२५ असोज, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बडा दशैंको अवसरमा शुभकामना सन्देश दिंदै स्वदेश तथा विदेशमा रहेका नेपालीहरूलाइ सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् दीर्घायुको शुभकामना व्यक्त गरेका छन्।

प्रधानमन्त्रीले दिएको दशैं शुभकामना सन्देशमा नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवम् बहुधार्मिक विविधताले भरिपूर्ण एक सुन्दर र बहुविविधतापूर्ण राष्ट्र भएको उल्लेख छ ।

विजयादशमी, तिहार, नेपाल सम्वत्, छठ, ल्होसारजस्ता पर्वहरुका आफ्नै पृष्ठभूमि, मौलिकता र मूल्यहरु रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले सन्देशमा – “विविधतायुक्त विशेषताहरु बीचको एकता हाम्रो मौलिक आयाम हो र सबै जाति, भाषा, संस्कृति र सभ्यताहरुको संरक्षण र विकास गर्नु हाम्रो दायित्व पनि हो ।” भनि उल्लेख गरेका छन् ।

प्रधानमन्त्रीले दाहालले दशैंलगायतका हाम्रा सांस्कृतिक पर्वहरुले नेपाली समाज र मानव जीवनमा भ्रातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदान पुर्याउँदै आएको बताएका छन् । यसलाई अझ विकसित तुल्याएर राष्ट्रिय एकता हासिल गर्दै समृद्धि र सामाजिक परिवर्तनलाई संस्थागत गर्नु आजको कार्यभार भएको बताएका छन् ।

दशैं शुभकामनामा राजनीतिक विषय खुसाउँदै प्रधानमन्त्रीले नेपाल यतिबेला लामो राजनीतिक परिवर्तनबाट प्राप्त गणतन्त्र, सङ्घीयता, समावेशिता,सामाजिक न्यायसहितको प्रगतिशील चरित्र बोकेको चरणमा रहेको बताएका छन् ।

देश अब संविधानको स्वीकार्यता बढाएर संविधानको कार्यान्वयन गर्ने चरणमा छ भन्दैप्रधानमन्त्रीको सन्देशमा भनिएको छ– राजनीतिक र सामाजिक परिवर्तन प्राप्तिका लागि हामीले जुन बलिदानी र एकताको प्रदर्शन गर्यौँ, आन्तरिक राष्ट्रियता बलियो पार्दै संविधान कार्यान्वयन गर्न त्यस्तै एकता र सहकार्य हाम्रा लागि अनिवार्य भएको छ।

20.81¡ÆC