६ महिनाभित्र नयाँ संसद्लाई कार्यभार सुम्पिने प्रधानमन्त्री कार्कीको अठोट

भदौ २९, २०८२ मा प्रकाशित | 216 views


काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले ६ महिनाभित्र नयाँ संसद्लाई कार्यभार सुम्पिने आफ्नो अठोट रहेको बताउनुभएको छ ।

सिंहदरबारमा आज पदभार ग्रहणपछि उच्च सरकारी अधिकारीहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले ६ महिनाभन्दा धेरै नबस्ने भन्दै त्यही बीचमा आउने नयाँ संसद्लाई कार्यभार सुम्पिने बताउनुभयो । सुरक्षा निकाय तथा अन्य सबैको साथविना यो सम्भव नहुने भन्दै उहाँले चुनाव सम्पन्न गर्न सहयोगको अपील पनि गर्नुभयो ।

प्रधानमन्त्री कार्कीले सिंहदरबार, सर्वाेच्च अदालत, प्रहरी चौकी लगायतका अत्यावश्यक र महत्त्वपूर्ण ठाउँमा किन आगो लगाइयो भन्दै यसबाट लाज पनि लागेको बताउनुभयो । यस्तो आगजनी गर्नेलाई नेपाली कसरी भन्ने भन्दै उहाँले ‘जेन–जी’ को आन्दोलनमा घुसपैठ भएको हुन सक्ने उल्लेख गर्नुभयाे ।

‘जेन–जी’ आन्दाेलनमा षड्यन्त्र भएको शङ्का गर्दै उहाँले अनुसन्धान गरेर नोक्सान गर्नेहरूलाई छानबिन गर्नुपर्ने बताउनुभयो । आफू रहरले नभई सडकबाट उठेको आवाज नकार्न नसकेर बाध्य भई जिम्मेवारी लिएको कार्कीकाे भनाइ छ ।

कार्कीले भन्नुभयो, ‘देशको अत्यन्त आवश्यक संस्थाहरूमाथि छानीछानी प्रहार भएको छ । प्रहरीहरू सुरक्षाका लागि अनिवार्य थिए, उनीहरूमाथि नै प्रहार भयो, प्रहरी चौकीहरू जले । अदालतका फाइलहरू नष्ट भए । सिंहदरबारभित्रका पनि कैयौं फाइलहरू नष्ट भए । मलाई यो देखेर लाज पनि लागेको छ । नेपाली नै भएर यो काम गरेको हो भने तिनलाई नेपाली कसरी भन्ने ?’

‘जेन–जी’ आन्दाेलनका क्रममा भदौ २४ गते प्रर्दशनकारीहरूले विभिन्न सरकारी संस्था, राजनीतिक दलका पार्टी कार्यालय, व्यावसायिक प्रतिष्ठान तथा व्यक्तिका घरहरूमा आगजानी गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web