५ असार, रुपन्देही ।
६ महिनाकै उमेरमा आमा गुमाएकी समीक्षा सुवेदीले यस वर्ष एसएलसी परीक्षामा ४ जीपीए ल्याएर आफूलाई अब्बल साबित गरेकी छन्। उनले रूपन्देहीको सैनामैना ३ स्थित सुनगाभा पब्लिक उच्च माविबाट एसएलसीमा यो सफलता चुमेकी हुन्।

आजको अन्नपूर्णमा महेन्द्र थापा अगाडी लेख्छन्( पहिलोपटक ग्रेडिङ प्रणालीबाट नतिजा प्रकाशन भएको यस वर्ष अहिलेसम्म समीक्षाबाहेक अरू कसैले ४ जीपीए ९ग्रेड प्वाइन्ट एभरेज० ल्याएको दाबी गरेको छैन। समीक्षाले भविष्यमा चिकित्सक बनेर समाजमा योगदान गर्ने सपना साँचेकी छन्।

परिवार र शिक्षकको सहयोगका कारण आफूले एसएलसीमा यस्तो नतिजा हात पारेको समीक्षाले बताइन्। उनले अबको अध्ययनमा यस्तै नतिजा ल्याउने दृढतासमेत व्यक्त गरिन्।

चिकित्सक बन्न विज्ञान विषय लिएर प्लस टु पढ्ने योजना भए पनि बुटवल वा काठमाडौं कहाँ पढ्ने भन्ने टुंगो भइसकेको छैन। एसएलसीमा अब्बल ठहरिएपछि समीक्षा त दंग छिन् नै आफन्त र छरछिमेकी पनि मक्ख परेका छन्।

नतिजा सार्वजनिक भएपछि सैनामैना नगरपालिका ४ सिसौडाँडास्थित उनको घरमा बधाई दिन आफन्त र शुभेच्छुकको लर्को लाग्न थालेको छ। उनी पढेको सुनगाभा पब्लिक उच्चमाविले उनले चार जीपीए ल्याएको खुसीयालीमा र्याली निकालेर सैनामैनाको मुर्गियानगर परिक्रमासमेत गरायो।

उनको मार्मिक जीवनकथा थाहा पाएका गाउँलेले यो सफलताको खुसीयालीमा नाचगान र भोजभतेर गरे। समीक्षाका हजुरबुबा रुक्मागत सुवेदीका अनुसार १७ वर्षअघि जेठ १९ गते अर्घाखाँचीको डाँडाकटेरीमा भएको बस दुर्घटनामा उनकी आमा गीता सुवेदीको निधन भएको थियो।

६ महिनाकी काखे समीक्षालाई लिएर माइतीबाट घर फर्कंदा गीता चढेको बस दुर्घटनामा परेको थियो। बस पल्टिएपछि गीताले ६ महिनाकी समीक्षालाई झ्यालबाट बाहिर फ्यालिदिएकी थिइन्। दुर्घटनामै गीताको ज्यान गएको थियो।

झाडीमा खसेकी समीक्षाका दुवै खुट्टा भाँचिए पनि उपचारपछि उनी ठीक भइन्। त्यसपछि उनलाई हजुरबुबा र हजुरआमाले स्याहारसुसार गरे। आमाको दूधबाट वञ्चित समीक्षालाई हजुरबुबा र हजुरआमाले गाईभैंसीको दूध खुवाएर हुर्काए।

गीताको दुर्घटनामा निधन भएपछि बाबु तेजप्रसादले केही समयमै अर्को बिहे गरे। कान्छीआमाबाट जन्मेका समीक्षाका भाइ आशीषले पनि यही वर्षको एसएलसी परीक्षामा जीपीए ३।८५ ल्याएका छन्।

