
काठमाडौँ, १८ भदौ २०८३। नेपाल–तिब्बत सीमावर्ती क्षेत्रमा हिमनदी ताल फुटेर आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि हेफर इन्टरनेसनल नेपाल र यसका कर्मचारीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड सहयोग गरेका छन्।
गत भदौ १० गते हिमाली क्षेत्रमा हिमनदी ताल फुटेपछि रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा भएको बाढीपहिरोबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। सयौँ परिवार विस्थापित हुनुका साथै घर, सडक, पुल तथा कृषि र पशुपालनमा आधारित जीविकोपार्जन प्रभावित भएको अवस्थामा उक्त सहयोग उपलब्ध गराइएको हो।
हेफर नेपालका अनुसार सहयोग रकम संस्थाको आपत्कालीन राहत कोष तथा कर्मचारीहरूले आफ्नो मासिक पारिश्रमिकबाट स्वेच्छिक रूपमा योगदान गरेको रकमबाट जुटाइएको हो। संस्थाले प्रभावित समुदायमा तत्काल खाद्यान्न, स्वास्थ्य उपचार, औषधि तथा आवश्यक सामग्री उपलब्ध गराउन स्थानीय सरकार र साझेदार संस्थासँग समन्वय गरी काम अघि बढाउने जनाएको छ।
हेफर इन्टरनेसनल नेपालका राष्ट्रिय निर्देशक डा. तिर्थराज रेग्मीले विपद्को कठिन घडीमा पीडित समुदायसँग एकजुट भएर उभिनु संस्थाको सामाजिक जिम्मेवारी भएको बताउँदै प्रभावित परिवारको पुनःस्थापनासम्म निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
हेफर नेपालले तत्कालीन राहतसँगै प्रभावित परिवारको कृषि, पशुपालन तथा घरेलु व्यवसाय पुनःस्थापना गरी दीर्घकालीन रूपमा जलवायु–उत्थानशील समुदाय निर्माणमा सहयोग गर्ने जनाएको छ।
हेफर इन्टरनेसनल नेपाल सन् १९९७ देखि नेपालमा ग्रामीण परिवारको खाद्य सुरक्षा, कृषि, पशुपालन तथा दिगो जीविकोपार्जनका क्षेत्रमा कार्यरत छ।
22.12¡ÆC