लिखु गाउँपालिकाको १० शैयाको अस्पताल निर्माण अन्तिम चरणमा

असार ८, २०८३ मा प्रकाशित | 198 views

लिखु गाउँपालिकाको १० शैयाको अस्पताल निर्माण अन्तिम चरणमा

नुवाकोट । लिखु गाउँपालिकाको पालिकास्तरीय १० शैयाको अस्पताल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। वडा नं. ४ चौघडा स्थित करिब ९ रोपनी जग्गामा निर्माण गरिएको सुविधासम्पन्न अस्पताल भवनको निर्माण सम्पन्न भएसँगै जनप्रतिनिधिहरूले स्थलगत अनुगमन तथा निरीक्षण गरेका छन्।
गाउँपालिका अध्यक्ष ध्रुव श्रेष्ठ, उपाध्यक्ष शुभद्रा अधिकारी (उप्रेती), प्रमुख प्रशासकीय अधिकृत अशोक विष्ट सहित गाउँसभा सदस्यहरूले अस्पताल भवनको अवलोकन गर्दै निर्माणको गुणस्तर तथा तयारी अवस्थाबारे जानकारी लिएका हुन्।


करिब ८ करोड रुपैयाँ लागतमा निर्माण गरिएको उक्त भवनमा ९९ वटा कोठा निर्माण गरिएको छ। बहुविपद् प्रतिरोधी संरचनाका रूपमा निर्माण गरिएको अस्पताल भवनमा स्वास्थ्य सेवा सञ्चालनका लागि आवश्यक सम्पूर्ण पूर्वाधार तयार गरिएको छ।

अस्पतालमा शल्यक्रिया कक्ष, आकस्मिक कक्ष, प्रयोगशाला, वार्ड, उपचार कक्ष तथा अन्य आवश्यक स्वास्थ्य सेवा सञ्चालनका लागि आवश्यक संरचनाहरू निर्माण गरिएको गाउँपालिकाले जनाएको छ।


भवन निर्माण सम्पन्न भइसकेपछि हाल अस्पताल परिसरमा आकर्षक गार्डेन निर्माण तथा सौन्दर्यकरणको काम भइरहेको छ।

अस्पताल सञ्चालनमा आएपछि लिखु गाउँपालिकाका नागरिकले आफ्नै पालिकाभित्र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने र सामान्यदेखि जटिल स्वास्थ्य समस्याका लागि बाहिर जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।

गाउँपालिका नेतृत्वले अस्पताललाई छिट्टै सञ्चालनमा ल्याएर नागरिकलाई प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने तयारी भइरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web