समीक्षालाई स्कुल पढ्न सजिलो थिएन। घरको आर्थिक अवस्था नाजुक थियो। बुबाको सानो व्यापारमात्र थियो। हजुरबुबा रुक्मागतले नातिनी समीक्षाका लागि भगवान् शिवको आराधना गर्न थाले। उनी हरेक दिन नातिनीले राम्रो पढून् भनेर प्रार्थना गर्थे। समीक्षालाई पनि राम्रो पढ्न प्रेरणा दिइरहन्थे।

५ असार, काठमाडौं ।
ससर्त वार्तामा बस्ने मधेसी मोर्चाको जवाफमाथि सरकारले छलफल नै गरेको छैन

वातावरण बनाए वार्तामा बस्ने मधेसी मोर्चाको सर्तसहितको जवाफप्रति सरकारले औपचारिक धारणा नै बनाएको छैन । वार्तामा बसेर छलफल गर्नुको साटो पूर्वसर्त राखेर मोर्चाले ‘निहुँ खोजेको’ सरकारको बुझाइ छ। मोर्चाका नेताहरू भने वार्ताका लागि सरकार गम्भीर नभएको आरोप लगाइरहेका छन्, आजको नयाँ पत्रिकामा योगेश ढकालले खबर लेखेका छन्।

‘संविधान संशोधन गर्न सकिन्छ भन्ने कुरा आएपछि प्रिकन्डिसन राख्नेभन्दा पनि वार्तामा आउनु उपयुक्त हुन्छ,’ कानुनमन्त्री अग्नि खरेलले भने । पूर्वसर्त राख्नुभन्दा वार्तामा बसेर सहमति खोज्नु उपयुक्त हुने उनले बताए । मोर्चाका नेताहरू भने सार्थक वार्ताका लागि वातावरण बनाउन मात्रै पूर्वसर्त राखेको बताउँछन् ।

‘आन्दोलनबाट सीधै वार्तामा जाने नैतिक आधार सिर्जना गर्न पूर्वसर्त आवश्यक छ,’ रामसपाका नेता केशव झाले भने । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकारले वार्ताको आधार तयार नगरेको आरोप लगाए । ‘सरकारले वार्ता चाहेजस्तो देखिँदैन,’ उनले भने, ‘मोर्चा वार्ताका लागि तयार हुँदा पनि सरकार गम्भीर भएको छैन ।’

प्रगति छैन वार्तामा

प्रधानमन्त्री केपी ओलीले वार्तामा बोलाउँदै मधेसी मोर्चालाई ३० जेठमा पत्र लेखेका थिए । मोर्चाले २ असारमा जवाफी पत्र तयार गरी ३ असारको दिउँसो रामसपाका नेता केशव झाले प्रधानमन्त्री कार्यालयमा दर्ता गराएका थिए । प्रधानमन्त्रीका स्वकीय सचिव रमेश आचार्यले पत्र बुझेका थिए ।

मोर्चाको पत्रमा सरकारले कुनै औपचारिक प्रतिक्रिया दिएको छैन । रामसपाका नेता झाले भने, ‘अहिलेसम्म सरकारको तर्फबाट कुनै प्रतिक्रिया आएको छैन ।’ कानुनमन्त्री खरेलले पनि मोर्चाको पत्रबारे औपचारिक धारणा नबनेको बताए । उनले भने, ‘अहिलेसम्म औचारिक धारणा बनाउने गरी पत्रबारे छलफल भएको छैन ।’

पुर्नलेखन कि संशोधन?

आन्दोलनरत मधेसी मोर्चा र संघीय गठबन्धनबीच संविधान संशोधन कि पुर्नलेखनको माग भन्नेमा विवाद छ । मधेसी मोर्चा संविधान संशोधनको पक्षमा छ भने गठबन्धन पुर्नलेखनको पक्षमा छ । तर, सरकार पनि संविधान पुनर्लेखनको पक्षमा छैन ।

गठबन्धनका नेताले संविधानका एक सय दुईवटा धाराको भाषा पुर्नलेखन गर्नुपर्ने बताएका छन् । ‘धेरैवटा धाराको भाषा मिलाउनुपर्ने भएकाले पुर्नलेखन भनिएको हो, संशोधन त प्रक्रियामात्रै हो,’ रामसपाका नेता केशव झाले भने । तर, पुर्नलेखन शब्दको अपव्याख्या गरिएको उनको गुनासो छ ।

