफलको स्थान मध्यवर्ती क्षेत्रमा समेटिएकोे छ । हाल नेपालमा १३ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण क्षेत्रलाई मध्यवर्ती क्षेत्र घोषणा गरिएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका सूचना अधिकारी नारायण रुपाखेतीले मध्यवर्ती क्षेत्र राष्ट्रिय निकुञ्ज छेउमा जोडिएको वनबाट जनताले घाँस दाउरा लगायत सुविधा पाउने बताउनुभयो ।

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रले काठमाडौँ, नुवाकोट, धादिङ र सिन्धुपाल्चोकका सात नगरपालिका, १० गाविस र ५३ वडालाई समेटेको र त्यसबाट १४ हजार ५५८ घरधुरीका ७९ हजार ७७६ जनसङ्ख्या लाभान्वित हुने विभागले जनाएको छ ।