
नुवाकोट । टिमुरे यातायात प्रालिमा आबद्ध व्यवसायीहरूको पहलमा नुवाकोटको त्रिशूलीमा स्थापना गरिएको नुवाकोट ई–सर्भिसिङ्ग सेन्टर प्रालिको नगरप्रमुख राजन श्रेष्ठको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको छ।
सिजी कम्पनीद्वारा आधिकारिक मान्यताप्राप्त ई–सर्भिसिङ्ग केन्द्र सञ्चालनमा आएसँगै नुवाकोट तथा वरपरका विद्युतीय सवारी साधन प्रयोगकर्ताहरूलाई ठूलो राहत मिलेको नगरप्रमुख श्रेष्ठले बताउनुभयो।
उहाँले नगरपालिकाले लगानीमैत्री वातावरण तयार पार्ने कार्यलाई प्राथमिकता दिँदै आएको र आगामी दिनमा आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा नगरउपप्रमुख प्रभा बोगटीले विदुर नगरपालिकाभित्र थप लगानी भित्रिनु सकारात्मक संकेत भएको उल्लेख गर्दै, ई–सर्भिसिङ्ग सेन्टरको स्थापना यातायात क्षेत्रमा नयाँ र सकारात्मक सुरुवात भएको बताउनुभयो।
कार्यक्रममा वडा नं १ का अध्यक्ष लेनिन रञ्जित, सरोकारवाला तथा यातायात क्षेत्रमा संलग्न व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
नुवाकोट ई–सर्भिसिङ्ग सेन्टर प्रालिका अध्यक्ष प्रकाश जोशीका अनुसार सर्भिसिङ्ग केन्द्र सञ्चालनका लागि ५० लाख रुपैयाँको लगानी गरिएको हो । यस केन्द्रमार्फत प्रत्यक्ष रूपमा पाँच जनाले रोजगारी पाउने र सात जना व्यवसायीको साझेदारीमा सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो।
जोशीले नुवाकोटको यो पहिलो विद्युतीय सवारी सर्भिसिङ्ग केन्द्र भएकाले अब यहाँ चल्ने विद्युतीय गाडीहरूलाई स्थानीयस्तरमै सेवा दिन सकिने र अन्यत्र जानुपर्ने बाध्यता अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो ।
17.12¡ÆC