प्लेनको टिकटमा २२ किलो सामान मात्र लैजान पाइने उल्लेख थियो । तर सँधैजसो एकजनाले २६ किलो सामान थियो ।

तर जापानमा यत्तिका बर्ष रहँदा छोड्नै मन नलाग्ने सामान झण्डै सय किलो जतिको जोडिएछ । जीवन संगिनिसँगै देश फर्कन लागेको मैले आधा सामान सुटकेसमा खाँदेपनि बाँकी सकिन । केहीसिप नलागेपछि किन्नु पर्ने सामान पैसा तिरेर फालेर रेल चढेर एयरपोर्टतर्फ लागें ।

अनायासै पर…देश छोडेर देश फर्कन लाग्दा म जन्मंदै जोडिएर आएका सम्बन्धका आफन्तजन, आफुले आर्जेका मित्र र कार्यथलोका सहकर्मीहरु सबैसँग फोनबाटै बिदाई मागें । प्रतिउत्तरमा पाउने आश्चर्य भाव, शुभकामना, शुभयात्रा, शुभेच्छा वा सुझाव आदि दिनु अघिनै म आफ्नो कुरा टुंग्याएर फोन राख्थें । जसले गर्दा खासै मन चिढिएन परको यो देश छाडेर मनभित्रको स्वदेश फर्कनु पर्दा ।

बरु उल्टै रमाएं आमाको त्यो मातृ वात्सल्यमा फेरी रमाउन पाउने खुशीले । जिवनको उत्तरार्ध तिर पुग्नुभएको आमाको काखमा फेरी रमाउन पाउने हर्सले मन पुकलित थियो । धन कमाए पनि मन नरमाउने यो सुखभोगी शहर छाड्दा सुखबाट टाढिने शोकले कत्ति छोएन, बरु दशैंमा मामाघरमा टिका लगाएर पाँच रुपैयाँको नयाँ नोट पाउँदा रमाउँदै उफ्रेको त्यो बाल कोमलताको खुशीले मलाई मेरै देशमा लोभ्यायो ।

अब त झन दिनहुँ अभ्यस्त हुनु छ । पोहोर बाबाले किन्नु भएको छाकमै तीन लिटर दुध दिने गाईको सेवा र नित्यकर्ममा । यता मन कुँड्याएर ग्युनिकु भन्दै दिनहुँ पुज्ने गौमाता काटिरहनुपर्ने परदेशिको विवसताबाट बाहिर निक्लिएर मैले सबै गोमी बक्स फोहोर फाल्ने भाँडोमा बाध्यता, सुख अनि केही एसआरामका सपनाहरुलाई तुच्छ बनाई फोलेर देश तर्फ लम्कँदैछु ।

पशिनासँगै आँसुसँग साटेको पैसाले छोरा छोरीलाई सुख दिन सकेपनि चाहिने बेलाको मायाँ र अभिभावकत्व दिन नसकिरहेको खड्को अब टर्ने भएको छ ।

दिनभरि खेलेर राती थकानले लुपुक्क काखमा सुत्ने मेरा छोरा छोरीको खुट्टा पैसाले किनेको मलमले हैन मेरै हातले सुमसुक्याएर ठिक पार्नेछु । जसमा मायाँ मिसिएको हुनेछ ।

मेरा छोराछोरीले पर बारीको पाटा र खेतको गराका डिलबाट बाबा भनेर बोलाएको त्यो मायाँको शब्द अब कानमा गुञ्जिनेछ ।

खेतमा काम गरिरहँदा आमाले घरबाट कत्ति काम गरेको, खाना पाकिसक्यो छिटो खान आउ भनेर बोलाउँदाको त्यो पल अब फेरी दोहोरिने भएको छ । अनि कर्मले आर्जेको सम्पत्ती र खुशीमा रमाउन पाउने त्यो भाग्य फेरी दोहोरिंदैछ ।
उफ्…

