राप्रपा नेपाल एमालेकै चुनाव चिह्नमा उठ्ने !

काठमाडौ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी स्थानीय तहको निर्वाचनमा नेकपा एमालेकै चुनाव चिह्न लिएर आफ्नो पार्टी निर्वाचनमा सहभागी हुन इच्छुक रहेको बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित स्थानीय तह निर्वाचन घोषणापत्र तथा चुनाव चिह्न सार्वजनिकीकरण समारोहमा अध्यक्ष थापाले यस्तो बताएका हुन्।

स्थानीय तहको निर्वाचनमा एमालेसँग सहकार्य गर्ने कुरा प्रारम्भिक चरणमा सम्पन्न भएको उल्लेख गर्दै उनले स्थानीय तहमा उठ्ने आफ्नो पार्टीका नेता कार्यकर्तालाई एमालेसँग सहकार्य र तालमेल गरेर अघि बढ्न आग्रह गरे।

‘राप्रपा नेपालले आगामी स्थानीय तहको निर्वाचनमा विभिन्न राजनीतिक दलहरूसँग सहकार्य र तालमेल गर्ने नीति लिएको छ। यस क्रममा नेकपा एमालेसँग प्रारम्भिक चरणको कुराकानी भइसकेको छ। र, नेकपा एमालेसँगको सहकार्यलाई हामीले उच्च प्राथमिकता दिने नीति लिएका छौँ, थापाले भने, सम्भव भए आगामी स्थानीय तहको चुनावमा नेकपा एमालेकै चुनाव चिह्न सूर्य लिएर उठ्न सक्ने सम्भावनाका बारेमा समेत आज म पत्रकार साथीहरूलाई जानकारी गराउन चाहन्छु। यो निर्णय होइन पार्टीको धारणा हो।’

अध्यक्ष थापाले नेपाललाई हिन्दुराष्ट्र कायम गर्नेबारेमा राष्ट्रिय सहमति हुनुपर्ने बताए। त्यसो हुन नसकेमा धर्मनिरपेक्षता वा हिन्दुराष्ट्र भन्नेबारेमा आगामी संसदीय चुनाव सँगसँगै राष्ट्रिय जनमतसंग्रह गर्न पनि उनले माग गरे।

प्रतिक्रिया

TOP