नुवाकोट । तारकेश्वर गाउँपालिकाले शैक्षिक सत्र-२०८२ को वार्षिक शैक्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । नयाँ सुरु भएको शैक्षिक सत्र २०८२ को बार्षिक शैक्षिक कार्यक्रमलाई समेटेर 'शिक्षा, युवा तथा खेलकुद शाखा'ले तयार पारेको क्यालेन्डरको आज गाउँपालिका अध्यक्ष शिव अधिकारी अविरलले विमोचन गर्नुभएको हो ।
क्यालेन्डर विमोचन गर्दै अध्यक्ष अधिकारीले समग्र शैक्षिक गतिविधिलाई पूर्वतयारीका साथ व्यवस्थित ढंगले सञ्चालन गर्न क्यालेन्डरले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
शिक्षक आन्दोलनका कारण शैक्षिक सत्रको सुरुमै विद्यार्थीको पठनपाठनमा पर्न गएको क्षतिलाई आगामी बर्खे विदाबाट परिपूर्ति गर्ने सुनिश्चित गर्न र केही दिनभित्रै नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु गर्न अध्यक्ष अधिकारीले प्रधानाध्यापकहरुलाई निर्देशन दिनुभयो ।
शिक्षकहरुका जायज मागप्रति आफ्नो समर्थन रहेको बताउँदै अध्यक्ष अधिकारीले आन्दोलनको स्वरुपलाई बदल्न सुझाब दिनुभयो । आन्दोलनका नाममा हप्तौंसम्म पठनपाठन बन्द हुँदा विद्यार्थीको भविष्यमा पर्न जाने असरप्रति गम्भीर हुन उहाँले शिक्षकहरुलाई आग्रह गर्नुभयो । शिक्षकहरुले आफ्ना मागहरु राख्दै पठनपाठन पनि सगसगैँ अघि बढाउनुपर्ने उहाँको सुझाब छ ।
वार्षिक क्यालेण्डरलाई प्रत्येक विद्यार्थी र अभिभावकका हातमा यथाशीघ्र पुर्याउने व्यवस्था मिलाउन अध्यक्ष अधिकारीले शिक्षा शाखालाई निर्देशन दिनुभयो ।
गाउँपालिकाले विगत ३ वर्षदेखि ‘एक अभिभावक : एक क्यालेन्डर’ अभियान अन्तर्गत प्रत्येक विद्यार्थीका घरघरमा शैक्षिक गतिबिधि सहित समग्र पालिकाको गतिबिधि समावेश भएको क्यालेन्डर उपलब्ध गराउदै आइरहेको छ ।