‘एमाले बागलुङको राजनीति र जिल्ला अधिवेसन’ केन्द्रीय नेतृत्वलाई १० प्रश्न

मंसिर २८, २०७३ मा प्रकाशित
Published at 2016-12-13

2435 views

अहिले गाउँ गाउँमा सडकहरु पुगेका छन् । विजुली वत्ती त सामान्य कुरा भयो मानिसका हात हातमा मोबाईल मात्र हैन मेरै गाउँका छिमेकी र साथीभाईहरु आज विश्वका कुना कुनामा पुगिसकेका छन् ।

आज भन्दा ३० बर्ष अघिसम्म अवस्था विल्कुल फरक थियो । यातायातको नाममा गोरेटो र घोडेटो बाटाहरुको चर्चा हुन्थ्यो । बागलुङ बजारबाट बुर्तिवाङ र रुकुम क्षेत्रको लागि भरियाहरुको लामो लस्कर विहुँकै उकालो भएर ओहोर दोहोर गर्ने नियमित दैनिकी जस्तै थियो । राजनीतिको नाममा गाउँमा दुई चार जना अगुवाहरुलाई प्रहरीले पक्राउ गर्यो रे भन्दा ठूलो हल्ली खल्ली हुन्थ्यो । समाज एउटा बन्द समाज थियो र नैतिक मान मर्यादा र प्रतिष्ठाको आधारमा समाज चलेको थियो ।

मेरो बुबा विद्यार्थी कालमा बनारसमा गएर पढ्नुभयो र मोहनविक्रम सिंह तथा चित्र बहादुर केसीको संगतले तत्कालीन मसालसँग निकट रहनुभयो र केही समय पर्चा काण्डमा प्रहरीको हिरासतमा समेत पर्नु भएको रहेछ ।

म सानै थिएँ । त्यतिवेला नौडाँडा सम्म मात्र गाडीहरु पुगेका थिए । बागलुङ बजार समेत सडक संजालमा जोडिएको थिएन । बागलुङ बजारबाट ४÷५ घण्टाको पैदल यात्रापछि विहुँको उकालो झण्डै झण्डै सक्दा हाम्रो घर आउँथ्यो । नेकपा मालेको विस्तारको अभियानमा थुप्रै तत्कालीन नेताहरु हाम्रो घरमा आउनुहुन्थ्यो । गोपाल शाक्य र रामनाथ ढकाल प्रजातन्त्र आए लगत्तै हाम्रो घरमा खाना खाएर गएको मलाई सम्झना छ । नेताहरु भूमिगत कालमा हाम्रो घरमा रहेता पनि वरिपरिका छिमेकीहरुलाई थाहा हुदैनथ्यो किनकी प्रहरीले थाहा पाउनासाथ पक्राउ गरिहाल्थ्यो र पञ्चायती व्यवस्थाको देशव्यापी रुपमा दरो पकड थियो ।

२०४६ सालमा देशव्यापी रुपमा आन्दोलन भयो । २०४६ सालको अन्ततिर तत्कालीन राज स्वं वीरेन्द्र समेत विहुँको खानेपानी आयोजनाको समुद्घाटन कार्यक्रममा आउनुभएको थियो र लगत्तै देशमा पञ्चायती व्यवस्थाको अन्त भई प्रजातन्त्रको स्थापना भयो ।

प्रजातन्त्र स्थापना भए लगत्तै गाउँमा विशेष गरी नेपाली कांग्रेसको जगजगी थियो । यसै अभियान अन्र्तगत नेकपा माले, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमोर्चाको संगठन पनि विस्तार हुँदै थियो । बुवा स्थानीय स्तरमा नेकपा मालेका संस्थापक नेता मध्य रहनुभएकोले केन्द्र तथा जिल्लाका नेता कार्यकर्ताहरुको लागि हाम्रो घर नेताहरुको पानी पँधेरो जस्तै बनेको थियो । हाम्रो मुख्य पेशा कृषि भएकोले गाईवस्तुलाई घाँसपात गर्नु र खेतीपातीको समयमा व्यापक काम गर्नु दैनिकी जस्तै थियो ।