५ असार, काठमाडौं ।

असार भूकम्पमा ध्वस्त संरचना पुनर्निर्माणमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाले साढे २२ अर्ब रुपैयाँ खर्च गर्ने भएका छन्।

संघसंस्थाले भूकम्पपीडितका १९ हजार ४ सय ५२ निजी अवास तथा विद्यालय र स्वास्थ्यचौकी भवन निर्माण गर्ने प्रस्ताव राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले स्वीकृत गरेको खबर आजको नयाँ पत्रिकामा टेकराज थामीले लेखेका छन्।

प्राधिकरणले १७ संघसंस्थाले पेस गरेको पुनर्निर्माण प्रस्ताव स्वीकृत गरेको हो । प्रस्ताव स्वीकृत भएका संस्थाले २२ अर्ब ३६ करोड पाँच लाख ९७ हजार दुई ४४ रुपैयाँ खर्च गर्ने प्राधिकरणले जनाएको छ । प्राधिकरणमा २७ भन्दा बढी संघसंस्थाले प्रस्ताव पेस गरेका थिए । प्राधिकरणका अनुसार पुनर्निर्माणमा सबैभन्दा ठूलो रकम सेभ द चिल्ड्रेनले खर्च गर्दै छ । उसले नौ अर्ब ८७ करोड ६९ लाख ७४ हजार रुपैयाँ खर्चेर विद्यालय तथा स्वास्थ्यचौकीका एक हजार ६ सय भवन निर्माण गर्ने प्राधिकरणले जनाएको छ ।

रेडक्रस सोसाइटीले सात अर्ब ३७ करोड ९४ लाख दुई हजार ९० रुपैयाँ खर्च गर्दै छ । उसले विद्यालय भवन तथा स्वास्थ्यचौकीका ६ हजार भवन निर्माण गर्ने भएको छ । क्यारिटेस नेपालले एक अर्ब ५६ करोड १८ लाख तीन हजार दुई सय तीन रुपैयाँ खर्चेर काभ्रे, सिन्धुपाल्चोक र दोलखामा चार हजार चार सय ४० नमुना घर निर्माण गर्नेछ । गैरआवासीय नेपालीहरूको संस्था एनआरएनएले २८ करोड ८९ लाख ३६ हजार चार सय ८२ रुपैयाँको लागतमा गोरखाको लाप्राकमा पाँच सय ७३ नमुना घर निर्माण गर्ने प्राधिकरणले जनाएको छ।

धुर्मुस–सुन्तली फाउन्डेसनले सिन्धुपाल्चोकमा तीन करोड २५ लाख रुपैयाँमा ६५ वटा नमुना घर निर्माण गने भएको छ । वर्ड रिन्यु संस्थाले नुवाकोटमा २४ करोड आठ लाख ९३ हजार ६ सय ९३ रुपैयाँमा तीन सय ३२ घर, ह्याबिटेट फर ह्युम्यानिटीले ३१ करोडमा नुवाकोटमा तीन सय ५० घर निर्माण गर्नेछ । प्राधिकरणका अनुसार लुथेरन वर्ड फेडेरेसनले रसुवामा ८८ करोड ९३ लाख ५६ हजार लागतमा दुई हजार एक सय २४ आवास, सुमारिटन पर्सले २५ करोडमा रसुवामा पाँच सय घर बनाउनेछ । हेन्भेट्स नेपालले ४६ करोड ५९ लाख पाँच हजारमा सिन्धुपाल्चोकमा एक हजार घर निर्माण गर्नेछ । लुमती सपोर्ट गु्रप फर सेल्टरले ३० करोड ६९ लाख आठ हजार १० रुपैयाँमा काठमाडौं चन्द्रागिरीमा आठ सय ५० घर निर्माण गर्ने भएको छ।

