
नुवाकोट । विदुर नगरपालिका वडा नं ५ को आर्थिक सहयोगमा अपाङ्गता सशक्तिकरण कार्यक्रम अन्तर्गत अपाङ्गता भएका व्यक्ति तथा मनोसामाजिक समस्या भएका व्यक्तिहरूलाई लक्षित स्वास्थ्य उपचार खर्च र बाख्रा वितरण कार्यक्रम सम्पन्न भएको छ।
विदुर नगरपालिका वडा नं ५ को कार्यालय परिसरमा आयोजित उक्त कार्यक्रम नगरप्रमुख राजन श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
नगरप्रमुख श्रेष्ठले अपाङ्गता भएका व्यक्तिहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले वडा नं ५ को कार्यालयले पालिकामा नै उत्कष्ट काम गर्दै आइरहेकाले यसमा नगरपालिकाको तर्फबाट पनि सहयोग रहेको उल्लेख गदै आगामी वर्षमा अन्य वडामा पनि कार्यक्रम सञ्चालनमा प्राथमिकता दिने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा वडा नं ५ का अध्यक्ष लिलानाथ न्यौपानेले पूर्वाधारको विकासलाई मात्र विकासको रुपमा हेर्न नहुने भन्दै पछि परेका व्यक्ति, समुदाय एंव क्षेत्रको विकासको लागी आफूले सक्दो सहयोगको कार्यक्रम चलाउदै आएकाले आगामी वर्षमा पनि यसलाई निरन्तरता दिने बताउनुभयो । अहिले छुट भएकालाई आगामी वर्ष समावेश गर्ने उहाँले विश्वास दिलाउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिकी सदस्य सन्तोषी देवकोटाले अपाङ्गता भएका व्यक्तिमा सिप र क्षमता बृद्धि गरेर आर्थिक उपार्जनदेखि उहाँहरुमा रहेको लुकेको प्रतिभालाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कर्मचारी, सरोकारवाला निकाय तथा समुदायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रम अपाङ्ग मानव अधिकार मञ्च, नुवाकोटको सहजीकरणमा सम्पन्न भएको हो। कार्यक्रममा वडा नं ५ मा रहेका चार जना अपाङ्गता भएका व्यक्तिहरूलाई उन्नत जातको बाख्रा शतप्रतिशत अनुदानमा वितरण गरिएको छ। यस्तै, १२ जना अपाङ्गता भएका तथा मनोसामाजिक समस्या देखिएका लाभग्राहीलाई स्वास्थ्य उपचारका लागि प्रतिव्यक्ति तीन हजार रुपैयाँ नगद प्रदान गरिएको आयोजकले जानकारी दिएको छ।
सहभागी लाभग्राहीहरूले यस्तो कार्यक्रमले आफूहरूको मनोबल बढाएको बताएका छन्। आयोजक संस्था अपाङ्ग मानव अधिकार मञ्चले आगामी दिनमा पनि यस्ता सामाजिक सशक्तिकरणका कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।
17.12¡ÆC