थकानले होला म भुसुक्क निदाएछु रेलमै ।
अकस्मात सुने 'सिन्जुकु, सिन्जुकु…' । अनि भिड र कोलाहल ।
म एयरपोर्ट हिँडेको मान्छे फेरी कता सिन्जुकु आइपुगें ? अलमलिएं एकछिन् ।

रेलको ढोका लाग्ने संकेत बजिसकेको थियो । सकिन मैले रेलमै फर्कीएर कोठामा जाउँ र सपनामै भएपनि देश फर्कीएको कुरा यर्थाथमा बदलुं । हतारमा किक्लिएं । ढोका लाग्यो ।

हिजो रात अबेरसम्मको व्यस्त काम । आजको फेरी उस्तै दैनिकि फेरी दिनभर गर्ने कामहरु मानस्पटलमा घुम्नथाले । क्रमश सपनाका महलहरु भत्काउँदै र मेट्दै ।

चितवन भरतपुर नगरपालिका ६, लंकु ।
हाल : जापान टोकियो ।

११ जेठ, टोकियो ।

१४ मे मा जापानको टोकियो सहरमा १४ सय एटिएमबाट तीन घन्टाभित्र १.४४ बिलियन जापानिज येन (एक अर्ब ४४ करोड नेपाली रुपैयाँ) चोरी भएको छ ।

सयजना व्यक्ति सम्मिलित एक समूहले निकै चलाखीपूर्ण तरिकाले एटिएमहरूबाट रकम निकालेको जापानिज प्रहरीले खुलासा गरेको छ ।

चोरीमा इन्टरपोलका ‘मोस्ट वान्टेड’ पनि

एटिएमबाट रकम चोरी गर्नेमा रोमानियाली नागरिक पनि छन् । जापानिज प्रहरीले ती व्यक्तिको नाम गोप्य राखेको छ । उनी इन्टरपोलको मोस्ट वान्टेड सूचीमा रहेको प्रहरीले जनाएको छ । प्रहरीले उनी पैसा चोरी गर्नेका नेता भएको दाबी गरेको छ ।

सबै घटना टोकियोमै
सो समूहले टोकियो सहरको लगभग सबै एटिएमबाट रकम झिकेको जनाइएको छ । तीन घन्टाको अवधिमा उनीहरूले ‘मास्टर प्लान’ बनाएरै एटिएमबाट रकम झिकेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा उल्लेख छ ।

टोकियोको कानागावा, आइची, ओसाका, फुकुओकामा रहेका एटिएमबाट त्यति धेरै रकम झिकेको प्रहरीले बताएको छ । गिरोहले आइतबारको दिन रोजेको हो । त्यस दिन अधिकांश बैंक बन्द थिए ।

चोरीकार्यमा बैंकका कर्मचारीको संलग्नता रहेको आशंका
प्रहरीले बैंकका केही अधिकारी पनि ती समूहसँग मिलेको आशंका गरेको छ । ‘हाम्रै बैंकका पदाधिकारीको सहयोगविना ठूलो परिमाणमा एटिएमबाट रकम झिक्न मुस्किल छ, यस घटनामा केही बैंकका पदाधिकारीको पनि हात रहेको देखिन्छ,’ टोकियो प्रहरीका प्रवक्ताले भने ।

सिसिटिभी नै प्रमुख प्रमाण

प्रहरी अनुसन्धानमा सिसिटिभी नै पहिलो प्रमाण भएका रूपमा रहेको छ । यसबाहेक प्रहरीसँग अन्य प्रमाण छैन । प्रहरीले १४ सय एटिएम रहेको स्थानका सबै सिसिटिभी फुटेज झिकाएर अनुसन्धान थालेको छ ।

जापानिज प्रहरीले एटिएमबाट रकम झिक्ने गिरोह पक्रन इन्टरपोल र दक्षिण कोरियाका विभिन्न बैंकसँग पनि सहयोग लिने जनाएको छ । गिरोहले सबै एटिएमका डाटा चोरी गरेको छ ।