५ असार, काठमाडौं ।
एचपी र सुगमको सिलिन्डरमा जोखिम भएको पहिल्यै थाहा थियो

आपूर्तिमन्त्री गणेशमान पुनले १२ फागुनमा धादिङमा एचपी र सुगम ग्यासको निरीक्षण गर्दा सिलिन्डरको हाइड्रोलिक र हाइड्रोस्टेटिक परीक्षण नगरेको भेटिएको थियो । तर, अयोग्य सिलिन्डर नै भरिएर बजार पुगेकाले दुर्घटना भएका छन् । ७ जेठमा पाटनमा एचपीको सिलिन्डर पड्किएर तीनजनाको ज्यान गयो । ३१ वैशाखमा कालिमाटीमा सुगमको सिलिन्डर पड्केर एकको मृत्यु भयो। आजको नयाँ पत्रिकामा खबर छापिएको छ।

ग्यास पड्कने ६ कारण

विश्वबाबु पुडासैनी

महानिर्देशक, गुणस्तर तथा नापतौल विभाग

Ø नेपालमा उत्पादन हुने र आयात हुने ग्यास सिलिन्डरको गुणस्तर ‘नेपाल गुणस्तर ऐन’ले तोकेअनुसार नै नियमन भइरहेको छ । ग्यास उद्योगले नयाँ खरिद गरेको सिलिन्डरलाई गुणस्तर विभागले तोकिएको गुणस्तर परिधिभित्र रहेर परीक्षण गर्ने हो । तर, उद्योगीले खरिद गरिसकेपछि नियमित रूपमा प्रयोग हुन थालेको सिलिन्डरको जाँच गर्ने र सुरक्षाको विधि अपनाउने परिपाटीको विकास अहिलेसम्म हुन सकेको छैन । उद्योगीले सिलिन्डर कति सुरक्षित छन् भन्ने कुराको नियमन गर्न चासो दिएको पाइँदैन । उद्योगीसँग सिलिन्डरलाई सुरक्षित गर्ने पर्याप्त जनशक्ति र सुविधाहरू पनि रहेको देखिँदैन ।

Ø सिलिन्डरको भल्बको नियमित परीक्षण गर्नुपर्छ । कतिपय ग्यास उद्योगले सिलिन्डरमा बिग्रिएर बसेका तथा ग्यास लिकेज हुने भल्बहरूलाई मर्मत गरेर पुन: अर्को सिलिन्डरमा लगाउने गरेका छन्, यो गलत हो । सिलिन्डरमा पुरानो भल्ब फालेर नयाँ प्रयोग गर्नुपर्छ । उद्योगीले पनि गुणस्तरीय भल्बहरू परिवर्तन गरिएको सुनिश्चितता गर्न सक्नुपर्छ । सिलिन्डरमा एकपटक भल्ब लगाएपछि प्रत्येकपटक ग्यास भर्दा लिकेज परीक्षण गरिन्छ ।

Ø अधिकांश उद्योगले ग्यास सिलिन्डरको लिकेज परीक्षण गर्दा पानी प्रयोग गर्छन् । यसले सिलिन्डरको आयु घटाउँदै लान्छ । ग्यास लिकेज परीक्षण गर्ने मेसिन नै पाइन्छ । त्यस्ता मेसिनको प्रयोग गरिनुपर्छ । तर, अधिकांश उद्योगमा ग्यास लिकेज परीक्षण गर्ने मेसिन राखेको पाइँदैन ।

Ø सिलिन्डर राम्ररी प्रयोग गर्दा एकपटक हाइड्रोलिक टेस्ट गरेपछि १० वर्षसम्म नगर्दा हुन्छ । सिलिन्डरलाई पानीमा डुबाउने, घाममा राख्ने गर्यो भने चाँडो कमजोर हुनसक्छ । बढी कुच्चिएको, वास्तविक आकार बिग्रिएको, बढी खिया लागेको सिलिन्डरमा जोखिम हुन्छ ।