केन्द्रीय नेताहरुका अलावा दिल सहानी , गोविन्द अधिकारी लगायतका नेता एवं कार्यकर्ताहरु कैयौं पटक हाम्रो घरमा बस्ने गर्नुहुन्थ्यो । प्रजातन्त्र आए लगत्तै मदन भण्डारी बागलुङ आएको बेलामा हाम्रो परिवारको तर्फबाट बुवा आमा सहित हाम्रो परिवारका पाँचै जना सदस्य बागलुङ बजारको कार्यक्रममा आएर फर्केको हिजो अस्ती जस्तै लाग्छ । मेरो आमा २०५६ सालमा वित्नुभयो र यो अवधि भित्रका स्थानीय राजनीतिक अभियानमा मेरो आमा स्व. सरस्वती कँडेलको समेत ठूलो योगदान रहेको छ ।

मुख्य गरी यही अवधिमा नेपाली समाजको चरित्र र राजनीतिको बारेमा केही सिक्ने अवसर प्राप्त भए जस्तो लाग्छ मलाई । त्यतिवेलाको तत्कालीन मालेको राजनीति मुलतः त्याग, निष्ठा र जनताप्रति समर्पित रहेकोमा शंका गर्ने कुनै ठाउँ थिएन । त्याग र ईमान्दारिताकै कारण भन्नुपर्छ पहिलो संसदीय निर्वाचनमा पराजित भएका गोविन्द अधिकारी दोस्रो संसदीय निर्वाचनमा बागलुङ निर्वाचन क्षेत्र नं १ बाट विजयी भए । उक्त अवधिमा नेता तथा कार्यकर्ताहरुको वीचमा व्यापक आत्मियता थियो र समाजमा इमान्दारिता, नैतिक मूल्य र मान्यता हुनु र नहुनुले ठूलो अर्थ राख्थ्यो ।

२०५१ सालमा नेकपा एमाले पहिलो पार्टीको रुपमा स्थापना भई मनमोहन अधिकारीको नेतृत्वमा चलेको नौं महिने शासन शायद नेपालको इतिहासकै जनताको स्वर्णिम सरकार थियो । लगत्तै देशमा भएको निर्वाचनमा नेकपा एमाले विभाजित हुन पुग्यो र यहीँबाट नेकपा एमालेको राजनीतिले नयाँ अध्याय शुरु गर्यो भन्न सकिन्छ । विभाजनको कारण एमालेले अपेक्षित सिट ल्याउन सकेन भने विभाजित नेकपा मालेले कुनै पनि स्थानमा चुनाव जित्न सकेन ।

यसै क्रममा राजनीतिक उतारचढावहरु चल्दै गए । २०५८ साल जेठ १९ गते भएको नारायणहिटी हत्याकाण्डमा राजा वीरेन्द्रको परिवारको बंशनास गरियो र नेकपा माओवादीको सशस्त्र युद्धको माध्यमबाट २०५२ सालबाट शुरु भएको विद्रोहले थलाथला भएको नेपाली समाजमाथि षडयन्त्रमूलक ढंगबाट योजनावद्ध आक्रमणहरु भईरहे । नेपालको संविधान २०७२ जारी भईसकेपछि भुकम्पले व्यापक क्षति व्यहोरोका आम नेपालीहरुको पीडा सेलाउन नपाउँदै नेपालमाथि नाकावन्दी गरियो र अहिले पनि यो शक्ति खुलेआम रुपमा नेपालको आन्तरिक मामिलामा खुलेआम रुपमा हस्तक्षेप गर्दै आएको छ ।

बागलुङ एमालेको राजनीतिको सन्दर्भ जोड्ने हो भने गोविन्द अधिकारी पश्चात २०६४ सालको संविधान सभाको निर्वाचनमा रामजी शर्मा विजयी भए । तत्कालीन माले र एमालेको फुट र मिलन एवं पार्टी भित्र रहेको केपी गुट र माधव गुटको असरबाट कमजोर भएको नेकपा एमाले बागलुङको आन्दोलन दोस्रो संविधान सभाको निर्वाचनको टिकट प्रकरणमा मुछियो । शुरुमा मना केसीको नाममा दिईएको टिकट लगत्तै हिरा केसीको नाममा पुग्यो भने यसै प्रकरणको गलत अभ्यासबाट रुष्ट हुँदै नेपाली कम्युनिष्ट आन्दोलनका ईमान्दार र निष्ठावान नेता क्रृषिराम शर्माले नेकपा एमाले पार्टी परित्याग गर्न पुगे । फलस्वरुपः नतिजा पुनः नेकपा एमालेको प्रतिकुल हुन पुग्यो ।