सात बैंकका एटिएम

टोकियोस्थित स्ट्यान्डर्ड बैंकले विभिन्न सात बैंकका एटिएम कार्ड प्रयोग भएको जनाएको छ । ‘आइतबार बिदाको दिन सात फरक बैंकका एटिएम प्रयोग भएको देखिन्छ, ती सबै एटिएम कार्ड नक्कली थिए,’ स्ट्यान्डर्ड बैंकको विज्ञप्तिमा भनिएको छ ।
चोर्न सयभन्दा बढी मान्छे परिचालित

डाटामा के छ ?
जापानमा एकै दिन लाखौँ रुपैयाँ एटिएमबाट निकालिएको यो नै पहिलो घटना होइन । यसअघि सन् २०१२ देखि २०१३ सम्म एटिएमबाट चार करोड डलर चोरी भएको थियो ।

विभिन्न सहरबाट सो परिमाणको रकम झिकिएको हो । आश्चर्यजनक रूपमा चार करोड डलर निकालिएको एटिएम ओमानबाट जारी भएको थियो ।

चोरीमा दक्षिण अफ्रिकाको एटिएम प्रयोग

अर्बौं रुपैयाँ चोरी गर्ने समूहले दक्षिण अफ्रिकाबाट जारी गरिएको एटिएम कार्ड प्रयोग गरेको खुलेको छ । ‘दक्षिण अफ्रिकामा बनेको एटिएमबाट रकम झिकेको देखिन्छ,’ प्रहरीको विज्ञप्तिमा भनिएको छ, ‘नक्कली एटिएम सजिलै बनाउन सकिन्छ ।’

प्रत्येक एटिमबाट एक लाख येन

एटिएमबाट रकम निकाल्ने समूहले एक सातादेखि ‘मास्टर प्लान’ बनाएको प्रहरीको भनाइ छ । त्यो समूहले प्रत्येक ट्रान्जिटबाट कम्तीमा एक लाख येन निकालेको छ ।

उनीहरूले बिहान ५ देखि ८ बजेसम्म आफ्नो योजना सफल पारेका थिए । बिहानमा धेरै चहलपहल नहुने भएकाले उनीहरू रकम झिक्न सफल भएको प्रहरीको भनाइ छ । जापानमा एक दिनमा एक लाख येनसम्म मात्र निकाल्न मिल्छ ।
आजको नयाँ पत्रिकामा समाचार छ ।

११ जेठ, काठमाडौं ।
नेपाली काँग्रेसका युवा नेता उदय शम्शेर राणाले संसदको अर्थ समितिमा अर्बौं रुपैयाँ कर छल्ने एनसेलका विषयमा छलफल गर्न माग गरेका छन् ।

तीन वटा विधेयकमाथि छलफल गर्न मंगलबार बसेको समितिमा सांसद राणाले एनसेल कर छलीबारे छलफलको माग सहित यो विषयमा अर्थ समितिले छलफल नगर्नुको कारण समेत मागे ।

राणाले भने-'एनसेलको करका विषयमा हामीले किन छलफल नगरेको ?'

अकस्मात राणाले एनसेल प्रकरणबारे प्रश्न गरेपछि अल्मलिएका एमाले नेता समेत रहेका समितिका संयोजक प्रकाश ज्वालाले अर्थ मन्त्रालयले समय नदिएका कारण छलफल हुन नसकेको जवाफ दिए ।

ज्वालाले एनसेलको कर प्रकरणमा केही प्रगति भएको भन्दै अर्थ मन्त्रालयले केही समय पर्खन भनेकाले उक्त विषयमा छलफल चलाउन नपाएको तर बजेटमा व्यस्त भएकाले अर्थमन्त्रीकै आग्रहमा स्थगित एनसेल कर छली प्रकरणबारे छलफल चलाउने आश्वासन सांसद राणालाई दिएका छन् ।

११ जेठ, काठमाडौं ।
सर्वोच्च अदालतले अदालतको अवहेलना सम्बन्धि एक मुद्दामा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तीन दिनभित्र अदालतमा उपस्थित हुन आदेश दिएको छ ।