Ø सिलिन्डरको बाहिरी भागमा रङ लगाउनु भनेको फलामको पातालाई सुरक्षा गर्नु हो । रङ खुइलिएको सिलिन्डर घामपानीबाट चाँडै संक्रमित भई बिग्रन सक्छ । लामो समय रङ नभएको सिलिन्डर प्रयोग गर्दा पाताको बाक्लोपना पनि घट्न सक्छ ।

Ø धेरै उद्योगमा घामपानीको सीधै उपस्थिति हुने बाहिरी भागमा सिलिन्डरहरू राखिएको देखिन्छ । निरन्तरको घामपानीले सिलिन्डरको आयु कम हुँदै जान्छ । डिलरहरूले पनि बाटोमा खुला तरिकाले सिलिन्डर राखेको देखिन्छ । यसो गर्नुभएन ।

यसरी गरौँ सुरक्षा

चन्द्र थापा

महासचिव, ग्यास विक्रेता महासंघ

Ø सिलिन्डरबाट चुलोसम्म पुग्ने पाइप प्लास्टिकको प्रयोग गर्दै नगरौँ । अनिवार्य ‘होच पाइप’ प्रयोग गरौँ । सबै डिलरकहाँ होच पाइप हुन्छ ।

Ø खाली वा भरिएको सिलिन्डरमा अनिवार्य सेफ्टी क्याप लगाएर राखौँ । यसले लिकेज हुनबाट रोक्छ ।

Ø ‘एनएस’ वा ‘आइएसआई’ गुणस्तर चिह्नअंकित गुणस्तरीय रेगुलेटर मात्रै प्रयोग गरौँ ।

Ø कुच्चिएको सिलिन्डर प्रयोग नगरौँ । भान्सारमा दुईवटा सिलिन्डर सँगै राख्दै नराखौँ ।

Ø सकेसम्म भान्सा कोठाबाहिर सिलिन्डर राख्ने गरौँ । तर, बाहिर घामपानीले प्रत्यक्ष सिलिन्डर असर पार्नुहुँदैन ।

Ø सिलिन्डरभन्दा अग्लो ठाउँमा चुलो राखौँ । यसो गर्दा चुहोछेउमा लिकेज भए ग्यास तल जान्छ र दुर्घटनाको सम्भावना कम हुन्छ ।

Ø घरमा धेरै सिलिन्डर मौज्दात नराखौँ ।

एजेन्सी,असार ४ । युरो २०१६ अन्तर्गत दोस्रो खेलमा आइसल्याण्ड र हंगेरीले बराबरी खेलेका छन् । खेल जित्दै दोस्रो चरण प्रवेश गर्ने दाउमा मैदान उत्रेका आइसल्याण्ड र हंगेरीले १-१ को बराबरी खेलेका हुन् । खेलको ४० औ मिनेटमा अग्रता लिएको आइसल्याण्डले आन्तिम समयमा ८८ औं मिनेटमा गोल खादै अंक बाँड्न बध्य भयो ।

बेल्जियमसमूह चरणको पहिलो खेलमा पोर्चुगल जस्तो टीमलाई बराबरीमा रोकेको आइसल्याण्ड आज भने बराबरीमा रोकियो । अष्ट्रियालाई पराजित गरेको हंगेरी पनि दोस्रो खेलमा पनि त्यही प्रदर्शनलाई दोहोर्याउने तयारीमा रहेको भिएपनि त्यो सफल हुन सकेन् ।

