मनाङको प्रदेशसभा–२ को उपनिर्वाचन स्थगन

अशोज २०, २०८२ मा प्रकाशित | 232 views


काठमाडौँ । निर्वाचन आयोगले आगामी कात्तिक १७ गतेका लागि तोकिएको मनाङ जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा निर्वाचन क्षेत्र नं २ को उपनिर्वाचनका सम्पूर्ण कार्यक्रम स्थगन गरेको छ ।

आयोगले यही असोज १९ गतेको निर्णयअनुसार पूर्वप्रकाशित निर्वाचन कार्यक्रमबमोजिमका सम्पूर्ण कार्य हाललाई स्थगन गरिएको जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

निर्वाचन आयोग ऐन, २०७३ तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ बमोजिम कात्तिक १७ का लागि तोकिएको उपनिर्वाचन गत भदौ २३ गतेदेखि भएको आन्दोलनका कारण स्थानीय प्रशासनबाट ‘कफ्र्यू’ आदेश जारी भई पूर्वनिर्धारित निर्वाचन कार्यतालिकाबमोजिमका कार्यक्रम कार्यान्वयनमा समेत असर परेकाले अर्को निर्वाचन कार्यक्रमपछि प्रकाशन गर्नेगरी स्थगन गरिएको विज्ञप्तिमा जनाइएको छ ।

आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितका आयुक्तले आइतबार नेपाल सरकारका अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हालगायतसँग प्रतिनिधिसभाको आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनको तयारीका विषयमा छलफल गर्नुभएको थियो ।

छलफलमा आयोगले आफ्नो तयारी र कामकारबाहीबारे अवगत गराएको थियो भने सरकारका तर्फबाट निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र मितव्ययी रूपमा सम्पन्न गर्ने विषयमा आवश्यक पर्ने स्रोतसाधन, शान्तिसुरक्षाको भरपर्दो व्यवस्थासहितको सहयोग उपलब्ध हुने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web