बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत् मर्मतपछि आंशिक सञ्चालनमा

मंसिर २१, २०८२ मा प्रकाशित | 175 views


काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा निर्माण भएको रसुवागढी जलविद्युत आयोजना आंशिक सञ्चालनमा आएको छ । गएको असार २४ गते बिहान चीनको तिब्बतबाट बग्ने ल्येन्दे खोलामा हिमताल विष्फोटनबाट आएको बाढीले आयोजनाको बाँधलगायतका संरचना (हेडवर्क्स) मा ठूलो क्षति पुर्‍याएको थियो ।

हेडवर्क्सकाे मर्मतपछि अस्थायी रूपमा नदीबाट पानी पथान्तरण (डाइभर्सन)गरी विद्युतगृहमा रहेका तीनवटा युनिटमध्ये एउटा युनिट हिजोदेखि सञ्चालनमा ल्याइएको हो । १ सय ११ मेगावाट जडित क्षमताको आयोजनाको एउटा युनिटबाट ३७ मेगावाट विद्युत् उत्पादन हुन्छ ।

बाँकी दुईवटा युनिट एक महिनाभित्र सञ्चालनमा ल्याउने र हेडवर्क्स क्षेत्रको बाँकी मर्मत कार्य आउँदो वर्षा अगाडि नै सम्पन्न गर्ने गरी पुनर्निर्माणको काम भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले बताउनुभयो ।

कार्यकारी निर्देशक सिलवालले प्राधिकरण, चिलिमे र रसुवागढी हाइड्रोपावर कम्पनीका पदाधिकारी तथा कर्मचारीको अथक प्रयास र मेहनतबाट क्षति पुर्‍याएका संरचनाको मर्मत गरी आयोजना सञ्चालनमा ल्याउन सफल भएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘आयोजनाबाट विद्युत् उत्पादन शुरु भएपछि हिउँदयामको विद्युत् माग व्यवस्थापन गर्न केही सहज हुनेछ ।’ बाढीले आयोजनाको हेडवर्क्स क्षेत्रमा पानीसँग बगेर आउने काठ, झार, बोटबिरुवाजस्ता वस्तु रोक्ने मेसिन, गेटलगायतका उपकरण बगाएको थियो ।

हेडवक्र्स नियन्त्रणलगायतका भवनमा दुई मिटरभन्दा बढी लेदो थुप्रिएको थियो । हेडवर्क्समा ठूल्ठूला ढुङ्गा आएका थिए र पानीलाई सुरुङतर्फ पठाउन बनाएका संरचना भत्किएका थिए । साथै, विद्युत् उत्पादनपछि नदीलाई पानी पढाउन प्रयोग हुने टेलरेसबाट पानी बसेर टर्वाइन रहेको तला पूर्ण रूपमा डुबेको थियो ।

जलविद्युत् आयोजनामा कार्यरत २२ जना कर्मचारीहरुलाई हेडवर्क्स क्षेत्र र आवास क्षेत्रबाट सेनाको हेलिकोप्टरबाट उद्दार गरिएको थियो । कर्मचारी आवास क्षेत्र पूर्ण रूपमा बगाएको थियो । बाढीका कारण आयोजनालाई मात्र नभई स्याफ्रुबेंसीबाट आयोजना स्थलसम्म जाने मुख्य राजमार्ग पहिरोबाट विभिन्न ठाउँमा अवरोध भएको थियो ।

आयोजनाबाट अघिल्लो वर्षको पुस १६ देखि व्यवसायिक रूपमा विद्युत् उत्पादन शुरु भएको थियो । तर, असारमा आएको बाढीले क्षति पुर्‍याएपछि आयोजनाबाट विद्युत उत्पादन बन्द थियो । आयोजना पूर्ण रूपमा सञ्चालनमा आएपछि वार्षिक रूपमा ६१ करोड ३८ लाख ७५ हजार युनिट विद्युत् उत्पादन हुनेछ । यो विद्युत् बिक्रीबाट कम्पनीलाई वार्षिक तीन अर्ब २५ करोड रुपैयाँ आम्दानी हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web