
नुवाकोट । तारकेश्वर गाँउपालिका वडा नं ४ मा रहेको सरस्वती आधारभूत विद्यालयमा आइसिटी प्रविधि हस्तान्तरण सहित फन पार्क निर्माण गरिएको छ ।
शुक्रबार आयोजित विद्यालयको ६६औं वार्षिकोत्सव कार्यक्रममा गाँउपालिका अध्यक्ष शिव अधिकारी ‘अबिरल’ले विद्यालयतहमा नै कम्युटर सहितको प्रविधिमैत्री शिक्षा प्रदानका लागी आईसिटी प्रविधि हन्तान्तरण गर्नुभएको हो । विद्यालयको लागी तारकेश्वर गाँउपालिकाको तर्फबाट अध्यक्ष अधिकारीबाट आइसिटी प्रविधिको लागी चाहिने ६ लाख ५० हजार रुपैयाँको आवश्यक सामाग्रिहरु विद्यालयलाई उपलब्ध गराएसगैँ आधारभूत तहमा अध्ययनरत विद्यार्थीहरु प्राविधियुक्त अध्ययनमा जोडिन सहयोग पुगेको छ ।
विद्यालयको बार्षिकोत्सवको अवसरमा तारकेश्वरमा शिक्षाको विकास गर्दै विद्यार्थी, अभिभावकसंग प्रत्यक्ष साक्षत्कारको लागी सञ्चालन हुदैँ आएको ‘गाउँपालिका अध्यक्षसँग बाआमा तथा छोराछोरी कार्यक्रम’पनि एकसाथ सञ्चालन गरिएको छ । उक्त अवसरमा अध्यक्ष अधिकारीले शिक्षाको विकासको लागी आधुनिक एंव प्रविधिमैत्री शिक्षा, व्यावसायिक सिप, सस्कृति–सँस्कार, परम्परा, भेषाभूषा सहितको रहनसहनलाई पालिकाले अवलम्वन गर्दै आएको जानकारी दिनुभयो ।
उहाँले उक्त विद्यालयमा स्थापना गरिएको फन पार्कको उद्घाटन गर्दै विद्यार्थीलाई शिक्षा प्रदानमा मनोरञ्जन सहितको वातावरण आवश्यक पर्ने भएकाले गाँउपालिकाले सोही अनुसारको पूर्वाधार निर्माणमा प्राथमिकता दिदै आएको स्पष्ट पार्नुभयो ।
फन पार्कले बालबालिकाको सर्वागीण विकास र तन्दुरुस्तीमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्दै अध्यक्ष अधिकारीले पार्कको सही रुपमा उपयोग गरेर बालबालिकाले अधिकतम लाभ लिन सक्ने वातावरण बनाउन विद्यालय र अभिभावकवर्गलाई आग्रह गर्नुभयो ।
“तारकेश्वर गाँउपालिकामा रहेका विद्यालयहरु मध्ये सरस्वती आविमा स्थापना गरिएको फनपार्क पहिलो हो ।” उहाँले भन्नुभयो “पालिकाको श्रोत र विभिन्न निकायसंगको सहकार्यमा क्रमशः अन्य विद्यालयमा पनि विस्तार गर्दै लैजाने योजना पालिकाले लिएको छ ”
अध्यक्ष अधिकारीबाट विद्यालयको लागी आवश्यक एकथान साउन्ड सिस्टम उक्त अवसरमा प्रदान गर्नुभएको छ । उक्त साउण्ड सिस्टमले विद्यालयमा कार्यक्रमहरु सञ्चालन गर्दा तथा विद्यार्थीलाई साँस्कृतिक कार्यक्रम सञ्चालनको लागी सहजता सहित उनीहरुको क्षमता बृद्धिमा सहयोग पुग्ने विश्वास अध्यक्ष अधिकारीले लिनुभएको छ ।
विद्यालयको पूर्वाधार निर्माणमा गाँउपालिकाको तर्फबाट आवश्यक सहयोग हुदैँ आइरहेको स्मरण गराउदै अध्यक्ष अधिकारीले विगतमा आफूले जनाएको प्रतिबद्धता अनुसार विद्यालय सुरक्षाको लागी घेराबार निर्माण सम्पन्न गरिएको बताउनुभयो ।
विद्यालयको भौतिक आवश्यकता पूरा गर्न आफ्नो श्रोत अनुसार गाउँपालिकाले कुनै कमी नगरेको भन्दै विद्यालयको शैक्षिक गुणस्तर बृद्धिका लागी अभिभावक, शिक्षक र विद्यार्थीले आ–आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने उहाँको भनाई छ ।
विद्यालयसंग सम्बन्धि कुनै कमी–कमजोरी तथा गुनासो भए गाउँपालिकामा खबर गर्न अभिभावकलाई अनुरोध गर्नुभयो । त्यसका लागी विद्यालय सञ्चालनको अबस्थाका सम्बन्धमा आफूले नियमित रुपमा निगरानी, अनुगमन एंव अवलोकन गर्दै आएकाले अभिभावकबाट पनि सोही अनुसार सहयोग गर्न उहाँले आग्रह गर्नुभयो ।
बालबालिकाको शैक्षिक विकासका लागि स्थानीय सरकारको रुपमा गाँउपालिकाले आवश्यक सहयोग, समन्वय र आवश्यकता अनुसारको पहिचानको साथ शिक्षा प्रदान गर्दै आइरहेकाले विद्यालय र अभिभावक दुवैको थप योगदान भएमा शिक्षाको गुणस्तर बृद्धि र दक्ष विद्यार्थी उत्पादन गर्ने लक्ष्य पूरा गर्न सकिने उहाँले विस्वास व्यक्त गर्नुभयो ।
21.12C