नुवाकोटको बाहुनबेँसी–खरानीटार सडकखण्डमा राति आवागमनमा रोक

नुवाकोट — लगातारको भारी वर्षाका कारण पहिरो, बाढी र गेग्रानले सडक अवरुद्ध भई जोखिमपूर्ण अवस्था सिर्जना भएपछि जिल्ला प्रशासन कार्यालय नुवाकोटले बाहुनबेँसीदेखि खरानीटारसम्मको सडकखण्डमा रातिको समयमा सवारी आवागमन बन्द गर्ने निर्णय गरेको छ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटले तादी गाउँपालिका, दुप्चेश्वर गाउँपालिका र पञ्चकन्या गाउँपालिकाका केही भाग जोड्ने मुख्य सडकमार्गमा जोखिम बढेको भन्दै २०८३ साउन २६ गतेदेखि अर्को सूचना जारी नभएसम्म राति ८ बजेदेखि बिहान ६ बजेसम्म सडकखण्डमा आवागमन पूर्ण रूपमा बन्द गर्ने जनाएको हो।

जिल्ला प्रशासन कार्यालय नुवाकोटका सहायक प्रजिअ कृष्णप्रसाद हुमागाईको अनुसार वर्षाका कारण अचानक पहिरो, बाढी तथा गेग्रान खस्ने जोखिम रहेकाले मानवीय क्षति न्यूनीकरण तथा सर्वसाधारणको सुरक्षालाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको हो।

उक्त समयमा एम्बुलेन्स, दमकल, सुरक्षा निकायका सवारीसाधनलगायत अत्यावश्यक सेवाका सवारीसाधनबाहेक अन्य सम्पूर्ण सार्वजनिक तथा निजी सवारीसाधनको आवतजावत बन्द गरिने प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

साथै, वर्षाको समयमा अत्यावश्यक काम नपरी घरबाहिर ननिस्कन तथा रातिको समयमा यात्रा नगर्न सर्वसाधारण, यातायात व्यवसायी तथा सरोकारवालालाई जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।

TOP