२७ भदौ, काठमाडौं ।

नेपालमा विगत बर्षहरुमा भदौको अन्तीम सातासम्म मनसुन सकिएर बर्षा हुन कम हुने गरेको परम्परा विपरित यस बर्ष भने मध्यबर्षामा जस्तो गरी विगत तीनदिनदेखि देशै भर बर्षा भएको छ ।

बर्षाले काठमाण्डौमा केही चिसोको महसुस भएको छ भने तराई क्षेत्रमा पनि शितलताको अनुभूत भएको सर्वसाधारणले बताएका छन् । नेपालमा प्रायः मनसुन सिजनको रुपमा जुन १० तारिकदेखि सेप्टेम्बर २३ सम्मलाई लिने गरिन्छ ।

जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले भने यो बर्षा अप्रत्याशित नभै नियमित मनसुनी बर्षा नै भएको र केही ढिलोसम्म बर्षा कायम रहेको स्थिति मात्र भएको बताएको छ ।

मौसमविद् सुवाष रिमालले नेपालमा अझै १२/१३ दिनसम्म मनसुन सिजन रहने भएकाले यो बर्षालाई अप्रत्याशित भन्न नहुने बताउनु भयो ।

उहाँले मंगलबारसम्म देशैभर पानी पर्ने र बुधवार मध्य तथा सुदूर पश्चिममा पानी पर्ने संभावना रहेको पनि औल्याउनु भयो ।

हाल भारतको काश्मिर क्षेत्रबाट न्यूनचापिय मनसुनी रेखा नेपाल नजिकै आएकोले मनसुन अझै केही दिन सक्रिय हुन सक्ने मौसमविद् रिमालको भनाई छ ।

लगातारको बर्षापछि देशका बिभिन्न भागमा गएको बाढी पहिरोका कारण जनजीबन प्रभाबित

लगातारको बर्षापछि देशका बिभिन्न भागमा गएको बाढी पहिरोका कारण जनजीबन नराम्ररी प्रभाबित भएको छ ।

बर्षापछि गएको पहिरोका कारण मेची राजमार्ग अन्तर्गत पांचथर ताप्लेजुङ सडकखण्ड, सिन्धुली सडकखण्ड र रसुवा स्याफ्रु टिमुरेखण्ड राजमार्ग अबरुद्ध भएको छ ।

राजमार्ग अबरुद्ध भएका कारण यातायात संचालन अबरुद्ध हुनाका साथै सयौ यात्रु बाटोमा नै अलपत्र परेका छन् ।

पहिरो पन्छ्याउने कार्य भइरहेपनि लगातारको बर्षाका कारण पहिरो जाने क्रम जारी रहेकोले कठिनाई उत्पन्न भएको प्रहरीले जनाएको छ ।

पहिरोका कारण पबर्तमा पांच घर परिवार बिस्थापित भएका छन् ।

पहिरोकै कारण पर्बतको भुकताङले गाबिस ८ मा रहेको २५ किलोवाट क्षमताको ठाडोखोला लघुजलबिद्युत आयोजनाको नहर पूर्ण रुपमा भत्किएको छ ।

गएरातिदेखिको बर्षाका कारण बीरगंज नगर क्षेत्रका अधिकांश भाग डुबानमा परेपछि जनजीबन प्रभाबित भएको छ ।

मर्मत सम्भार नहुंदा र फोहोरका कारण नाला बन्द हुंदा त्यहांका अधिकांश क्षेत्र डुबानमा परेको स्थानिय बासिन्दाको भनाई छ ।

एकै घरका दुई जना खोलाले बगायो

सोलुखुम्बुको नेचाबतासे र सल्यान ५ मा रहेको खहरे खोलाले एकै घरका दुई जनालाई बगाएर बेपत्ता बनाएको छ ।

लगातारको बर्षाका कारण बढेको खोला तर्ने क्रममा सल्यान ५ का ७७ बर्षिया आमा फुर्वाडोमा शेर्पा र ३९ बर्षिया छोरी पेमजाङमु शेर्लालाई खोलाले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

20.12¡ÆC