द्वन्द्वकालीन मुद्दामा आफ्नो पार्टीका नेताहरुलाई अदालतले फसाउन खोजेको अभिव्यक्तिले अदालतको अवलेहना भएको भन्दै परेको मुद्दामा सर्वोच्चले आज यस्तो फैसला गरेको हो ।

सर्वोच्च अदालतका कामु प्रधानन्याधीश सुशीला कार्कीको इजलासले प्रचण्डलाई उपस्थित हुन आदेश दिएको हो ।

अवहेलना मुद्दामा १ वर्ष जेल र ५० हजार जरीवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।

यो मुद्दा नेपाली काँग्रेस समर्थक रहेका वकिल दिनेश त्रिपाठीले जेठ ३ गते दायर गरेका थिए ।

११ जेठ, स्विजरल्याण्ड ।
लोकप्रिय हाँस्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिबंस आचार्य सहितको टोली स्विजरल्याण्ड आइपुगेको छ ।

जेनेभा आइपुगेको मह जोडी सहित नरेन्द्र कंसाकार, गायीका माण्डबी त्रिपाठी, गायक यमन श्रेष्ठ, गायक मोहित आचार्य तथा हरिवंश पत्नी रमिला आचार्यको टोलीलाई जेनेभा विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

जेनेभा उत्रिएको मह संचारको यो टोलिले स्विजरल्याण्ड सहित युरोपका अन्य देशहरु स्पेन , पोर्तुगल, बेल्जियम, अस्ट्रिया, ग्रिस, फ्रान्स, जर्मनी लगायत देशमा विभिन्न मितिमा सांस्कृतिक कार्यक्रम गर्दैछ ।

अन्य देशको कार्यक्रम सकेपछि यही मे २८ तारिख शनिबारका दिन मह जोडीले जेनेभामा सांस्कृतिक तथा मनोरन्जनात्मक कार्यक्रम गर्दैछन् ।

गैर आवासीय नेपाली संघ महिला सह – संयोजक रजनी प्रधानको पहलमा लगभग ३ महिना को लागि युरोप यात्रामा रहेका मह जोडीको जेनेभा पश्चात गैर आवासीय नेपाली संघ स्विजरल्याण्डको आयोजनामा मे २९ तारिख बर्न मा पनि कार्यक्रम रहेको छ ।

अचारी पोखरेल-११ जेठ, नेपालगञ्ज ।
आर्थिक र राजनीतिक रुपमा महिलाहरुलाइ सशक्तिकरण गर्ने उदेश्यले महिला संचार समुह बाँकेद्धारा मंगलवार परस्पुर गाविसका महिलाहरुलाइ समेटेर एकता महिला संचार समुह गठन गरीएको छ ।

महिला संचार समुहका अध्यक्ष अछरी पोखरेलको प्रमुख अतिथ्यमा गठन गरीएको एकता महिला संचार समुहको अध्यक्षमा साकारा वेगम दर्जी,सचिव तबस्सुम दर्जी,कोषाध्यक्ष सवीना दार्जी रहेका छन् ।
यसैगरी सदस्यहरुमा सैजहा दर्जी, बसीरुन नाउ, हिरा नाउ, जैवन दर्जी, निशा वेहना, नगमा दर्जी रहेका छन् ।

भेलामा बोल्दै महिला संचार समुहका अध्यक्ष अछरी पोखरेलले महिलालाइ राजनीतिमा ल्याउनको निम्ति उनीहरुको आर्थिकमा पहँुच हुन जरुरी रहेको बताउनु भयो । २०७२को संविधानले प्रत्येक वडामा २ जना महिला उम्मेदवार उठाउने व्यवस्था गरेका कारण महिलाहरु अहिले देखि नै नेतृत्व विकास गरी आर्थिक आय आर्जनमा जुट्दै अगाडि बढ्न जरुरी रहेको बताउनु भयो ।

अध्यक्ष पोखरेलले महिलालाइ राजनीति गर्न पनि पैसा चाहिने भएका कारण महिला आयआर्जनमा पनि जोडिन जरुरी रहेको बताइन ।

