पञ्चकन्याले घ्याङस्वारामा चिया खेती विस्तार मार्फत स्थानीयको आम्दानीको स्रोत बनाउने

पुस ९, २०८२ मा प्रकाशित
Published at पुस ९, २०८२

359 views

नुवाकोट । पञ्चकन्या गाउँपालिकाले स्थानीयस्तरमा रोजगारी सिर्जना, आयआर्जन वृद्धि तथा कृषिमा आत्मनिर्भरता हासिल गर्ने उद्देश्यसहित घ्याङस्वारा क्षेत्रमा चिया खेतीलाई प्राथमिकता दिदै आएको छ । गाउँपालिकाको प्रत्यक्ष पहल, नीति तथा प्राविधिक सहयोगमा सुरु गरिएको उक्त चिया खेतीलाई आगामी दिनमा स्थानीय बासिन्दाको आम्दानीको स्थायी स्रोतका रूपमा विकास गर्ने लक्ष्य लिइएको अध्यक्ष तेजबहादुर लामा (रमेश)ले जानकारी दिनुभयो ।

उहाँको अनुसार घ्याङस्वारा क्षेत्रको भौगोलिक बनावट, हावापानी तथा माटो चिया खेतीका लागि उपयुक्त रहेकाले यस क्षेत्रलाई केन्द्र बनाएर चिया खेती विस्तार गरिएको हो। यसलाई केवल कृषिमा सीमित नराखी रोजगारी, व्यावसायिक उत्पादन र बजारसँग जोडिने कृषि उद्यमको रूपमा विकास गर्ने दीर्घकालीन योजना तयार गरिएको छ ।

पञ्चकन्या गाउँपालिका रोजगार सेवा केन्द्रको आयोजनामा यही पुस ७ र ८ गते घ्याङस्वारा क्षेत्रमै २ दिने “चिया काटछाट तथा व्यवस्थापन तालिम कार्यक्रम” समेत सम्पन्न भएको छ । तालिम कार्यक्रम कक्षाभित्र सीमित नराखी प्रत्यक्ष चिया खेती भइरहेको फिल्डमै सञ्चालन गरिएकोले सहभागी कृषकहरूलाई व्यवहारिक र प्रयोगात्मक ज्ञान हासिल गर्न महत्वपूर्ण सहयोग पुगेको पुगेको छ ।

तालिममा चिया तथा कफि विकास कार्यालय रानीपौवा, नुवाकोटका निमित्त कार्यालय प्रमुख एकराज सञ्जलले कार्यालयबाट उपलब्ध गराउन सक्ने प्राविधिक सहयोग र आगामी कार्यक्रमहरूलाई अझ सशक्त बनाई पञ्चकन्या गाउँपालिकामा लगाइएको चियालाई प्रभावकारी बनाउन सहयोग हुने प्रतिबद्धता जनाउनुभयो । तालिमहरूले कृषकलाई सीप र आत्मविश्वास दिनुका साथै स्थानीयस्तरमा दिगो विकासको आधार तयार हुने उहाँको भनाई छ ।

तालिममा रोजगार सेवा केन्द्रका रोजगार संयोजक सरोजकुमार खातीले कार्यक्रम सञ्चालन गर्दै सहभागी कृषकहरूलाई चिया काटछाट, बोट व्यवस्थापन, उत्पादन वृद्धि, रोग–कीरा नियन्त्रण र दिगो चिया खेतीसम्बन्धी व्यवहारिक प्रशिक्षण प्रदान गर्नुभयो। सहभागी कृषकले तालिमलाई अत्यन्त उपयोगी, व्यावहारिक र उत्पादनमुखी रहेको प्रतिक्रिया दिएका छन्।

कार्यक्रममा पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ, उपाध्यक्ष बिमला के.सी, प्रमुख प्रशासकीय अधिकृत हिराधन राई, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, शाखा प्रमुख तथा कर्मचारीहरू, चिया तथा कफि विकास कार्यालयका प्रतिनिधिहरू र स्थानीय कृषकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको अवसरमा पञ्चकन्या गाउँपालिकामा पहिलो पटक चियाको बिरुवा भित्र्याई चिया खेतीको सुरुवात गर्ने अग्रणी कृषक कृष्णबहादुर तामाङलाई सम्मान गरिएको थियो। पहिलो पटक चिया लगाउन सुरु गर्ने किसानलाई गरिएको सम्मानबाट स्थानीय कृषकहरूलाई चिया खेतीमा सक्रियतापूर्वक लाग्ने प्रोत्साहन पुगेको छ ।

गाउँपालिकाका अनुसार चिया खेतीलाई चरणबद्ध रूपमा विस्तार गर्दै स्थानीय कृषकलाई समूह, सहकारी तथा उद्यमसँग जोडेर उत्पादन वृद्धि, प्रशोधन र बजार व्यवस्थापनसम्मको संरचना विकास गर्ने योजना रहेको छ। यस मार्फत रोजगारी सिर्जना भई युवाहरूलाई वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।

पञ्चकन्या गाउँपालिकाले आगामी दिनमा चिया खेतीसँगै तालिम, प्राविधिक सहयोग, अनुदान तथा बजार पहुँच विस्तारमा जोड दिने जनाएको छ। यस प्रकारका फिल्ड–आधारित कार्यक्रमहरूले घ्याङस्वारा क्षेत्रलाई चिया उत्पादनको सम्भावनायुक्त क्षेत्रका रूपमा विकास गर्दै पालिकाको आर्थिक गतिविधि मजबुत बनाउने लक्ष्य राखिएको छ।

गाउँपालिकाले कृषि क्षेत्रलाई दीर्घकालीन विकासको आधार मानेर अघि बढिरहेको र चिया खेतीलाई स्थानीय जनताको आम्दानीको भरपर्दो स्रोत बनाउने दिशामा काम गरिरहेको जनाएको छ।

पछिल्लो तीन वर्षको अवधिमा पञ्चकन्या गाउँपालिकाले घ्याङस्वाराक्षेत्रमा कृषिमा व्यावसायिक बनाउने विभिन्न तालिम, प्राविधिक सहयोग र बिरुवा वितरण कार्यक्रम गर्दै आएका छन्। यस वर्षको तालिमसँगै फिल्डमा वास्तविक अनुभव प्राप्त हुने गरी कार्यक्रम सञ्चालन हुनुले स्थानीय कृषकलाई थप आत्मविश्वास र दिगो आयको स्रोत निर्माण गर्ने बाटो खोल्ने विश्वास लिइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

©2025 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web