पप्पु गुरुङ्ग, ४ असार, दोधारा चाँदनी । कञ्चनपुरको दोधारा चाँदनी स्थित महाकाली झोलुङ्गे पुल सोन्दर्यकरणको लागी स्थानिय स्तरमा उपभोक्ता समिति गठन गरिएको छ् । नेपाल पर्यटन बोर्ड कोहलपुर, बाँकेको सहयोगमा महाकाली झोलुङ्गे पुल सोन्दर्यकरणका लागी पार्कको गेट निमार्ण तथा ६ वटा सिमेन्टेड आराम बेन्च निर्माण गरिने भएको पुल सोन्दर्य उपभोक्ता समितिका संयोजक सरोज चन्दले जानकारी दिनुभएको छ् । महाकाली झोलुङ्गे पुल हेर्ने पर्यटकहरुका लागी पुलको सोन्दर्यकरण बढाउन उक्त निमार्ण थालिएको बताईएको छ् । आज एक कार्यक्रमको बिच बिधिवद रुपमा निर्माण कार्यको उद्धघाटन गरिएको उपभोक्ता समिति सदस्यहरुले जनाएका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ४, महाकाली झोलुङ्गे पुल क्षेत्रमा पुल सोन्दर्यकरणका लागी पार्कको गेट निमार्ण तथा ६ वटा सिमेन्टेड आराम बेन्च निर्माणको लागी दातृ निकाय नेपाल पर्यटन बोर्ड कोहलपुर, बाँकेले रु. ५ लाख रकम बिनियोजन गरेको हो ।

४ असार, काठमाडौं ।
निरन्तर वृद्धिको क्रममा रहेको नेपाली शेयर बजारको परिसूचक नेप्से यो साताको पहिलो दिनको तुलनामा ३४.९८ अंकले बढेर अन्तिम दिन १६३२.९४ अंकमा पुगेको छ ।

यो साता बजारको कारोवार पनि गत साताको भन्दा ३५.८६ प्रतिशत बढेको छ । यो साता नेपाल स्टक एक्सचेन्जमा १४९ कम्पनीहरुको कारोबार भएको छ ।

जस अनुसार ३४६१० कारोबारबाट नौ अर्ब ३० करोड ७२ लाख ४८ हजार रुपैयाँ बराबरका एक करोड ५२ लाख ९३ हजार नौ सय ७० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् ।

यसै गरी यो साता समूहगत परिसूचक तर्फ बाणिज्य बैक र रहोटेल वोहकका सबै समूहको कारोवारमा सुधार भएको छ ।

४ असार, काठमाडौं ।
माथिल्लो कर्णाली जलविद्युत् आयोजनाका प्रभावितले आफूहरूलाई चित्त बुझाएर तत्काल परियोजना निर्माणको काम अघि बढाउन भारतीय लगानीकर्ता कम्पनी ग्रान्ध्री माल्लिकार्जुन राव 'जिएमआर'को ध्यानाकर्षण गराएका छन् ।

व्यवस्थापिका–संसद्, कृषि तथा जलस्रोत समिति र लगानी बोर्डको कार्यालयले आयोजना प्रभावित क्षेत्रमा गरेको स्थलगत अवलोकन तथा अन्तक्र्रिया कार्यक्रममा उनीहरूले सो आग्रह गरेका हुन् ।

भारतीय लगानीकर्ता कम्पनी जिएमआरले आगामी असोज ३ गतेभित्र वित्तीय व्यवस्थापन गरी आयोजनाको निर्माण सुरु गर्नुपर्ने समयसीमा रहेको सन्दर्भमा स्थानीयवासीले परियोजना मुलुक र जनताको हितमा समेत केन्द्रीत गर्न ध्यानाकर्षण गराएका हुन् ।

आयोजना मुलुकको हितमा नरहेको भन्दै केही राजनीतिक दल तथा सरोकार भएका विभिन्न पक्षले विरोध गरिरहेको बेला प्रत्यक्ष रुपमा प्रभावित दैलेखको सात्तला, अछामको भैरवस्थानलगायत गाविसका जनताले भने मुआब्जा वितरण, पुनःस्थापना तथा पुर्नबासको काममा विशेष ध्यान दिएर स्थानीयवासीको मन जित्न आग्रह गरे ।

स्थानीयवासीले विशेष गरी सेयर वितरण प्रक्रिया, स्थानीयवासीको रोजगारी, प्राकृतिक स्रोत तथा साधनको संरक्षणको विधि तथा प्रक्रिया पारदर्शी हुनुपर्नेमा जोड दिएको समाचार संस्था राससले जनाएको छ ।

