विदुरका सामुदायिक कुकुरलाई बन्ध्याकरण र रेबिज रोग बिरुद्धको खोप

जेष्ठ ३०, २०८२ मा प्रकाशित | 215 views


नुवाकोट । विदुर नगरपालिकामा रहेका समुदायिक तथा छाडा छाडिएका कुकुरलाई बन्ध्याकरण सहित उनीहरुलाई रेबिज रोग बिरुद्धको खोप लगाउन थालिएको छ ।

विदुर नगरपालिका, पशु सेवा शाखाको आयोजनामा सञ्चालन यही मंगलबारदेखि सुरु भएर आगामी आइतबारसम्म चल्ने शिविरमा हालसम्म ७७ वटा कुकुरको बन्ध्याकरण सहित उनीहरुलाई रेबिज रोग बिरुद्धको खोप लगाइएको पशु चिकित्सक डा.सुजता अधिकारीले जानकारी दिनुभयो । उहाँको अनुसार सामुदायिक कुकुरहरुको बन्ध्याकरण सहित रेबिज रोग बिरुद्धको खोप कार्यक्रमका लागी नेपाल एनिमल वेलफेएर एण्ड रिसर्च सेन्टरको प्राविधिक सहयोग रहेको छ ।

जारी रहेको शिविरमा भइरहेको काम, आवश्यक सहयोग एव सहजिकरण सहित काममा खटिएका प्राविधिकलाई हौसला बृद्धिको लागी नगर उपप्रमुख प्रभा बोगटीले अनुगमन गर्नुभएको छ ।

विदुर नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम अनुसार सामुदायिक तथा छाडा रहेका कुकुरको सङ्ख्या बृद्धि हुन नदिनको लागी बन्ध्याकरण गरेको हो भने ती कुकुरहरुलाई रेबिज रोगबाट सुरक्षित बनाउनको लागी रेबिज रोग विरुद्धको खोप समेत लगाइएको छ ।

कुकुरको बन्ध्याकरणले उनीहरूको जीवन सहज, स्वस्थ र समुदायमैत्री बनाउन र समुदायमा मानव–पशु सहअस्तित्वका लागि पनि सहयोग पुग्ने विश्वास लिइएको छ ।

विदुर नगरपालिकाले हरेक वर्ष यस अभियान सञ्चालन गर्दै आइरहेकाले विगतको तुलनामा अहिले सामुदायिक कुकुरको सङ्ख्या घट्दै गएको र त्यस्ता कुकुरबाट रेबिजको सक्रमण फैलने क्रम कम हुदै गएको पाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web