
गणेश श्रेष्ठ
शिक्षक, नीलकण्ठ नमूना माध्यमिक विद्यालय, उत्तरगया–५, बोगटीटार, रसुवा
आज महाप्रलयको २१औँ दिन।
भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको अकल्पनीय बाढीले रसुवा र नुवाकोटका बस्तीहरू तहसनहस बनायो। घर बगे, परिवार विस्थापित भए, आफन्त बेपत्ता छन्। धेरैका सपना, सम्पत्ति र वर्षौँको मेहनत क्षणभरमै बगरमा परिणत भयो।
यही विपद्को पीडाबीच म पनि एउटा कठोर निर्णयमा पुगेँ। बाढीले बुबालाई बगायो, घरवारविहीन बनायो। आफ्नै गाउँठाउँमा यस्तो विपत्ति पर्दा पनि कोही कसैले वास्ता नगरेपछि मनभित्र अनेक प्रश्न उठे। जनप्रतिनिधिहरूले फोन गरेनन्, म्यासेज गरेनन्। तर आफ्नो गाउँ, ठाउँ, धर्म र संस्कृतिलाई सम्झेर म घर फर्किएँ।
भदौ १७ गते राति १ बजे नेपाल आइपुगेर सिधै बुबाको काजक्रियामा जुटेँ। भदौ २२ गते काजक्रिया सकेपछि भदौ २४ गते बाढीबाट बचेको एउटै बाइक लिएर श्रीमती जमुना र म रसुवातर्फ लाग्यौँ।
बिहान करिब ११ बजे नुवाकोट दरबारस्थित भान्जी आशिकाको घरमा खाना खायौँ। सोही क्रममा भान्जीले भदौ १० गतेको बाढीबाट भागेर आएका २८ परिवारका ११५ जना त्यहाँ आश्रय लिएर बसेको जानकारी दिनुभयो। खाना खाएलगत्तै म उक्त सेल्टरमा पुगेँ। केही बुझेर पुनः चोगते, बोरेभञ्ज्याङ, दनसुहारा, पाटीखर्क, पुङ्खोला, पार्च्याङ र भोर्ले हुँदै राति करिब ८ बजे नीलकण्ठ माध्यमिक विद्यालय पुगेँ।
यात्रा निकै कठिन थियो। पानी, पहिरो र बाटोको समस्याले शरीर थाकिसकेको थियो। पीडा र थकानका बीच बैनी सन्तोषी थापाको घरमा सामान्य खाना खायौँ र जनकको घरमा सुत्न गयौँ।
भोलिपल्ट बिहान ८ बजेदेखि विद्यालयमा उत्तरगया गाउँपालिकाका कर्मचारी र बाढीपीडितहरूको चहलपहल बढ्न थाल्यो। म प्रधानाध्यापक हेडसर लगायत शिक्षकहरूसँग कुराकानी गर्दै त्यहाँको अवस्था नियालिरहेको थिएँ। भदौ १० गतेदेखि २५ गतेसम्मको अवस्थालाई नजिकबाट हेर्दा स्थानीय सरकारको काम र पीडितहरूको वास्तविक अवस्थाबारे तितो यथार्थ बुझ्ने अवसर पाएँ।
सामान्य राहत र केही गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको उपस्थितिबीच पनि धेरै बाढीपीडितसम्म स्थानीय सरकार पुग्न नसकेको देखियो। कतिपय पीडितले काजक्रियाका लागि पाउनुपर्ने रकमसमेत नपाएको गुनासो सुनाए। पीडितहरूका समस्या, दुःख र अपेक्षा सुन्दा मन भारी भयो।
यो विपत्ति मेरो लागि नयाँ र पहिलो भने होइन। चार पटकसम्म विपद्को सामना गरेको छु। फ्रन्ट डेस्कमा बसेर धेरैपटक काम गरेको, धेरै कुरा देखेको र भोगेको छु। तर आजसम्म केही लेखिनँ, केही बोलिनँ। आफ्नै पालिका, आफ्नै गाउँठाउँ भनेर जेजस्तो अवस्थालाई पनि राम्रो भन्दै ढाकछोप गर्दै आएँ। यसपटक भने चुप लागेर बस्न सकिनँ।
बेत्रावती वारिपारिको आवागमन सहज बनाउने प्रयास
बेत्रावती वारिपारिका बासिन्दालाई सहज रूपमा आवतजावत गराउनुपर्छ भन्ने सोचले सबैसँग पहल गरेँ। फलाखु खोलामा काठ र बाँसको फट्के हाल्ने निर्णय भयो। गाउँपालिका, स्थानीय सरकार, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल स्काउट र स्थानीय गाउँलेहरू मिलेर फट्के निर्माणमा जुट्यौँ।
भदौ २८ गते करिब आधा काम सुरु गरेर म पुनः हराएका विद्यार्थी र अभिभावकको खोजी तथा विवरण सङ्कलन गर्न निस्किएँ। बिहान ११ बजे बाइकबाट सोही बाटो हुँदै नुवाकोट युवा क्लबको सेल्टरमा साँझ करिब ५ बजे पुगेँ। त्यहाँ वडाध्यक्ष मारसिंह तामाङ पनि हुनुहुँदो रहेछ। कुराकानी गरियो, पीडितका गुनासा सुनियो र विवरण सङ्कलन गरियो।
सोही क्रममा गाउँपालिकाका शिक्षा अधिकृत बोधराज सरले फोन गर्नुभयो। उहाँले भन्नुभयो, “तपाईं त्यतै जानुभएको रहेछ। सबै सेल्टरमा जानुस्, सङ्ख्या लिएर मलाई टिपाउनुहोस्।”
त्यो दिनको थकान, तनाव र भोकका बीच नुवाकोटमा दिदीको घरमा बास बसेँ। भोलिपल्ट बिहान सबेरै विदुर नगरपालिका–२ स्थित किरियापुत्री भवनको दोस्रो सेल्टरमा पुगेँ। त्यहाँ ३५ जना बस्नुभएको रहेछ।

