
नुवाकोट । आर्थिक वर्ष २०८१/८२ मा तारकेश्वर गाउँपालिकाको कार्यालय र वडा कार्यालयहरुबाट सम्पादित कार्यहरु तथा प्रदान गरिएका सेवा, सुविधा लगायत समग्र विकास निर्माणको सम्बन्धमा आयोजित सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।
तारकेश्वर गाउँपालिका नुवाकोटको आयोजनामा गाँउपालिकाको प्राङ्गणमा बिहीबार भएको सार्वजनिक सुनुवाई कार्यक्रमको सभाध्यक्ष एंव गाँउपालिका अध्यक्ष शिव अधिकारी ‘अबिरल’ले गाँउपालिकाको कार्यालय मार्फत प्रवाह भएको सेवा, सम्पादित कार्यक्रम, पालिका मार्फत सञ्चालनमा रहेका नविनतम कार्यहरु, पालिकाको गौरवका योजना, लामो समयदेखि जनताको माग र समस्याको समाधानको लागी आफ्नो कार्यकालमा सम्पादित गतिविधिको जानकारी गराउनुभयो ।
उहाँले वडा नं २ र ३ मा खानेपानीको चरम समस्या भइरहेको र उक्त स्थानको लागी विगतका सरकारले गर्न नसकी समस्याको रुपमा रहेको जोरघट्ट–तारुका खानेपानी आयोजना’लाई ‘तारकेश्वरको गौरव’को योजनाको रुपमा लिएर सम्पन्न गर्न सफल भएको बताउनुभयो ।

एक दशक अघिदेखि नै उक्त योजनाको काम अघि बढेको भएपनी यसअघिका सरकारको समयमा बिनियोजित भएका बजेटबाट कुनै काम नभई खानेपानीको हाहाकार भएका दुई वडाको बासिन्दालाई पानी खुवाउन मुहानको विवादको समस्या समाधान गर्दै प्रयाप्त बजेटको अभावलाई समेत थप बजेट उपलब्ध गराई योजना पूरा गर्न लामो समयदेखि कायम रहेको विभिन्न समस्याको समाधान गर्दै जोरघट्ट–तारुका खानेपानी आयोजनाबाट तारकेश्वर गाँउपालिकाको वडा नं २ र ३ का ६५० घरधुरी प्रत्यक्ष लाभान्वित हुन सफल भएको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।
उक्त आयोजनाको लागी प्रदेस सरकारबाट आएको बजेट अपुग भएसगैँ आवश्यक थप रकम पालिकाले बिनियोजन गरेर छोटो अवधिमा विगतका सबै समस्यालाई समाधान गर्न सफल भएकाले स्थानीय सरकार प्रमुखको रुपमा आफ्नो तफबाट नागरिकहरुको समास्या समाधानमा उत्कृष्ट कार्य गर्दै आएकाले पालिकाबासीको माग र चाहना अनुसार पालिकाबासीको साथमा आगामी दिनमा थप नविनतम कार्य गर्ने उहाँले प्रतिबद्धता जनाउनुभएको छ ।
सार्वजनिक सुनुवाईमा अध्यक्ष अधिकारीले आफू पालिकामा निर्वाचित भएर आएपश्चातको अवधिमा प्रदेस र संघ सरकारबाट करोडौँ लागतका योजना भित्र्याउन सफल भएको, शैक्षिक गुणस्तर बृद्धिमा धेरै सुधार गरेको, सबै जातजाती एंव धर्मको रक्षाका लागी आ–आफ्नो जातीय पोषाक सातामा एक पटक शिक्षक विद्यार्थीलाई अनिवार्य कार्यान्वयनमा ल्याएर नयाँ रचनात्मक काम गर्दै आएको जानकारी दिनुभयो ।
पालिकाबासीको स्वास्थ्य सेवा सरल बनाउन, अधिकांश पालिकाबासी किसान भएकाकाले पालिकाको सम्भावना भएको स्थानमा सोही अनुरुप कृषि क्षेत्रको विकास, पशु सेवा विस्तारका कार्यक्रम सञ्चालन गर्दै आइरहेकाले आगामी दिनमा पालिकाबासीको माग र चाहना अनुसार काम गर्ने अध्यक्ष अधिकारीले प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा सहभागीले उठाएका जिज्ञासाको सम्बोधन गर्दै पालिकामा कानून अनुसार बाहेकका अन्य काम नभएको आश्वस्त बनाउदै कहीँ कतै कमजोरी भएको भएमा प्रमाण सहित पेश गर्न उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा गाँउपालिका उपाध्यक्ष एंव जवाफदेहीवक्ताको रुपमा रहनुभएका हरिप्रसाद रिमालले आफ्नो जिम्मेवारीमा रहेको बजेटको निर्माण, अनुगमन, न्यायिक गतिविधि लगायतका कामको लागी आफू प्रतिबद्ध र जिम्मेवार भएर पालिकाबासीको सेवामा अनवरत रुपमा लागिरहेको बताउनुभयो ।