सम्पन्न भेलामा एकता महिला संचार समुह नेपालगन्ज उपमहानगरपालीका वडा नं.२ का संयोजक निलम ज्ञवालीले महिला संगठीत भइ बचत गरेमा आफुलाइ आर्थिक समस्या पर्दा टार्न सजिलो हुने बताइन ।

यसैगरी नेपालगन्ज उपमहानगरपालीका वडा नं.३ का एकता महिला संचार समुहका संयोजक सरस्वती रस्तोगीले महिला हिंसाका सवालमा महिला संगठीत भइ आवाज उठाउन सकेमा न्याय पाउन सजिलो हुने बताइन । भेलामा परस्पुर गाविसकी स्वयंसेवीका महिलाले पैसा बचत गरेर राख्ने हो भने गर्भवतीको समयमा अस्पताल पुग्न र औषधि उपचार गर्नमा पनि पद्दत मिल्ने बताइन ।

भेला पछि बसेको एकता महिला संचार समुहको पहिलो बैठकले प्रत्येक महिनाको १ गते बैठक बस्ने र मासिक रु.५० जम्मा गर्ने निर्णय गरेको छ ।

महिलाको पहँुच राजनीतिमा पुर्याउनको निम्ति महिला संचार समुह बाँकेले वैशाकको १५,१६,१७ गते ३ दिनको नेतृत्व विकास तालिम दिएको थियो । तालिमपछि सहभागीहरुलाइ आ –आफ्ना वडामा समुह गठन गर्ने र उनीह्रुको नेतृत्व विकास गराउने उदेश्य रहेका कारण विभिन्न वडामा समुह गठन गरीएको समुहका सदस्य आसा केसीले जानकारी दिइन ।

११ जेठ, काठमाडौं ।

सुरक्षाको बहानामा राज्यको ढुकुटी नै रित्याउने गरी बाँचुन्जेल सुविधा प्राप्त गर्ने प्रवृत्तिलाई संसदीय समितिले निरुत्साहन गर्ने अठोट व्यक्त गरेको छ । व्यवस्थापिका–संसद्, सुशासन समितिको मंगलबारको बैठकमा पूर्वपदाधिकारीले प्राप्त गरिरहेको सेवा सुविधाको फेहरिस्त सुनेपछि सदस्यहरुले भने – “राजनीतिक सङ्क्रमणको फाइदा उठाउँदै सत्तामा पुगेर सुरक्षाभन्दा पनि सुविधामा ध्यान बढी केन्द्रित गरी राज्यको ढुकुटीको दुरुपयोग गर्ने खेलमा लाग्नु भनेको स्वार्थभन्दा बाहेक अरु केही होइन ।” पूर्वराजा, पूर्वराष्ट्रपति पूर्वप्रधानमन्त्रीका लागि राज्यले उपलब्ध गराएको सुरक्षा र सुविधाको वार्षिक खर्च विवरण विश्लेषण गर्दा प्रतिव्यक्ति रु ४० लाख राज्यको ढुकुटीबाट व्यहोर्नुपर्ने देखिएको छ ।

रवाफ देखाउन सुरक्षाकर्मी

पूर्वपदाधिकारीको सेवासुविधाका बारेमा अध्ययन गर्न गठित उपसमितिका संयोजक जनकराज जोशीले बैठकमा प्रारम्भिक प्रतिवेदन पेस गर्दै सेवासुविधा लिने व्यक्ति सुरक्षाभन्दा पनि समाजमा सधैँ रवाफ देखाउन पाइयोस् भन्ने उद्देश्यबाट बढी प्रेरित भएको देखिएको बताए । मुलुकका विशिष्ट व्यक्तिले गृह मन्त्रालयले निर्माण गरेको सुरक्षासम्बन्धी कार्य्विधिका आधारमा सुरक्षाकर्मी खटाए पनि उनीहरुले अरु जे जतिसुविधा लिएका छन्, त्यससम्बन्धी कुनै कार्यविविधि नै छैन – उपसमितिको प्रतिवेदनमा भनिएको छ । तीन राजपरिवारका लागि

