काठमाडौ । जेनजी आन्दोलनका एक अगुवा अभिजित अधिकारीले अब नागरिक अगुवासहितको सर्वपक्षीय सरकार गठन गर्नुपर्ने पक्षमा आफूहरू रहेको बताएका छन् ।
अहिलेको संसदीय व्यवस्था हटाउने पक्षमा आफूहरू नरहेको भन्दै अबको सरकारमा राजनीतिक दलको पनि प्रतिनिधित्व हुनसक्ने बताए । उनले सरकारको नेतृत्व सुशीला कार्की,कल्याण श्रेष्ठ जस्ता पूर्व प्रधान न्यायाधीश,डा।सन्तुक रुइत वा कसैले गर्न सक्ने नेपाल प्रेससँग बताए ।
आन्दोलनका अगुवा अभिजित अधिकारीले हामीसंग गर्नुभएको कुराकानीको संक्षिप्त अंश :
जेनजी अहिले राजनीतिक दलका नेताहरू डिसक्रेडिट भइसक्नुभएको छ । उहाँहरूको औचित्य समाप्त भइसकेको छ । त्यसैले अब बन्ने सरकार चाहिँ सबै पक्षलाई समेटेर गठन हुनुपर्छ भन्ने हाम्रो माग हो । त्यसमा नागरिक समाजका अगुवाहरू समेटिन सक्नुहुन्छ । त्यस्तै राजनीतिक दलको पनि प्रतिनिधित्व हुनसक्छ । अहिलेको संसदीय व्यवस्थालाई हटाउने पक्षमा हामी छैनौँ । यही व्यवस्थामा रहेर नागरिक सरकार गठन होस् भन्ने हाम्रो चाहना हो । त्यो नागरिक सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, कल्याण श्रेष्ठ लगायतले गर्न सक्नुहुन्छ ।
यो सरकारको नेतृत्व सन्दुक रुइतजस्ता व्यक्तिले समेत गर्न सक्नुहुन्छ । तर, बङ्गलादेशमा मोहम्मत युनुसजस्ता व्यक्तिलाई सरकारको नेतृत्व दिँदा अहिलेसम्म चुनाव गराउन सक्नुभएको छैन । त्यसैले हामीले चाहेको नागरिक सरकारको नेतृत्व प्रशासन र यो व्यवस्थालाई राम्रोसँग बुझेको व्यक्तिले गरोस् भन्ने हो । अनि त्यो सरकारले फ्रेस इलेक्सन गरोस् । तर, सेनाले टेकओभर गर्नुभएन । सेनाको नेतृत्वमा हामी निर्वाचनमा जान तयार छैनौँ । त्यसो भयो भने फेरि आन्दोलन सुरु हुन्छ । सेनाले सहजीकरण चाहिँ गरिदिन सक्छ । हाम्रो तर्फबाट कसले नेतृत्व गरेर जाने भनेर हामीले निर्णय गरिसकेका छैनौँ । नागरिक सरकारले हामीलाई एड्भाइजरी जसरी राख्नुभयो भने त्यो बेटर हो । हामीलाई राजनीतिमा रुचि पनि छैन । तर, अब नागरिक सरकारले फ्रेस इलेक्सन गर्नुपर्छ । बाँकी कुरा इलेक्सनमै छिनोफानो हुन्छ ।
अभीजित अधिकारी,
जेन जी आन्दोलनको अभियन्ता
20.87¡ÆC