स्थानीय शासन सञ्चालन ऐनमा उल्लेख गरिएका देखि जनप्रतिनिधिको रुपमा पालिकाबासीका समस्या समाधानको लागी आफू दिनरात नभनी लागिरहेको उहाँको भनाई छ । जनताको सारथीको रुपमा आफू सदैव जनताको माझ रहने उहाँले प्रतिबद्धता जनाउनुभयो । पालिकाले प्रवाह गर्ने सेवाको सम्बन्धमा केही गुनासो तथा सुझाब एंव राम्रा कामको लागी आफू निरन्तर जनतासंग रहदाको बखतमा समेत राख्न सक्ने भन्दै पालिकाबासीको शिक्षा, स्वास्थ्य, किसानले सधैँ अभाव भोगिरहेको रासायनिक मल सहज गराउने प्रयासमा लागिरहेकाले आगामी दिनमा पनि सोही अनुसार अघि बढ्ने उपाध्यक्ष रिमालले विश्वास दिलाउनुभयो ।
यस्तै, प्रमुख प्रशासकीय अधिकृत सिजर्ना अर्यालले गाँउपालिकामा बिनियोजित योजना तथा कार्यक्रम र बजेट कार्यान्वयन, सेवा प्रवाह, विकास निर्माणका गतिविधि लगायतमा कानूनी आधारको पालना गरेर सम्पादन हुदैँ आइरहेको स्पष्ट पार्नुभयो ।

पालिकाबाट हुने भुक्तानी, बिनियोजित बजेटका आधार कानूनी रुपमा चुस्त नभई हुन नसक्ने स्पष्ट बनाउदै पालिकाले गरेका काम, बजेट खर्च, योजना कार्यान्वयनमा कुनै शंका नगर्न आग्रह गर्नुभयो ।
आगामी दिनमा पनि कार्यसम्पादनको पारदर्शिता बढाउन जनसहभागिता सुनिश्चित गराई नागरिकको आवाज, सुझाव र गुनासोलाई सुन्ने र समावेश गर्दै लैजाने, जवाफदेहिता कायम गर्ने, सेवा गुणस्तर सुधार गर्ने कार्यमा जनप्रतिनिधिले बनाएको नीति अनुसार कर्मचारी मार्फत कार्यसम्पादन गर्दै आइरहेको प्रमुख प्रशासकीय अधिकृत सिजर्ना अर्यालले बताउनुभयो ।
कार्यक्रममा जवाफदेही वक्ताको रुपमा रहनुभएका वडा नं. १ का अध्यक्ष चक्रबहादुर तामाङ, वडा नं. २ का अध्यक्ष शिव पनेरु, वडा नं. ४ का अध्यक्ष हरिबहादुर पौडेल र वडा नं ६ का अध्यक्ष नारायणप्रसाद रिमालले आ–आफ्नो वडाको कार्यालयबाट सम्पादित क्रियाकलाप, दर्ता विवरण र सिफारिस संकलित राजश्व लगायतका विषयमा जानकारी गराउनुभएको थियो ।

वडाध्यक्षहरुले आगामी दिनमा सार्वजनिक सुनुवाई लगायतका पारदर्शिता झल्कने कार्यक्रमलाई निरन्तरता दिने र त्यसका लागी वडा कार्यालयको आयोजनामा सार्वजनिक सुनुवाई सञ्चालन गर्ने, जनताको सेवा प्रवाह पारदर्शिता सुनिश्चित बनाउदै लैजाने, जनप्रतिनिधि, कर्मचारी वा योजनासँग सम्बन्धित सेवाग्राही वडाबासीलाई जानकारी गराउने, स्थानीय बासिन्दाको समस्या, गुनासो, सुझाव ग्रहण गरेर सोही अनुसार अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।
सार्वजनिक सुनुवाईम स्वास्थ्य शाखा प्रमुख छवीलाल केसी मार्फत चालु आर्थिक वर्षको लागी क्षेत्रगत बजेट र त्यसको खर्चको अबस्थाको प्रस्तुतीकरण गरिएको थियो ।

कार्यक्रममा सूचना प्रविधि शाखा प्रमुख एलिन तामाङ, रोजगार सेवा केन्द्र प्रमुख ज्ञानकुमार श्रेष्ठ, पूर्वाधार विकास शाखा प्रमुख हेमनारायण यादव, प्रशासन शाखा प्रमुख बिनोद बडुवाल, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख सन्तोष थापा, पञ्जिकरण शाखा प्रमुख उज्वल लामिछाने, कृषि शाखा प्रमुख कपिल पाण्डे, पशु सेवा शाखा प्रमुख विष्णुकुमार चौधरी सहित सम्बन्धित शाखा, वडा कार्यालयको कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

सार्वजनिक सुनुवाईमा विभिन्न योजनाको उपभोक्ता समितिका पदाधिकारी, लाभग्राही, स्थानीय व्यावसायी, शिक्षक, समाजसेवी लगायतको सहभागिता र उनीहरुले जिज्ञासा एंव राय–सुझाब दिएका छन् ।
कार्यक्रममा गाँउपालिकाको कार्यालय र वडा कार्यालयबाट प्रवाह भएको सेवा, सञ्चालित योजना तथा कार्यक्रमहरु, ती कार्यक्रमको कार्यान्वयनको अवस्था, कार्यक्रम सञ्चालनको क्रममा लाभग्राही जनताको प्रतिक्रिया, वडा कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ मा सम्पादित क्रियाकलाप, पालिकाबासी एंव सेवाग्राही नागरिकलाई प्रदान गरिएको सेवा सुविधा लगायत तारकेश्वर गाँउपालिकाको समग्र विकासको सम्बन्धमा जानकारी गराइएको छ ।

साथसाथै स्थानीय सरोकारवाला आम नागरिकहरुबाट राय, सुझाब, गुनासो संकलन गरिएको छ । त्यसका सम्बन्धमा उठेका प्रमाणयोग्य एंव तथ्यमा आधारित विषयमा गाँउपालिकाको जिम्मेवार पदाधिकारीहरुबाट सुनुवाई तथा स्पष्ट पारिएको थियो ।
17.12¡ÆC