गाडीसहित १५५ सुरक्षाकर्मी

पूर्वराजपरिवारका सदस्यलाई सशस्त्र प्रहरी बलले तीन गाडीसहित १५५ सुरक्षाकर्मी खटाएको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ । तदर्थवादको ढङ्गबाट पूर्वपदाधिकारीले सुविधा लिइरहेको तथा सुरक्षाको कुनै धम्की नै नआएका पूर्वपदाधिकारी, सांसद र उद्योगी व्यापारी समेतले समाजमा रवाफ देखाउन अनावश्यक रुपमा सुरक्षाकर्मी लिने गरेको सांसद जोशीको भनाइ थियो ।

मासिक तीन लाखभन्दा बढी खर्च

एउटा पूर्वपदाधिकारीका लागि रु ६० लाख पर्ने गाडी उपलब्ध गराउने हो भने त्यसको मासिक भाडा रु ५० हजार, चालकको तलब रु २० हजार, इन्धन रु २० हजार, मोबिल रु पाँच हजार, मर्मत खर्च रु पाँच हजार, औसत खटिने पाँच सुरक्षाकर्मीको तलब रु एक लाख, घरभाडा रु एक लाख ३० हजार, विद्युत् र पानी महसुल रु पाँच–पाँच हजारसमेत जोड्दा अनुमानित रु तीन लाख ४० हजार राज्यकोषबाट खर्च हुने प्रतिवेदनमा उल्लेख छ ।

पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिलाई दुई, दुई, सात पूर्वप्रधानमन्त्रीलाई दुईदेखि २३, संविधानसभाका तत्कालीन अध्यक्षलाई दुई , नौ पूर्वउपप्रधानमन्त्री र सात पूर्वगृहमन्त्रीलाई एकदेखि तीन , ३० पूर्वमन्त्रीलाई एकदेखि तीन, ११ पूर्वप्रधानन्यायाधीशलाई एकदेखि तीन तथा अरु सात जनालाई समेत नेपाल प्रहरीले एकदेखि तीन जनासम्म निजी सुरक्षाकर्मी खटाएको छ । सशस्त्र प्रहरी बलले पनि नौ पूर्वप्रधानमन्त्रीका लागि सात गाडीसहित व्यक्तिविशेषलाई हेरेर पाँचदेखि ४१ जनासम्म सुरक्षाकर्मी खटाएको जनाइएको छ । संविधानसभाका अध्यक्षलाई दुई, चार पूर्वउपप्रधानमन्त्री र पाँच पूर्वगृहमन्त्रीको सुरक्षामा सात सात जनाको दरले सशस्त्र बलले सुरक्षाकर्मी परिचालन गरेको बताइएको छ । तीस पूर्वमन्त्रीले पनि एकदेखि दुई जनासम्म सशस्त्र प्रहरी बलबाट सुरक्षाकर्मी प्राप्त गरेका छन् ।

पूर्वप्रधानसेनापति र महानिरीक्षकलाई सुरक्षा फौज

नेपाल प्रहरीका १३ पूर्वमहानिरीक्षक तथा सशस्त्र प्रहरी बलका सात पूर्वप्रमुखले पनि तीनदेखि पाँच जनासम्म सुरक्षाकर्मी लिइरहेको बताइएको छ । नेपाली सेनाका सात पूर्वप्रधानसेनापतिले छ जनाको दरले सुरक्षा कर्मचाररी प्राप्त गरेको रक्षा मन्त्रालयले उपलब्ध गराएको विवरणमा उल्लेख छ । नेपाल प्रहरीको हालको संख्याको १० प्रतिशत अर्थात् झन्डै सात हजार जनशक्ति राज्यको तलबभत्ता खाएर व्यक्तिका घरको कामकाजमा खटिरहेको पाइएको छ । बैठकमा सदस्यहरुले भने– “राष्ट्रिय सुरक्षा संयन्त्र र राष्ट्रिय ढुकुटीको गम्भीर रुपमा दुरुपयोग, अतिक्रमण र दोहन अब तत्काल रोक्नुको विकल्प छैैन, संसदीय समिति र सरकारका बीच यस विषयमा गम्भीर छलफल आवश्यक देखियो ।