४ असार, मुस्ताङ ।
मुस्ताङ जिल्ला सदरमुकाम जोमसोममा हावाबाट बिजुली उत्पादन गर्ने प्रयास सफल भएको छ ।

बुद्ध पावर प्रालि पोखराको प्रयासमा साढे एक किलोवाट क्षमताको विद्युत् उत्पादन भएको हो ।

हावाको गतिको आधारमा उत्पादन बढ्दै जाने कम्पनीले दाबी गरेको छ । मदानी प्रकृतिकै पङ्खा राखेर विद्युत् उत्पादन सुरु गरिएको कम्पनीका निर्देशक पुस्कर तिमिल्सिनाले जानकारी दिनुभयो ।

४ असार, इलाम ।
इलाममा पञ्चकन्या माइभ्याली हाइड्रोपावर कम्पनीले सञ्चालन गरेको ८ दशमलव ९८ मेगावाट क्षमताको अप्परमाई जलविद्युत् आयोजनाको उत्पादन राष्ट्रिय विद्युत् प्रसारण लाइनमा जोडिएको छ ।

दुई महिनाको आन्तरिक परीक्षणपछि कावेली कोरिडोरको गोदकस्थित सवस्टेसनमा अप्परमाईको विद्युत् प्रवाह भएको हो ।

अप्परमाईको उत्पादन सुरू भएसगै जिल्लाको कुल विद्युत् उत्पादन क्षमता ५२ मेगावाट पुगेको छ । प्रसारण लाइनमा जोडिए पनि १५ दिनसम्म परीक्षणको रूपमा आयोजनाले विद्युत् प्रवाह गर्नेछ ।

इलाम जिल्लामा पुवाखोला, माइखोला, सानिमा र माथिल्लो पुवाखोला विद्युत् आयोजना सञ्चालनमा छन् ।

४ असार, बझाङ ।
बझाङ जिल्ला सभापति चुन्नका लागि आजबाट चुनावी प्रक्रिया शुरु भएको छ ।

सभापति पदका लागि खड्क बहादुर बोहरा, हर्कजंग बहादुर सिंह र रमेश भण्डारीले उमेदवारी दर्ता गराउनुभएको छ ।

सभापति पदका अर्का उम्मेदार देवराज शर्माले भने उम्मेदवारी फिर्ता लिनुभयो । त्यसैगरी सचिवका लागि झलक बहादुर कठायत, टेक बहादुर थापा, धुर्वराज उपाध्याय र विक्रम बहादुर थापाले उमेदवारी दर्ता गराउनुभएको छ ।

३१ ज्नाको जिल्ला कार्य समितिको लागि केहि मनोनित पद सहित कोषाध्यक्ष बाहेक २० जनाका लागि चुनाव हुन लागेको हो ।

पार्टीका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री शुसिल कोइरालाको निधनका कारण बझाङ सहित देशका ९ जिल्लामा नेपाली कांग्रेसको अधिवेशन स्थगित भएको थियो ।

४ जेठ, काठमाडौं ।
नारायणगढ–मुग्लिन सडकखण्डको चारकिलोमा आज बिहान खसेको पहिरोका कारण नौ घन्टा अवरुद्ध सडक दिउँसो ३ः४५ बजेबाट दुईतर्फी सञ्चालनमा आएको छ ।

चन्डिभञ्ज्याङ गाविस–५ स्थित चारकिलो भन्ने ठाउँमा सडक माथिबाट झन्डै २०० मिटर फराकिलो पहिरो झरेपछि बिहान ७ बजेदेखि सडक अवरुद्ध भएको थियो ।

पहिरोसँगै दुई वटा रुख खसिसकेका छन् भने एउटा रुख र पहिरो खस्ने जोखिममा रहेकाले जुनसुकै बेला सडक अवरुद्ध हुन सक्ने खतरा भने कायमै रहेको उहाँले बताउनुभयो ।