
नुवाकोट । ‘गल्छी–रसुवागढी अन्तराष्ट्रिय राजमार्ग’ अन्तर्गत नुवाकोटको गगटे क्षेत्रको सडक मापदण्ड भित्र पर्ने संरचनाहरू हटाउन विदुर नगरपालिका वडा नं ५ ले आग्रह गरेको छ। वडाध्यक्ष लिलानाथ न्यौपानेद्वारा जारी सूचनामा गगटे क्षेत्रमा सडक सीमा भित्र पर्ने व्यक्तिगत’ संरचना स्वेच्छाले हटाउन अनुरोध गरिएको छ । उहाँले भन्नुभयो, “कानूनअनुसार क्षतिपूर्ति पाएकाहरूले तुरुन्तै संरचना खाली गर्नुपर्नेछ, अझै नपाएकाहरूले भने क्षतिपूर्ति लिएर हटाउन लाग्नुपर्दछ ।”
सूचनामा वडा भित्रको ‘साझा भवन’ समेत खाली गर्न र भत्काउन भनिएको छ। भवनको स्वामित्व रहेको कोही भए तत्काल सम्पर्क गरी हटाउन आग्रह गरिएको छ, अन्यथा सडक आयोजनाले नै हटाउने जानकारी समेत वडाध्यक्ष न्यौपानेले दिनुभयो।
गल्छी (धादिङ) देखि रसुवागढी नाका (चीनको सीमा) जोड्ने यो महत्वाकांक्षी राजमार्गले नुवाकोटको विकासमा नयाँ ढोका खोल्ने अपेक्षा गरिएको छ। तर, विशेष गरी गगटे–ढुंगे खण्डमा मुआब्जा विवादले रोकिएको सडक विस्तारले अहिले बल्ल गति लिन थालेको विदुरका नगरप्रमुख राजन श्रेष्ठले बताउनुभयो । सडक निर्माणले यस क्षेत्रको यातायात, व्यापार र पर्यटनमा उल्लेख्य परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।
नगरभित्रकै जनप्रतिनिधिबाट सडक विस्तारमा अवरोध :
विदुर नगरपालिकामा गल्छी-रसुवागढी सडक विस्तार कार्यलाई अगाडि बढाउन नगरप्रमुख राजन श्रेष्ठको नेतृत्वमा देखिएका समस्या समाधानका प्रयास भइरहेका छन्। तर, नगरभित्रकै केही वडाध्यक्ष लगायतका जनप्रतिनिधिहरु सडक विस्तारमा विभिन्न बाहना निकालेर अवरोध गरिरहेको आरोप स्थानीयबासीबाट उठ्न थालेको छ।
नगरप्रमुख श्रेष्ठ स्वयंले केही स्थानमा पुगेर मुआब्जा, संरचना हटाउने, समन्वय लगायतका विषयमा समाधान गरिरहेका बेला सडक मापदण्डमा पर्ने संरचना हटाउनुपर्ने स्पष्ट नीति हुँदाहुँदै पनि केही जनप्रतिनिधि सक्रिय सहयोग गर्नभन्दा उल्टै गुमराहमा पार्ने कार्यमा संलग्न रहेको बताइएको छ।
स्थानीय विकास, आवागमन सहजता र राष्ट्रिय गौरवको योजना विस्तारको सवालमा स्थानीय तहका सबै जनप्रतिनिधि एकमत भएर अघि बढ्नुपर्ने आवाज चुलिएको छ। सडक विस्तार अवरुद्ध हुँदा बजार क्षेत्र, व्यापारिक गतिविधि र सर्वसाधारणको दैनिकीमा प्रत्यक्ष असर परिरहेको छ। विशेष गरेर वडा नं २ अन्तरगत बट्टार क्षेत्रमा यो समस्या देखिएको हो ।
विदुर नगरवासीले सडक विस्तारलाई पूर्णता दिएर त्रिदेशीय राजमार्गको रुपमा रहेको गल्छी–रसुवागढी सडक योजना विस्तारमा भइरहेको ढिलाईलाई सार्थकता दिनलाग्नु पर्ने बताएका छन् ।
15.58¡ÆC