“धेरै सुरक्षाकर्मी खटाएकाले घर छाड्न बाध्य भएँ”

राज्यले पूर्वपदाधिकारीका लागि गरेको खर्चको विवरण कहालीलाग्दो रहेको टिप्पणी गर्दै सांसद कृपाशुर शेर्पाले भने – “मन्त्रीका लागि पनि १३ जना सेना खटाइन्छ, त्यो आवश्यक होइन, धेरै सुरक्षाकर्मी खटाएकाले आफू घर छोडेर मन्त्री निवासमा बस्न बाध्य भएको थिएँ ।” सांसद नरसिंह चौधरी र हर्कबोल राईले मुलुकको बजेट पूर्वपदाधिकारीलाई दिँदै सकिने भन्दै यसलाई रोक्ने काम गरी जनतालाई पनि यो विषयमा सुसूचित गराउन आवश्यक रहेको बताए । राज्यको साधन, स्रोत र जनशक्तिको दुरुपयोग रोक्न नागरिक समाज, सञ्चारकर्मी र स्वयंसेवकबाट समाजमा सचेतना अभियान सञ्चालन गर्नुपर्ने समितिको निष्कर्ष छ ।

११ जेठ, काठमाडौं ।
आन्दोलनरत पक्षको माग सम्बोधन गरेर मुलुकलाई निकास दिन भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार डाकेको सर्वदलीय बैठक निष्कर्ष विहीन सकिएको छ ।

बुधबार बोलाईएको वैठकमा मोर्चा सहभागि नभएपछि वैठक बिनानिष्कर्ष सकिएको हो ।

आफूहरुको माग प्रति सरकार सकारात्मक नभएको भन्दै गठबन्धनले बहिस्कार गरेपछि बैठक साधारण छलफलमै टुंगिएको हो ।

सर्बदलीय बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै नेता रामबहादुर थापा ‘बादल’ सहभागी थिए ।

त्यस्तै कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल र महेश आचार्य छन् भने एमालेको तर्फबाट प्रधानमन्त्रीसँगै वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाललगायतका नेताहरुसहभागि भएका थिए ।

काठमाडौं । चलचित्र ‘छेस्को’ को सेन्सर पास गरेको छ । फस्टलुक पोस्टर रिलिजसँगै चर्चामा पाइरहेको ‘छेस्कोको टिजरमा अर्चनाले झनै हट सिन दिएपछि सेन्सर पास गर्लात भन्ने उत्सुक्तामा रहेको छेस्को’लाई चलचित्र सेन्सर बोर्डले ‘ए’ अर्थात एडल्ट सटिफिकेट दिएको छ । जेठ २१ गतेबाट रिलिजको तयारीमा रहेको यो फिल्म सेन्सर लफडामा पर्ने धेरैले अनुमान गरेका थिए ।

तर, १६ वर्ष माथिका दर्शकले हेर्न पाउने गरी फिल्मले सजिलै सेन्सर पास गरेको छ । दुर्गा बिष्टको प्रस्तुती रहेको यस चलचित्रमा अर्चना र राजनका अलावा करण श्रेष्ठ ‘क्रेजी’को पनि मुख्य अभिनय छ । सुरज प्रधान निर्माण र सह–निर्माता शंकर कार्की रहेको ‘छेस्को’ देश–विदेशमा एकसाथ रिलिज हुने चलचित्रका वितरक एफ।डी कम्पनी र करण श्रेष्ठले जनाएका छन् ।

