नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका–१०, धमलेमा करेन्ट लागेर एक ४ वर्षीया बालिकाको मृत्यु भएको छ। साउन १६ गते बिहान करिब १०:३० बजेको समयमा विजय राना मगरकी छोरी आँचल राना मगर घरमा खेल्ने क्रममा मोबाइल चार्ज गरिरहेको विद्युत् प्लगमा छोएपछि करेन्ट लागेको थियो। उनी जिल्ला दाङ, तुलसीपुर नगरपालिका–७ स्थायी वास भएकी हुन् र शिब अधिकारीको घरमा रेखदेख तथा खेतीपातीका काममा परिवारसहित बसोबास गर्दै आएका थिए ।
करेन्ट लागेर गम्भीर घाइते भएकी बालिकालाई तत्काल त्रिशूली अस्पताल, नुवाकोटमा उपचारका लागि लगिएको थियो। तर, उपचारकै क्रममा दिउँसो करिब २:१० बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक विक्रम लामाले जानकारी दिनुभयो । उहाँको अनुसार घटनापछि जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट प्रहरी अधिकृतसहितको टोली खटिएको थियो। प्रहरीले घटनास्थलको मुचुल्का उठाउनुका साथै प्रारम्भिक अनुसन्धान गरी मृत शरीरलाई पोष्टमार्टमका लागि पठाएको छ।
उक्त घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
19.12¡ÆC