दास्रो संविधान सभाको चुनाव पश्चात तत्कालीन सभासद एवं नेपाली कांग्रेसका नेता हरि खड्काको जीप दुर्घटनामा मृत्यु भयो र त्यसपछि भएको उपनिर्वाचनमा बागलुङ १ मा मना केसी पराजित हुन पुगिन् । बागलुङका २ र ३ नं क्षेत्रहरुमा विशेष गरी जनमोर्चाको बढी प्रभाव र त्यसपछि माओवादीको प्रभाव रहेको अवस्थामा एमाले तेस्रो अवस्थामा रहने स्थिति पछिल्लो निर्वाचन परिणामले समेत देखाएको छ । त्यसपछि विभिन्न आरोह र अवरोह पार गर्दै नेकपा एमाले बागलुङको राजनीतिक यात्रा अगाडि बढिरहेको छ ।

यसै सन्दर्भमा नेकपा एमालेको जिल्ला अधिवेसन यही पौष ९ गते देखि ११ गतेसम्म बागलुङ बजारमा हुन गईरहेको छ । यतिवेला राष्ट्रियताको दरो अडान नेकपा एमालेले लिएको र यस कार्यक्रमको प्रमुख अतिथिको रुपमा नेकपा एमालेका अध्यक्ष कमरेड केपी ओली आउँदै गरेको सन्दर्भमा यस अधिवेसनलाई एकताको अधिवेसनको रुपमा अगाडि बढाउन र बागलुङ जिल्लामा एमालेलाई स्थापित गराउन पार्टीले पक्कै पनि महत्वपूर्ण भूमिका खेल्नेनै छ । यसै सन्दर्भमा नेकपा एमालेलाई अझै बढी लोकतान्त्रिक र जनताको पार्टीको रुपमा विकास गर्नको लागि पार्टी केन्द्रीय नेतृत्व पंक्तिसँग केही सुझाव एवं चुनौतीहरु यहाँ उल्लेख गरिएको छ । 

प्रश्न नः १ ः के पार्टी नेतृत्व पंक्तिले चालेका कार्यदिशाहरु कमरेड पुष्पलाल, कमरेड मदन भण्डारी र कमरेड मनमोहन अधिकारीले देखाएको बाटो अनुसार अगाडि बढेका छन् त ?

नेपाली कांग्रेसले विपि कोईरालाको नाममा राजनीति गरेजस्तै नेकपा एमालेको राजनीतिक यात्रामा पक्कैपनि कमरेड पुष्पलाल, कमरेड मदन भण्डारी र कमरेड मनमोहन अधिकारी जस्ता नेताहरुलाई पक्कै पनि भुल्ने प्रश्न नै आउँदैन ।

मनमोहन अधिकारीले नौं महिने शासन चलाउँदा “आफ्नो गाउँ आँफै बनाउँ” र बृद्धभत्ताको व्यवस्था लगायतका जनमुखी कार्यहरु गरेर जनताको पार्टीको रुपमा नेकपा एमालेलाई उभ्याए । अहिले हाम्रा आदरणीय नेताहरुले विकास आफ्नो क्षेत्रमा मात्रै लैजानुपर्ने र डा. गोविन्द केसी जस्ता सामाजिक न्यायको आन्दोलन हाँकिरहेका अभियन्ताले उठाएका सामाजिक न्यायका सबालहरुलाई समेत सशक्त ढंगबाट उठाउने कुरामा हिच्किचाएको वा मौन रहेको देखिन्छ । शायद जनताको पार्टी बनिरहनको लागि जनताका आवाजहरु सशक्त ढंगले एमालेले उठाउने हिम्मत गर्नुपर्छ ।

प्रश्न नः २ ः के जनताको बहुदलीय जनवाद नेताको वरिपरी हिड्नेलाई संरक्षण गर्ने र अरुलाई तिरष्कार गर्ने हो ?

मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद भित्र जनता नै केन्द्रविन्दुमा राखेर राजनीति गर्नुपर्छ भन्ने मूल मान्यता हो भन्ने आम कार्यकर्ताको बुझाई हो । पछिल्लो समयमा आएर मुलतः जनताभन्दा पनि नेता र पहुँचवालाहरुको संरक्षण गर्ने सन्दर्भमा नेताहरु खुलेर लागेको देखिन्छ । के ईमान्दार कार्यकर्ताहरु अगाडि बढ्ने बाटोमा काँडेतार लगाउने गरी पार्टी चल्नु जनताको बहुदलीय जनवादको सिद्धान्त अनुसार तालमेल बन्ने सन्दर्भ हो त ?

प्रश्न नः ३ ः नेताहरु व्यापारमा र व्यापारीहरु नेता बनाउने नीति के सही हो त ?

नेकपा एमालेको राजनीतिक नेतृत्वमा पछिल्लो समयमा केही केन्द्रीय स्तरका नेताहरु समेत खुलेआम रुपमा व्यापारमा लागेको देखिन्छ । समाजवादको लक्ष्यलाई आत्मसात गरको पार्टी नेकपा एमालेले नै शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रहरुको व्यापारमा लाग्दा जनताको पक्षमा कसले नीति नियम बनाउने र वकालत गर्ने हो । व्यापारीहरुलाई नै नेता बनाएपछि उनीहरुले जनताका आवाज उठाउने वा आफ्नो व्यापारको ? के यस्तै कदमबाट समाजवादको लक्ष्यमा पुग्न सकिन्छ त ?

प्रश्न नः ४ ः देश माफियाबाटै चलेको छ , पार्टी नेतृत्व पंक्ती माफियाकै वरिपरी घुम्ने हो भने सामाजिक न्याय र सुशासनको लागि काम गर्ने कसले ?

कर्मचारीतन्त्रको माथिल्लो पंक्ति र माफियाहरुले राजनीतिक दलहरुलाई प्रभावमा पार्ने र अनियमिताका शृंखलाहरु यहीबाट चल्ने गरेको देखिन्छ । नीहित स्वार्थको लागि कर्मचारी र माफियाहरुको लागि नेतृत्व परिचालित हुने हो भने क्षमतावान र ईमान्दार नेपालीहरुलाई राज्यसत्ताको पहुँचमा पुर्याउन पार्टीले कसरी सक्छ ? कि चापलुसीवादमा विश्वास गर्नेहरुलाई मात्रै महत्वपूर्ण जिम्मेवारीमा सिफारिस गर्दै जाने हो, अनि यस्तो अवस्थामा सुशासन कसरी कायम गर्न सकिन्छ ?

प्रश्न नः ५ ः के अब गुट भन्दा बाहिर गएर एमालेभित्र राजनीति गर्ने ढोका बन्द भएकै हो त ?

आफ्ना गुटले गरेका गलत कामहरुको समेत संरक्षण गर्नै पर्ने र अन्य गुट वा गुट भन्दा बाहिर बसेकालाई पत्तासाफ पार्ने पछिल्लो परिस्थिति सही हो त ? के गुटको नाममा अपराधीकरणलाई समेत संरक्षण गर्दा पार्टीलाई जनताको पार्टीको रुपमा स्थापित गर्न सकिन्छ ?

प्रश्न नः ६ ः नेताहरुको डबल स्ट्याण्डर्ड कहिलेसम्म ?

राजनीति गर्दा ठूलो धनरासी खर्च गर्नुपर्ने परिस्थिति रहेको र गलत कृयाकलाप र अभ्यासलाई निरुत्साहित गर्नुपर्नेमा व्यापारीहरु, धनाढ्यहरु र कतिपय अवस्थामा गैरकानूनी कृयाकलाप गर्ने देखि लिएर नीतिगत भ्रष्टाचारमा रेकर्ड कायम गर्ने र अपराधिक समूहको संरक्षण गर्ने प्रवृत्ति हावी बन्दै जाँदा सही अर्थमा कसरी सुशासन कायम गर्न सकिन्छ । खुलेर गुट चलाउने र यस्ता गतिविधिहरुमा आशा गरिएका यूवा नेताहरु समेत खुलेर लाग्नु के दुर्भाग्यपूर्ण हैन र ?

प्रश्न नः ७ ः के ईमान्दार कार्यकर्ताहरुको उचित मुल्यांकन भएको छ त ?

