
ललितपुर, १३ मङ्सिर । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले रसुवा–भोटेकोशी बाढीबाट प्रभावित ललितपुरको भट्टेडाँडा क्षेत्रका आफ्ना सदस्यलाई नगद राहत वितरण गरेको छ। विपद्बाट प्रभावित सदस्यहरूको वास्तविक अवस्था बुझ्न स्थलगत अवलोकन गरी संस्थाले क्षतिको अवस्थाका आधारमा आर्थिक सहयोग उपलब्ध गराएको हो।
संस्थाका मानव संसाधन (एचआर) विभाग प्रमुख विजयकुमार घिमिरेले प्रभावित सदस्यहरूलाई राहत रकम हस्तान्तरण गर्नुभएको थियो। संस्थाले बाढीका कारण परिवारको सदस्य गुमाउनुका साथै घरबारविहीन भएका सदस्यलाई रु. २५ हजार, घरबारविहीन भएका सदस्यलाई रु. २० हजार तथा घरबासमा क्षति पुगेका सदस्यलाई रु. पाँच हजारका दरले नगद राहत उपलब्ध गराएको जनाएको छ।
विपद्का कारण घरपरिवार र जीविकोपार्जनको आधार गुमाएका सदस्यलाई तत्काल आर्थिक राहत उपलब्ध गराउनुका साथै उनीहरूको आर्थिक अवस्था पुनःस्थापित गर्न संस्थाले थप सहजीकरण गर्ने प्रतिबद्धता जनाएको छ। प्रभावित सदस्यहरूलाई तत्काल कर्जाको किस्ता भुक्तानी गर्न दबाब नदिने र क्षति पुगेका व्यवसाय पुनःसञ्चालनका लागि आवश्यक सहयोग गर्ने संस्थाको भनाइ छ।
राहत वितरण कार्यक्रममा संस्थाका कर्जा विभाग प्रमुख भोजराज फुयाल, सूचना प्रविधि (आईटी) विभाग प्रमुख सन्तोष पाण्डे, सञ्चालन विभागका निराजन श्रेष्ठ, अनुगमन अधिकृत रामचन्द्र लोहनी तथा भट्टेडाँडा शाखा प्रमुखलगायतको सहभागिता रहेको थियो।
नेशनल लघुवित्तले यसअघि पनि बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनरुत्थान कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल सरकारलाई रु. ७० लाख आर्थिक सहयोग उपलब्ध गराएको थियो। त्यसैगरी बाढीबाट बढी प्रभावित रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका आफ्ना सदस्यलाई समेत नगद राहत वितरण गरेको संस्थाले जनाएको छ।
विपद्का बेला प्रभावित सदस्यलाई तत्काल आर्थिक सहयोग उपलब्ध गराउनुका साथै कर्जा भुक्तानीमा सहजीकरण र व्यवसाय पुनःसञ्चालनमा सहयोग गर्ने संस्थाको नीतिले प्रभावित परिवारको आर्थिक पुनःस्थापनामा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
19.12¡ÆC