उहाँहरूको बसाइ, सुत्ने ठाउँ र जनप्रतिनिधिहरूले फोन नगरेको, भेट्न नआएको गुनासो सुनेँ। उहाँहरूको अवस्था आफ्नै आँखाले देख्दा आँसु आयो। आखिर पीडितहरूलाई चाहिएको त साथ, सहयोग र आफ्नो सरकारको अनुभूति रहेछ।
त्यसपछि हामी बट्टारस्थित तामाङ प्लाजा सेल्टरमा पुग्यौँ। त्यहाँ १३५ जना बस्नुभएको रहेछ। धेरै विद्यार्थीहरू मलाई देखेर “अष्ट्रेलियाको चकलेट” भन्दै नजिक आए। कक्षा २ मा पढ्ने निमासिङ्गी तामाङसहित एक जना विद्यार्थीलाई लिएर म चकलेट किन्न विमार्ट पुगेँ। करिब ६ हजार रुपैयाँको डेरी मिल्क चकलेट ल्याएँ र श्रीमती जमुनालाई सबैलाई बाँड्न दिएँ।

बाढीले के भयो, कहाँ हुनुहुन्थ्यो, कसरी बाँच्नुभयो—यस्ता अनेक भलाकुसारी गरियो। तर धेरै विद्यार्थीहरू डर र त्रासका कारण होला, खुलेर बोल्न अगाडि आउन चाहेनन्। उनीहरूको अनुहारमा अझै पनि विपत्तिको त्रास देखिन्थ्यो।
सातवटा सेल्टरको विवरण सङ्कलन गरी बोधराज सरलाई टिपाएँ। त्यसपछि म साँझ काठमाडौं लागेँ। सबैजसो पीडितको गुनासो एउटै थियो—“गाउँपालिकाले वास्तै गरेन।”
मैले उहाँहरूलाई सम्झाएँ, “अब आफ्नो थातथलोमा फर्किनुपर्छ। गाउँपालिका र सरकारले अस्थायी तथा स्थायी रूपमा बास र राहतको व्यवस्था गर्ला। बालबालिकालाई पढाउन नीलकण्ठमा आवासीय छात्रावासको व्यवस्थापन गर्न सकिन्छ।”
आफूले जानेको र सक्ने कुरा सम्झाउँदै हिँडेँ। तर मनभित्र अनेक गुनासा र प्रश्नहरू बाँकी नै छन्।
भदौ १० गतेदेखि सुरु भएको पीडा
भदौ १० गते बाढीले सबै बगाएको खबर दिउँसो ११ बजे छोरी जुनाले रुँदै फोन गरेर सुनाइन्। नेपालबाट भाइ नवराज थापाकी छोरी मुनाले भनेको खबर रहेछ। त्यसबेला म विदेशमा समुद्र घुम्दै थिएँ।
तत्काल भाइ कान्छो दिललाई फोन र म्यासेज गरेँ। उहाँबाट आएको भ्वाइस म्यासेजले मुटु चिरियो—
“बुबालाई बचाउन सकिनँ। घरजग्गा, बुबा सबै बगायो।”
म चुपचाप घोरिरहेँ। मनमनै रोएँ। आँसु रोकिएन। म नेपाल स्काउटको सदस्य पनि हुँ। केही तत्काल खोज तथा उद्धार गर्नुपर्छ भन्ने लाग्यो। नेपाल स्काउटका चिनजान र नजिकका सबैलाई फोन तथा म्यासेज गरेँ।
“छिटोछिटो जानुस्। बेत्रावती बगायो, सबै खतम भयो। उद्धार र राहतका लागि सहयोग गरौँ,” भनेर अनुरोध गरेँ।
तर बाढीले बाटो नै नरहेको, त्यहाँ पुग्ने अवस्था नभएको जानकारी पाएँ। भदौ १० गतेदेखि दिनरात सुत्न सकिनँ। मन पोलिरह्यो। घर फर्किन हरेक प्रयास गरेँ, तर तत्काल सम्भव भएन।

