विदुर- १२का अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण

जेष्ठ ६, २०८३ मा प्रकाशित | 43 views


त्रिशूली । नुवाकोटको विदुर नगरपालिका वडा नं १२ का अपाङ्गता भएका व्यक्तिहरु र ज्येष्ठ नागरिकहरुलाई परिचयपत्र वितरण गरिएको छ ।

विदुर नगरपालिका, महिला तथा बालबालिका शाखासंगको सहकार्यमा उद्यमशील तथा सिप विकास अपाङ्ग संघको आयोजनामा समुदायमा आधारित पुनर्स्थापना कार्यक्रम अन्तर्गत अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकहरूका लागि आयोजित “परिचय पत्र वितरण शिविर” विदुर नगरपालिका वडा नं १२ को वडा कार्यालयमा मंगलबार सम्पन्न भएको हो ।

विदुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेल र योजना शाखा प्रमुख हरी प्याकुरेल मार्फत सेवा लिन आउनुभएका अपाङ्गता भएका व्यक्ति एक् जना र ज्येष्ठ नागरिक ६० जनालाई परिचयपत्र उपलब्ध गराइएको हो ।

अपाङ्गता भएका व्यक्तिहरुको लागी त्रिशूलि अस्पतालका मेडिकल अधिकृत डा.कैलाश विश्वकर्मा सहित सम्बन्धित सरोकारवालाहरुको सिफारिसमा र ज्येष्ठ नागरिकहरुको लागी आवश्यक कागजातको आधारमा परिचय पत्र वितरण गरिएको हो ।

विदुर नगरपालिकाको महिला तथा बालबालिका शाखाको कर्मचारीहरु र उद्यमशील तथा सिप विकास अपाङ्ग संघमा आबद्व पदाधिकारी एंव स्वंयमसेवकहरुबाट सेवाग्राहीहरुलाई आवश्यक सहजिकरण गर्नुभएको थियो ।

विदुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेलको अनुसार नगरपालिकाको आर्थिक सहयोगमा नगरभित्र दुई स्थानमा परिचयपत्र वितरणको लागी घुम्ती शिविर, अभिमुखिकरण कार्यक्रम, जिविकोपार्जनको लागी सामाग्री वितरणका कार्यक्रम गर्नको लागी उद्यमशील तथा सिप विकास अपाङ्ग संघलाई साझेदारी सस्थाँको रुपमा छनोट गरिएको छ । समुदायमा आधारित पुनर्स्थापना कार्यक्रम अन्तर्गत लक्षित वर्गलाई सेवाको लाभ लिन विदुर नगरपालिकाले अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web