नुवाकोट । तारकेश्वर गाउँपालिका–५, गोर्स्याङ मानेडाँडास्थित श्री नील सरस्वती आधारभूत विद्यालयमा सोमबार आयोजित ‘गाउँपालिका अध्यक्षसँग बा–आमा तथा छोराछोरी कार्यक्रम’मा सहभागी भएका तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारी ‘अविरल’ले विद्यालयका लागि जम्मा रु. २ लाख सहयोगको घोषणा गर्नुभएको छ।

अध्यक्ष अधिकारीले विद्यालयको शैक्षिक सुधारका लागि रु. १ लाख र विद्यार्थीहरूलाई ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको अवलोकन गराउने शैक्षिक भ्रमणका लागि थप रु. १ लाख उपलब्ध गराइने बताउनुभयो।

विद्यालयमा जातीय पहिचानसहितको मौलिक पोशाक, ‘बुक फ्री डे’ तथा शैक्षिक क्रियाकलाप सन्तोषजनक देखिएको उल्लेख गर्दै अध्यक्ष अधिकारीले विद्यालय, शिक्षक र अभिभावकबीचको राम्रो समन्वयले मात्र विद्यालयको उन्नति सम्भव हुने जोड दिनुभयो। अभिभावकहरूले बालबालिकाको सिकाइ र विद्यालयका गतिविधिमा निरन्तर चासो राख्नुपर्ने उहाँको भनाई छ ।

परम्परागत शिक्षण पद्धतिमा मात्रै निर्भर नभई प्रविधिमैत्री शिक्षामा जोड दिनुपर्ने उल्लेख गर्दै उहाँले गाउँपालिकाले सूचना–प्रविधि तालिम, कम्प्युटर, प्रिन्टरलगायत सामग्री उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो।

बदलिँदो समय र प्रविधिलाई आत्मसात् गर्दै शिक्षकहरूले निरन्तर सिक्ने, सिकेका कुरालाई व्यवहारमा उतार्ने तथा आफूलाई निरन्तर अपडेट गर्दै जानुपर्ने सुझाव पनि अध्यक्ष अधिकारीले राख्नुभयो।

16.17C