अन्ततः भदौ १७ गते राति १ बजे नेपाल आइपुगेँ। जे सकेँ, जे जानेँ, गरेँ। अब केही दिन चुपचाप रहन्छु भन्ने सोचेँ। तर पीडितहरूको अवस्था, उहाँहरूको गुनासो र स्थानीय सरकारको भूमिकाले फेरि लेख्न बाध्य बनायो।
राहतमा पारदर्शिता र जवाफदेहिता खोइ?
विपद्को यो पीडाबीच राष्ट्रिय, अन्तर्राष्ट्रिय र स्थानीय गैरसरकारी संस्थाहरूको बाक्लो उपस्थिति पनि देखिन्छ।
प्रश्न संस्थाहरू आए कि आएनन् भन्ने होइन।

प्रश्न हो—आएर गरे के?
कुन संस्थाले कति रकम पायो?
कुन दाताबाट कति बजेट आयो?
कुन क्षेत्रमा कति खर्च भयो?
कति परिवारलाई राहत दिने लक्ष्य थियो र वास्तवमा कति परिवारले पाए?
लाभग्राही छनोटको मापदण्ड के थियो?
राहत पाउनेको नामावली सार्वजनिक किन हुँदैन?
एउटै परिवारले पटक–पटक राहत पाउँदा वास्तविक पीडित छुटेका छन् कि छैनन्?
खरिद प्रक्रिया कसरी भयो? सामानको मूल्य बजार मूल्यसँग मिल्छ कि मिल्दैन?
प्रशासनिक खर्चमा कति रकम गयो र पीडितसम्म कति पुग्यो?
स्थानीय तह, जिल्ला प्रशासन र संस्थाबीच समन्वय कहाँ छ?
अनुगमन कसले गरिरहेको छ?
र सबैभन्दा महत्वपूर्ण—खर्च भएको प्रत्येक रुपैयाँको सार्वजनिक हिसाब कसले दिने?

पीडितको आँसु देखाएर परियोजना बनाउने, बजेट ल्याउने र फोटो खिचेर उपलब्धि देखाउने प्रवृत्ति स्वीकार्य हुन सक्दैन।
बाढीपीडितलाई ‘डेटा’, ‘प्रोजेक्ट’ र ‘रिपोर्ट’ मात्र होइन—न्यायपूर्ण राहत, पुनर्स्थापना र सम्मान चाहिएको छ।
राहतमा पारदर्शिता चाहिन्छ।
बजेटमा हिसाब चाहिन्छ।
वितरणमा न्याय चाहिन्छ।
र संस्थाहरूमा जवाफदेहिता चाहिन्छ।
नत्र प्रश्न उठिरहनेछ—
बाढीले पीडितको घर मात्र बगायो कि राहतको नाममा आएको पैसा र मानवीयता पनि बग्यो?
अब फेरि म बचेकाहरूसँग छिट्टै भेट्न आउने छु।
— गणेश श्रेष्ठ
शिक्षक, नीलकण्ठ माध्यमिक विद्यालय, उत्तरगया–५, बोगटीटार, रसुवा
20.12¡ÆC