
नुवाकोट । विदुर नगरपालिका वडा नं ५, देवीघाटमा ‘जनप्रतिनिधिसँग विद्यार्थी’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।
विदुर नगरपालिका वडा नं ३, ५ तथा वडा नं १२ को बिरेन्द्र माध्यमिक विद्यालयका प्रतिनिधि विद्यार्थीहरूको सहभागितामा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूले नगर जनप्रतिनिधिहरूसमक्ष आफ्ना सुझाव, अपेक्षा तथा गुनासाहरू प्रस्तुत गरेका थिए ।
विद्यार्थीहरूले विद्यालयमा माध्यमिक तहका लागि दिवा खाजा कार्यक्रम आवश्यक रहेको, कम्प्युटर तथा विज्ञान प्रयोगशालाको अभाव रहेको, खेलमैदानलाई थप व्यवस्थित बनाउनुपर्ने माग तथा सुझाव राखेका थिए । साथै विद्यालय बस सेवाको विस्तार, हालको बस संख्या अपुग रहेको र विद्यार्थी संख्याअनुसार शिक्षक दरबन्दी अपर्याप्त रहेको विषयमा पनि गम्भीर ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रममा उठाइएका प्रश्न, जिज्ञासा तथा सुझावहरूलाई नगरप्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी, प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेल, सामाजिक विकास समितिका संयोजक तथा वडा नं १ का अध्यक्ष लेनिन रञ्जित, वडा नं ५ का अध्यक्ष लिलानाथ न्यौपाने र शिक्षा शाखा प्रमुख नमराज सापकोटाले सम्बोधन गर्दै आवश्यक विवरण संकलन गरिएको थियो ।

नगरप्रमुख श्रेष्ठले आगामी आर्थिक वर्षमा नगरभित्रका सम्पूर्ण सामुदायिक विद्यालयलाई अनुदान उपलब्ध गराइने जानकारी दिनुभयो । उहाँका अनुसार नीति तथा कार्यक्रममार्फत बजेट विनियोजन गरी विद्यालयको आवश्यकताका आधारमा शैक्षिक विकासका क्षेत्रमा खर्च गर्न सकिने व्यवस्था मिलाइनेछ ।

कार्यक्रममा शहीद जगतप्रकाशजंग शाह संस्कृत माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर डंगोल, प्रअ मञ्जु चित्रकार सहित विभिन्न विद्यालयका शिक्षक प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो ।
जनप्रनिधिहरुसंग विद्यार्थी कार्यक्रम नगरमा रहेका सबै विद्यालयका विद्यार्थीसंग गर्न लागिएको छ । बाँकी रहेका वडा र विद्यायलका विद्यार्थीलाई सहभागी गराई क्रमशः कार्यक्रम सञ्चालन गर्न लागिएको छ ।



26.12¡ÆC