
काठमाडौ । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेको निलम्बन कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
बुधबार बसेको न्यायाधीश ऋषि राजभण्डारी र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले निलम्बनको निर्णय कार्यान्वयन नगर्न र सोही पदमा काम गर्न दिन आदेश दिएको उच्च अदालत पाटनकी सूचना अधिकारी पार्वती हितानले जानकारी दिनुभयो ।
उहाँको अनुसार आदेशमा ‘निलम्बन गरिएको पत्र कार्यान्वयन नगरी यथास्थितिमा राखि निवेदकलाई निजको पदमा रही कामकाज गर्न दिनु ।’
मेयर बालेन्द्र (बालेन) शाहको मौखिक निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यालय प्रवेशमा रोक लगाउन खोजेको विषयमा पाण्डेसँग ७ बुँदे स्पष्टीकरण सोधिएको थियो ।
पाण्डेले जेठ १२ गते स्पष्टीकरण बुझाउनुभएको थियो । त्यसलगत्तै उनै प्रमुख प्रशासकीय अधिकृत गुरागाईले जेठ २० मा पाण्डे माथि छानबिन गर्न भन्दै ६ महिनाका लागि निलम्बन गरेका थिए ।
निलम्बनविरुद्ध पाण्डेले मंगलबार उच्चमा उत्प्रेषणको रिट दायर गरेका थिए ।
14.67¡ÆC