नेशनल लघुवित्त वित्तीय सँस्था-किस्पाङको केन्द्र प्रमुख गोष्ठि र वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

पुस ३, २०८२ मा प्रकाशित
Published at पुस ३, २०८२

370 views

नुवाकोट । नेशनल लघुवित्त वित्तीय सँस्था लि.को किस्पाङ, नुवाकोटको केन्द्र प्रमुख गोष्ठि र वित्तीय साक्षरता कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।
नेशनल लघुवित्त वित्तीय सँस्थाको केन्द्रीय कार्यालयका सञ्चालन विभागमा कार्यरत बरिष्ठ अधिकृत मदन रिजालको सभापतित्व एंव किस्पाङ गाउँपालिकाको उपाध्यक्ष अर्जुनप्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा विभिन्न गतिविधि सहित केन्द्र प्रमुख गोष्ठि र वित्तीय साक्षरता कार्यक्रम गरिएको हो ।

कार्यक्रममा किस्पाङ गाउँपालिका उपाध्यक्ष न्यौपानेले नेशनल लघुवित्त सहित बैंक तथा वित्तीय सँस्थाहरुको आवागमनले गाँउगाँउमा उद्यमी र व्यावसाय सञ्चालन गरेर आर्थिक उपार्जनको लागी आत्मनिर्भर बनाउनलाई सहज हुदै आएको बताउनुभएको छ ।

विगतका समयमा ऋण पाउन हुने असहज, चर्को ब्याजदर, अपारदर्शितालाई समाधान गर्दै बित्तीय सँस्थाको आवागमनले गाँउघरमा व्यावसाय सञ्चालन गरेर महिलालाई उद्यमी बनाउनलाई ठूलो योगदान पुराएको उहाँले बताउनुभयो ।

वित्तीय सँस्थाबाट रकम लिएर जुन उद्देष्य हो सोही अनुसार सही ठाँउमा लगानी गर्न, तिर्नुपर्ने सावाँ–व्याज समयमै बुझाउन उहाँले आग्रह गर्नुभयो । बैंक र वित्तीय सँस्थाबाट लिएको ऋण रकम मिनाहा हुन्छ भन्ने भ्रममा नपर्न आग्रह गर्दै हल्लाको पछि नलागी सँस्थागत इमान्दारिता पूरा गर्न सँस्थाका सदस्यहरुलाई उहाँले सुझाब दिनुभयो ।

कार्यक्रममा बरिष्ठ अधिकृत मदन रिजालले नेशनल लघुवित्त वित्तीय सँस्थाको संरचना, प्रगति विवरण, नीति, लघुवित्त प्रणाली सहित सञ्चालन प्रक्रियाका सम्बन्धमा स्पष्ट पार्नुभएको छ । बरिष्ठ अधिकृत रिजालले पछिल्ला समयमा बैंक तथा वित्तीय सँस्थाबाट लिएको ऋण रकम मिनाहा हुन्छ भन्ने भ्रम फैलाउनेहरु सक्रिय रहेकाले त्यो सम्भव नभएको भन्दै त्यस्ता भ्रममा नपर्न अनुरोध गर्नुभयो ।

“बैंक तथा वित्तीय सँस्थाको रकम समूहका सदस्य तथा सर्वसाधारण नागरिकको बचतको रकम भएकाले ऋण मिनाहा हुन्छ भन्ने भ्रममा पर्नुुहुन्न ।” उहाँले भन्नुभयो “ऋण मिनाहा हुन्छ भनेर भ्रम फैलाउनेलाई सदस्यहरुले केका आधार ऋण मिनाहा हुने भनेर सदस्यहरुले प्रश्न गर्नुपर्छ, नहुने हल्लाको पछि लाग्नु हुदैन ।”

बैंक तथा बित्तीय सँस्थाबाट लिएको ऋण मिनाहाको आधार नभएको र त्यस्तो भ्रममा परेर ब्याजसावाँ रकम नतिर्दा आगामी दिनमा थप समस्या हुन्छ उहाँले स्पष्ट पार्नुभयो । बैंक तथा वित्तीय सस्थाबाट ऋण नपाउने, कालो सूचीमा परिने र त्यसपश्चात सरकारी सेवा लिन, कारोबार गर्न, विदेस जान पनि नपाइने हुदाँ ब्याज र सावा तिर्दै थप रकम लिएर व्यावसाय गरेर आर्थिक रुपमा समृद्धतर्फ लाग्न उहाँले सुझाब दिनुभयो ।

यस्तै, कार्यक्रममा अनुगमन कार्यालय बनेपाको अनुमगन अधिकृत रामचन्द्र लोहनीले नेशनल लघुवित्तले प्रत्येक शाखा कार्यालय मार्फत आबद्ध सदस्य एंव सेवा क्षेत्रका सरोकारवालाहरुसंग वित्तीय साक्षरता जगाउन अन्तरक्रिया सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । बित्तीय साक्षरता मार्फत सदस्यहरुमा आर्थिक अनुशासन, उनीहरुमा बचत गर्ने बानीको विकास, र व्यावसाय सञ्चालन एंव उद्यमशीलता विकासका सम्बन्धमा सजग गराई आर्थिक सुधार र सशक्तिकरणमा सहयोग पुगेको अनुमगन अधिकृत लोहनीको भनाई छ ।

लघुवित्त सँस्था मार्फत किस्पाङको साल्मे, भाल्चे जस्ता ग्रामीण क्षेत्रका महिलालाई समूहमा आबद्ध गराई उद्यमी, व्यावसायी गर्न सहुलियत शुल्कमा ऋण उपलब्ध गराई उनीहरुलाई आत्मनिर्भर बनाउन सक्षम बनाउन सफल हुदै आएको स्पष्ट पार्नुभयो । समूहमा आबद्ध सदस्यहरुसँगको विश्वास, पारदर्शिता र सेवाको गुणस्तर नै सँस्थाको सफलताको रुपमा लिइएको अनुमगन अधिकृत रामचन्द्र लोहनीको भनाई छ ।

कार्यक्रममा किस्पाङ शाखाको प्रमुख विष्णुमाया श्रेष्ठले केन्द्र प्रमुखहरू मार्फत संस्थाको सेवा प्रवाह अझ प्रभावकारी बनाउने र सदस्यहरूमा वित्तीय अनुशासन, बचत, ऋण व्यवस्थापन लगायतका विषयमा जानकारी विस्तार गर्ने उद्देश्यले वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको स्पष्ट पार्नुभयो । यस्तै, राम्रो काम गरेको केन्द्र र सदस्यलाई सम्मान गरेर थप उत्साह र जिम्मेवारी दिन प्रयास कार्यक्रम मार्फत गरिएको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा किस्पाङ गाउँपालिकाको निवर्तमान उपाध्यक्ष तथा समूह अध्यक्ष मायादेवी न्यौपाने, प्रहरी चौकी फिकुरीका इञ्चार्ज रेशम प्रजा, सहित सँस्थाको विभिन्न केन्द्रको प्रमुख एंव सदस्यहरुको सहभागिता रहेको थियो ।

यस्तै, उत्कृष्ट समूहतर्फ टासीँगोम्बो महिला समूह, तुप्चे महिला समूह र घलेटोल महिला समूहलाई सम्मान गरिएको छ । यस्तै, उत्कृष्ट सदस्यतर्फ रावनमाया तामाङ र प्रितीमाया तामाङ तथा उत्कृष्ट व्यावसायीतर्फ मंगली तामाङलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

©2025 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web