त्रिशूली नदीमा फसेकाको सकुशल उद्धार

असार २४, २०८२ मा प्रकाशित | 149 views


त्रिशूली । नुवाकोटको विदुर नगरपालिका–९ स्थित त्रिशूली नदीमा आज बिहान फसेका दुई जनाको नेपाली सेनाको हेलिकप्टर मार्फत सकुशल उद्धार गरिएको छ ।

नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईको अनुसार त्रिशूली नदीले बगाएर ल्याएको काठ टिप्न जाने क्रममा फसेका स्थानीय ५६ वर्षीय पाल्देन तामाङ र उहाँको श्रीमती ५१ वर्षीया मङ्गली तामाङको नेपाली सेनाको हेलिकप्टर मार्फत विपद् तालिम प्राप्त नेपाली सेनाले उद्धार गरेको हो ।

बिहान करीब ५ बजेर २५ मिनेटमा नदीमा फसेको जानकारी पश्चात उद्धारको लागी स्थानीयस्तरमा गरिएको प्रयासले नसकेपछि गृह मन्त्रालयसंग हेलिप्टर माग गरिएको थियो । नेपाली सेनाको हेलिकप्टरले तामाङ दम्पत्तिलाई बिहान ८ बजेर १५ मिनेटमा उद्धार गरिएको हो ।

उहाँहरुको अहिले त्रिशूली अस्पतालमा उपचार भइरहेको छ । स्वास्थ्य अबस्था सामान्य रहेको अस्पतालका निर्देशक डा.राजेन्द्र लामाले जानकारी दिनुभयो ।

नुवाकोटको किस्पाङ गाँउपालिका–४ साल्मे घर भएर हाल विदुर–९ स्थित १२ नं बस्तीमा बसोबास गर्दै आएका तामाङ दम्पत्ति छिमेकीको साथमा घर नजिकै पर्ने त्रिशूली नदीले बगाएर ल्याएको काठ संकलन गर्न बिहान त्यसतर्फ गएका थिए । सोही क्रममा अकस्मात नदीमा पानीको वहाव ठूलो भएसगैँ सिसौको रुख चढेर ज्यान जोगाएका थिए ।

उहाँहरुसगै गएका अन्यले बाढी बढ्दै गएपछि भागेपनि तामाङ दम्पत्ति भने आफूले समातेका काठ संकलन गरेर निस्कन खोज्दा नदीको बीचमा नै फसेको विदुर नगरपालिकाको नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिनुभयो ।

नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा गएरातिदेखि आएको भीषण बाढीका कारण त्रिशूली नदीको वहाव अहिलेपनि उच्च छ । बाढीले नुवाकोटमा क्षति कम गरेपनि रसुवामा भने धेरै नोक्सान पुर्‍याएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web