एजेन्सी । अर्चनालाई लिड रोलमा लिएर बनाएको फिल्म ‘जिस्म’को पहिलो टिजर रिलिज भएको छ । टिजरमा अर्चनालाई फरक फरक रुपमा देखाइएको छ । राजु गिरीको निर्माण तथा निर्देशन बनेको चलचित्र जिम्स असार ३१ गतेदेखि रिलिज हुँदै छ । चलचित्रमा अर्चनासँगै सुरेन्द्र बुढा, उकेश पनेरु, सुभेच्छा थापालगायतका कलाकारले अभिनय गरेका छन् ।

https://youtu.be/EqJ3fYGpQqs

काठमाडौं,जेठ ११ । सर्वोच्च अदालतले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई तीन दिन भित्र अदालतमा उपस्थित हुन आदेश दिएको छ । कामु प्रधानन्यायाधीश सुशीला कार्कीको इजलासले एक सार्वजनिक कार्यक्रममा अदालतको अवहेलना गरेको भन्दै जवाफ सहित उपस्थित हुन आदेश दिएको हो । दाहाल विरुद्ध जेठ ४ गते अदालत अवहेलना मुद्दा दायर भएको थियो। द्वन्द्वकालीन मुद्दामा अदालतले गरेको फैसलाबारे गलत टिप्पणी गरी मानहानी गरेको भन्दै अधिवक्ता दिनेश त्रिपाठीले जेठ ४ मा रिट दायर गरेका थिए।

उक्त रिटको मुद्दामा मंगलवार सुनुवाई हुँदा सर्बोच्चले यस्तो आदेश दिएको हो । गोरखाका कृष्णप्रसाद अधिकारीको हत्या सम्बन्धमा आफ्ना कुनै पनि नेता तथा कार्यकर्तालाई मुद्दा चलाइए विद्रोह गर्ने धम्की दिँदै दाहालले गत भदौ ५ गते 'अदालतको जात के हो ?' भन्ने अभिव्यक्ति दिएका थिए। उक्त अभिब्यक्ति पछि निवेदकले दाहाललाई सर्वोच्च अदालत ऐन २०४८ को दफा ७ बमोजिम अदालतमा उपस्थित गराई हदैसम्म कारबाही गर्न माग गदैृ रिट हालेका थिए ।

११ जेठ, काठमाडौं ।
बजारमा चिनीको मूल्य अनियन्त्रितरुपमा बढ्न नदिनका लागि साल्ट ट्रेडिङ कर्पोरेशनमार्फत ३० हजार मेट्रिक टन चिनी आयात गर्न लागिएको आपूर्ति मन्त्रालयले जनाएको छ ।

कर्पोरेशनबाट एक प्रतिशत भन्सार महशूलमा ३० हजार मेट्रिक टन चिनी आयात गर्ने सम्बन्धी प्रस्ताव मन्त्रालयले मन्त्रिपरिषद्मा पठाइसकेको र आगामी मन्त्रिपरिषद्को बैठकले यस सम्बन्धमा निर्णय गर्ने आपूर्ति मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्दराम रेग्मीले जानकारी दिनुभयो ।

बजारमा चिनीको मूल्य अनियन्त्रित रुपमा बढ्दै जाने स्थितिलाई ध्यानमा राखी सरकारी संयन्त्र साल्ट ट्रेडिङ कर्पोरेशनद्वारा बजार हस्तक्षेप गरेर चिनीको मूल्यमा सन्तुलन कायम गरी आम जनतालाई राहत दिनका लागि कर्पोरेशनबाट चिनी आयातको व्यवस्था गर्न लागिएको सहसचिव रेग्मीले स्पष्ट गर्नुभयो ।

बजारमा केही समयअघि खुद्रा मूल्य प्रतिकिलो ६८ रुपियाँ रहेको चिनीको मूल्य साल्ट ट्रेडिङ कर्पोरेशनसँग मौजदात कम हुँदै गएपछि हाल बढेर प्रतिकिलो ८० रुपियाँसम्म पुगेको छ ।

यसअघि २०६६ सालमा साल्ट ट्रेडिङ कर्पोरेशनबाट सहुलियत भन्सार दरमा चिनी आयातको व्यवस्था नहुँदा र कर्पोरेशनसँग पनि चिनी मौज्दात नहुँदा बजारमा चिनीको मूल्य आकाशिएर प्रतिकिलो १२० रुपियाँसम्म पुगेको थियो ।