
नुवाकोट । तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारी ‘अविरल’ले दिनुभएको निर्देशन बमोजिम गाउँपालिका शिक्षा शाखाका प्रास सहित नगर प्रहरीको टोलीले वडा नं. ६ का विद्यालयहरुको अनुगमन गरेको छ ।
अनुगमनका क्रममा विद्यालयहरुको व्यवस्थापकीय र शैक्षणिक पक्षमा आंशिक रुपमा सन्तोषजनक स्थिति देखिएको थुप्रै त्रुटिहरु समेत पाइएकाले तत्कालै त्रुटिहरुमा सुधार गरी शैक्षिक गुणस्तर सुनिश्चित गर्न अध्यक्ष अधिकारीले निर्देशन दिनुभएको छ ।
भुमेस्थान आविमा भने निर्धारित समयभन्दा अघि नै विद्यालय बन्द गर्ने गरेको पाइएकाले अध्यक्ष अधिकारीले उक्त विद्यालयका प्रधानाध्यापकसँग मौखिक स्पष्टीकरण लिँदै गल्तीकमजोरी सुधार गर्न निर्देशन दिनुभयो ।
अध्यक्ष अधिकारीको निर्देशनमा शिक्षा शाखाले यसअघि वडा नं. २ र ४ का विद्यालयहरुको अनुगमन गरेको थियो । अनुगमनको क्रम निरन्तर जारी रहने अध्यक्ष अधिकारीको भनाई छ ।
भौतिक पूर्वाधार विकास र जनशक्तिको उपलब्धता सुनिश्चित गर्न आफूले प्राथमिकताका साथ काम गरिरहेको बताउँदै उहाँले शैक्षिक गुणस्तर सुधारको अभियान सफल पार्न व्यवस्थापकीय पक्षमा विशेष ध्यान दिनुपर्ने अवस्था रहेको बताउनुभएको छ ।
त्रुटि र लापरबाहीले गुणस्तरमा गम्भीर असर पारिरहेकोतर्फ सचेत भई तत्काल सुधार गरेर अघि बढ्न उहाँले सबै विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिलाई आग्रह गर्नुभएको छ ।
यस्तै उहाँले आफ्नो समुदायको विद्यालयमा भइरहेको गतिविधिप्रति सचेत भई खबरदारी गर्न स्थानीय समुदाय र अभिभावक वर्गलाई समेत सजग गराउनुभएको छ ।
16.42¡ÆC