
नुवाकोट । बेलकोटगढी नगरपालिकाको ऐतिहासिक धार्मिक शक्तिपीठ चिम्टेश्वर महादेवमा भव्य मन्दिर निर्माण गर्न थालिएको छ । दुई करोड रुपैयाँ लागतमा निर्माण सुरु गरिएको मन्दिरको बिहीबार बेलकोटगढी नगरपालिकाको नगरप्रमुख जगतबहादुर गुरुङले क्षमा पूजा पश्चात शिलान्यास गर्नुभएको हो ।

बेलकोटगढी र नुवाकोटको लागी मात्र नभई हिन्दू धर्मालम्वीहरुको लागी देशकै प्रसिद्ध शक्तीपीठ चिम्टेश्वर महादेव (शिव) मन्दिर मा यसअघि कायम रहेको मन्दिर सानो आकारमा रहेको, पुरातात्विक संरचनाको मापदण्ड पालना नभएको लगायतको कारण मन्दिर पुर्ननिर्माणको लागी लामो समयदेखि भइरहेको प्रयास यो वर्ष नेकपा (माओवादी केन्द्र)का नेता एंव प्रतिनिधिसभा सदस्य हितबहादुर तमाङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुनुभएको समयमा बिनियोजन गरिएको दुई करोड रुपैया लागतले भव्य एंव पुरातात्विक संरचनाको मन्दिर पुर्ननिर्माण सुरु गरिएको हो ।

मन्दिर निर्माणको जिम्मेवारी ठेक्का मार्फत निर्माण व्यावसायीलाई दिइएको छ । मन्दिर पुर्ननिर्माणको शिलान्यास हुनु अघि नगरप्रमुख गुरुङ सहित बेलकोटगढी नगरपालिका वडा नम्बर २ का अध्यक्ष रामचन्द्र तिमल्सीना, ३ का अध्यक्ष कौशिला पुडासैनी, स्थानीयबासी लगायत सरोकारावालाहरुबाठ क्षमा पूजा गरिएको थियो ।

निर्माण व्यावसायीलाई तोकिएको मापदण्ड अनुसार गुणस्तरीय सामाग्रिको प्रयोग गरेर निर्धारित समयसीमा भित्रै सम्पन्न गर्न निर्देशन दिइएको छ ।
यहाँको मन्दिर र उक्त स्थानबाट करीब एकसय मिटर नजिकै रहेको चिम्टेश्वर भ्यू टावरबाट काठमाडौ उपत्यका सहित देशका १५ भन्दा बढी जिल्लाको हिमश्रृङ्खलाको दृष्यालोकन समेत गर्न सकिने भएकाले धार्मिक पर्यटन बृद्धिमा मन्दिर निर्माणले उल्लेख्य सहयोग पुग्ने वडा नं २ का अध्यक्ष तिमिल्सिनाले बताउनुभयो ।


21.12¡ÆC