नुवाकोट । २२औं निजामती सेवा दिवसको अवसरमा म्यागङ गाउँपालिका वडा नं. ५, सामरीमा एकीकृत कृषि तथा पशु स्वास्थ्य सेवा शिविर सम्पन्न भएको छ।
गाउँपालिका अध्यक्ष आशा तामाङको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको उक्त शिविरमा कृषि तथा पशुपालनमा संलग्न किसानहरूलाई लक्षित गर्दै विविध सेवा प्रदान गरिएको हो। अध्यक्ष तामाङले शिविरमार्फत किसानहरूलाई प्रत्यक्ष फाइदा पुग्ने विश्वास व्यक्त गर्नुभयो।
उपाध्यक्ष सिता तामाङले म्यागङ गाउँपालिकाले कृषि तथा पशुपन्छी क्षेत्रमा निरन्तर प्राथमिकता दिँदै आएको उल्लेख गर्दै किसानहरूले उत्पादनमा ध्यान दिई आर्थिक समृद्धिमा योगदान पुर्याइरहेको बताउनुभयो।
शिविर कृषि विकास कार्यालय र पशु सेवा कार्यालय नुवाकोटको आयोजनामा तथा म्यागङ गाउँपालिकाको समन्वयमा सम्पन्न भएको हो। कार्यक्रममा व्यावसायिक रूपमा संलग्न किसानहरूसँग अन्तरक्रिया, साक्षात्कार, सुझाव तथा गुनासो संकलनका साथै कार्यालयले प्रवाह गर्दै आएको सेवाबारे जानकारी प्रदान गरिएको पशु विकास अधिकृत भरत पाण्डेले जानकारी दिनुभयो।
उक्त शिविरबाट कुल १२० जना किसान लाभान्वित भएका छन् ।

ताजा समाचारहरू