तारकेश्वरमा भत्ता वितरण प्रभावकारी, ‘अध्यक्षसंग ज्येष्ठ नागरिक कार्यक्रम’ लोकप्रिय

बैशाख ९, २०८२ मा प्रकाशित | 353 views


नुवाकोट । तारकेश्वर गाउँपालिकाको अध्यक्ष शिव अधिकारी (अविरल)को निर्देशन अनुरूप नयाँ वर्ष २०८२ को सुरुमै सामाजिक सुरक्षा भत्ता (वृद्धभत्ता र अपाङ्गता भत्ता) वितरण र ‘गाउँपालिका अध्यक्षसँग ज्येष्ठ नागरिक कार्यक्रम’लाई प्रभावकारी रुपमा अघि बढाइएको छ । यही आइतबार र सोमबार वडा नं ५ र ६ मा आयोजित कार्यक्रम उत्साहको साथ सम्पन्न भएको छ भने बाँकी वडाहरुमा पनि कार्यक्रम तय गरेर प्रभावकारी बनाउन लागिएको छ ।

कार्यक्रमलाई प्रभावकारी बनाउन पञ्जीकरण शाखा र स्वास्थ्य शाखाले संयुक्त रूपमा सामाजिक सुरक्षा भत्ता वितरण र ‘अध्यक्षसंग ज्येष्ठ नागरिक कार्यक्रम’ सञ्चालनमा ल्याएका छन् ।

कार्यक्रममा ज्येष्ठ नागरिक आमाबुबाहरूको निःशुल्क स्वास्थ्य परीक्षण, स्वास्थ्य परामर्श सहित आवश्यक औषधी निःशुल्क वितरणको प्रबन्ध मिलाइएको छ ।

भत्ता लिन पुग्ने ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण सहितको सेवाको लागी गाँउपालिका अध्यक्ष अधिकारीको निर्देशन अनुरुप स्वास्थ्य शाखाबाट स्वास्थ्यकर्मीहरूको टोली खटाइएको छ ।

विगतको समयमा समयमा भत्ता वितरण नहुने ढिलो गरेर प्राप्त हुने भत्ता रकम लिनको लागी ज्येष्ठ नागरिकहरुले झन्झट बेहोर्नुपर्ने समस्याको गुनासो पश्चात गाँउपालिका अध्यक्ष अधिकारीले सुधार गर्न दिएको निर्देशन पश्चात अहिले तारकेश्वर गाँउपालिकामा प्रत्येक ३र३ महिनामा नै भत्ता उपलब्ध गराउन थालिएको छ ।

त्यसको लागी वडा वडामा कार्यक्रम गरी आमाबुबाहरूको निःशुल्क स्वास्थ्य परीक्षण, औषधी वितरण र स्वास्थ्य परामर्शसँगै वृद्धभत्ता वितरण गर्ने अभ्यासस्वरूप ‘गाउँपालिका अध्यक्षसँग ज्येष्ठ नागरिक कार्यक्रम’ पनि एकै साथ सञ्चालनमा ल्याइएको हो । उक्त कार्यक्रममा अध्यक्ष अधिकारी आफै उपस्थित भएर ज्येष्ठ नागरिकहरुसंग भालाकुसारी गर्ने, उहाँहरुको सुझाब एंव गुनासो सुन्ने, पालिका मार्फत थप सुधार गर्नुपर्ने कार्यक्रमको सम्बन्धमा प्रतिक्रिया लिने र ज्येष्ठ नागरिकहरुको लागी आवश्यक थप कार्यक्रमको सम्बन्धमा राय संकलन गर्ने कार्यमा व्यस्त रहदै आउनुभएको छ ।

यसअघि, गाँउपालिका अध्यक्ष शिव अधिकारी (अबिरल)ले कार्यक्रमलाई अझै प्रभावकारी बनाउदै जनगुनासो नआउने गरी काम गर्न भत्ता वितरणको जिम्मेवारी रहेको पञ्जिकरण शाखा र स्वास्थ्य परीक्षणको जिम्मेवारी पाएको स्वास्थ्य शाखालाई निर्देशन दिनुभएको थियो । उहाँले कार्यक्रमलाई प्रभावकारी बनाउन समन्वय र सहजीकरण गर्नुहुन सबै वडाका वडाध्यक्षहरूलाई पनि आग्रह गर्दै आउनुभएको छ ।

गाँउपालिका अध्यक्ष शिव अधिकारी (अबिरल)को नविनतम कार्यको रुपमा सुरु भएका काम अन्तरगत रहेको अध्यक्षसंग ज्येष्ठ नागरिक लगायतका कार्यक्रमहरु निकै लोकप्रिय र प्रभावकारी हुदै आइरहेको छ ।

बाँकी रहेको वडामा भत्ता वितरण सहित अध्यक्षसंग ज्येष्ठ नागरिक कार्यक्रम सञ्चालनको तालिका निम्न अनुसार रहेको छ ।

– यही बैशाख ९ र १० गते १ नं वडा कार्यालयमा
– यही बैशाख ११ गते ३ नं वडा कार्यालयमा
– यही बैशाख १२ गते २ नं वडा कार्यालयमा
– यही बैशाख १३ गते ४ नं वडा कार्यालयमा

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web