विदुरमा प्लास्टिकजन्य फूलमाला बिक्री–वितरणमा पूर्ण प्रतिबन्ध

अशोज २८, २०८२ मा प्रकाशित | 282 views

विदुरमा प्लास्टिकजन्य फूलमाला बिक्री–वितरणमा पूर्ण प्रतिबन्ध

नुवाकोट । विदुर नगरपालिकाले नगर क्षेत्रभित्र प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री, वितरण तथा भण्डारणमा पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ।

नेपाल सरकारको वन तथा वातावरण मन्त्रालय अन्तर्गत वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ को उपदफा (६) बमोजिम नेपालभर प्लास्टिकजन्य फूलपातको प्रयोग, उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न निषेध गरिएको सूचना नेपाल राजपत्रमा प्रकाशित भएकाले सोही अनुसार विदुर नगरपालिकाले नगरभित्र प्लास्टिकजन्य फूलमालाको कारोबारमा रोक लगाइएको उल्लेख छ । विदुर नगरपालिकाले सूचना जारी गर्दै नगरवासी र व्यवसायीहरूलाई उक्त निर्णयको पूर्ण पालना गर्न आग्रह गरेको हो।

नगरपालिकाका प्रमुख प्रशासनिक अधिकृत सुभाकर पौडेलद्वारा हस्ताक्षरित सूचनामा “उक्त सूचनाको पालना नगरी प्लास्टिकजन्य फूलमालाको प्रयोग, बिक्री वा भण्डारण गर्ने व्यक्तिहरूमाथि प्रचलित कानुन बमोजिम कारबाही हुनेछ।” भनिएको छ ।

नगरपालिकाले वातावरणीय सरसफाइ र प्रदूषण नियन्त्रणका दृष्टिले सबै नगरवासीलाई यस अभियानमा सहयोग गर्न पनि अनुरोध गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web