राजनीतिक स्थायित्वको लागी ‘बैज्ञानिक समाजवाद’ अपरिहार्य

अशोज १२, २०८२ मा प्रकाशित
Published at अशोज १२, २०८२

1336 views

नुवाकोट । नुवाकोटमा आयोजित एक अन्तरक्रियामा सहभागीहरुले देशको अबको निकास बैज्ञानिक समाजवाद भएको बताएका छन् । नेपाल कम्युनिष्ट पाटी नुवाकोटले बट्टारमा शनिबार आयोजना गरेको अन्तरक्रियामा बोल्ने बक्ताहरुले अहिलेको विषम परिस्थिती आउनु र यसको समाधानको लागी एकमात्र विकल्प बैज्ञानिक समाजवाद भएको बताएका छन् ।

जेनजी पुस्ताको बिद्रोह, नयाँ परिस्थिती र निकास विषयक अन्तरक्रियाका प्रमुख अतिथी नेकपाका केन्द्रीय सदस्य चिरञ्जिजी ढकालले आफ्नो पाटीले विगतदेखि नै उठाउदै आएको मुद्धानै अहिलेको निकासको एकमात्र विकल्प भएको बताउनुभयो । संसदीय खेल राजनीतिको नाममा फोहोरी अभ्यास रहेको जिकिर गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख सहित बैज्ञानिक समाजवाद नै देशको निकासको आधार भएको उहाँको भनाई छ ।

यस्तै, नेपाली काँग्रेस नेता धु्रव अधिकारीले अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको रगत र पसिनाको उपज भएकाले यसलाई नै सुधार गर्दै अघि बढ्नुपर्ने बताउनुभयो । व्यबस्था खराब होइन कि शासन गर्नेहरु खराब भएर जनतामा नैराश्यता भएको भन्दै नेता अधिकारीले दलीय प्रणालीको बिकल्प छैन तर, दल सञ्चालनमा प्रतिनिधिहरुले जनताको भावनाको कदर गर्नसक्नुपर्नेमा जोड दिनुभयो ।

यस्तै, नेकपा माओवादी केन्द्रका नेता तथा विदुर–५ का वडाध्यक्ष लिलानाथ न्यौपानेले गणतन्त्र आफैमा उत्कृष्ट शासन व्यावस्था भएपनि यसको राम्रो पक्षभन्दा पनि नराम्रो पक्षमा भइरहेको गतिविधिले गणतन्त्र धरापमा पार्न खोजिएको भन्दै सचेत नेपालीले यसमा चनाखो हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेकपाको केन्द्रीय सदस्य एंव नुवाकोट इञ्चार्ज महेन्द्र तामाङले जेनजी पुस्ताको आन्दोलनमा जनताको साथ र उनीहरुले उठाएको भ्रष्टाचार, सुशासन, प्रत्यक्ष निर्वाचित कार्यकारी शासन व्यवस्था नेकपाको मुख्य एजेण्डको रुपमा रहेकाले अबको निकास सोही अनुसार बैज्ञानिक समाजवाद भएको बताउनुभयो ।

यस्तै, नेकपाको केन्द्रिय सदस्य नवराज ढुङ्गाना (विज्ञान)ले मुख्य दलहरुले बहुमत र गठनन्धनको नाममा गरिरहेको शासन प्रणालीमा भएको बदमासीको कारण अहिलेको जेनजी पुस्तामा नैराश्यता बढ्दा वर्तमान विषम परिस्थिती आएको भन्दै नेकपाको एजेण्डाले नै देशमा निकास दिने बताउनुभयो । कार्यक्रममा विभिन्न राजनीतिक क्षेत्र, पत्रकार, स्थानीयबासी लगायतको सहभागिता रहेको थियो ।

नेकपाले जेनजी पुस्ताको बिद्रोह, नयाँ परिस्थिती र निकास विषयक अन्तरक्रिया देशव्यापी रुपमा सञ्चालन भइरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

©2025 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web