नेकपा एमालेमा इमान्दार कार्यकर्ताहरुको ठूलो संख्या छ भन्ने गरिन्छ । कुनै पनि पार्टीका महत्वपूर्ण जिम्मेवारी होस् वा नियुत्तिहरु नै किन नहुन्, के ईमान्दार पार्टीका कार्यकर्ताहरुलाई पार्टीले समेटेको छ त ? के एमाले भित्र राजनीति गर्न कुनै बलियो नेताको पुच्छर हुनै पर्ने हो त ?

प्रश्न नः ८ ः लाखौं यूवाहरु विदेशिन वाध्य छन् , खोई पार्टीको सशक्त भूमिका

अहिले लाखौं यूवाहरु विदेशमा रोजगारीको लागि जान वाध्य छन् । देशभित्र आम जनताहरुलाई बाँच्न समेत हम्मे हम्मे परिरहेको अवस्था छ । के देशको प्रमुख राजनीतिक दलको हैसियतमा पार्टीले यूवाहरुलाई देशभित्र नै अवसर दिनको लागि भूमिका निर्वाह गर्नुपर्दैन । आखिर कहिलेसम्म राष्ट्रियताको नाराले मात्रै धान्ने हो ?

प्रश्न नः ९ ः देशमा व्यापक भ्रष्टाचार बढेको छ, के भ्रष्टाचार न्यूनीकरणमा पार्टीले भूमिका निर्वाह गर्नु पर्दैन ?

संभवत पछिल्ला १०/१५ बर्षहरुमा व्यापक रुपमा भ्रष्टाचार बढेको छ । यस अवधिमा सबैभन्दा बढी नीतिगत भ्रष्टाचारहरु बढेको र सामान्य जनतालाई समाजमा न्याय हराउँदै गएको आभास हुन थालेको छ । महँगी, कालोबजारी व्यापक रुपमा बढेको छ । के यसमा पार्टी मौन बस्न मिल्छ ? अहिले सदनमा संविधान संशोधनको अभियान चालिरहँदा लोकमानसिंह कार्की विरुद्धको महाअभियोगको सन्दर्भ कहाँ पुगेको छ वा वार्गेनिङको रुपमा यस सन्दर्भलाई हेरिएको छ ।

प्रश्न नः १० ः गुट र उपगुटको चक्करले इमान्दार कार्यकर्ताहरुका आवाजहरु दवाईएका छन्, आखिर त्यो कहिलेसम्म ?

ईमान्दार कार्यकर्ताहरु जहिले पनि देश र जनताप्रति वफादार भएर काम गर्न चाहन्छन् र यसमा पार्टीले सही कार्यक्रम र दिशा निर्देश गर्ने हो । तर पछिल्लो समयमा पार्टी भित्रका महत्वपूर्ण सांगठनिक जिम्मेवारीहरुमा सिधै गुटले नेतृत्व निर्धारण गर्ने र कतिपय सन्दर्भमा पूर्वाग्रही ढंगबाट कार्यकर्ताका कुरै नसुन्ने प्रवृत्ति हावी भएको छ । के यो न्यायोचित छ त ?

नेपालको राजनीतिको पछिल्लो समय अत्यन्त गंभिर मोडबाट अगाडि बढेको देखिन्छ । नेकपा एमालेबाट करोडौं नेपालीहरुले आशा गरिराखेको वर्तमान परिस्थितिमा पार्टीको नेतृत्व पंक्तिले यस्ता कैयन प्रश्नहरुको जवाफ सहज ढंगबाट खोज्न सक्दा मात्रै देशव्यापी रुपमा संगठनलाई अझ मजवुद बनाउन सकिएला कि ?

कमसेकम नेकपा एमाले अहिले देशमा चलिरहेको लुटतन्त्रको हिमायती हैन सच्चा लोकतन्त्रको हिमायती हो भनेर अब सही अर्थमा पार्टीले जनता समक्ष अझ सशक्त ढंगले महसूस हुनेगरी जान सक्यो भने पक्कै पनि नेपाल र नेपाली जनताको सरकारको रुपमा नेकपा एमाले पुनः स्थापित हुन सक्नेछ । आशा गरौं पार्टी नेतृत्व पंक्तीले सुझावहरुलाई सहज ढंगबाट ग्रहण गर्नेछ ।

खिमानन्द कँडेल
बिहुँ , बागलुङ

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.