सबै धर्मको साझा सरकारको रुपमा काम गर्दै आइरहेको छु : नगरप्रमुख राजन श्रेष्ठ

बैशाख ७, २०८२ मा प्रकाशित | 295 views


नुवाकोट । विदुर नगरपालिकाको नगरप्रमुख राजन श्रेष्ठले आफू निर्वाचित भएर आएसगैँ नगरपालिकाबाट प्रवाह हुने सेवा र नगरबासीले पाउने सुविधा सबैको लागी समान रुपमा प्रवाह गर्दै आइरहेको बताउनुभएको छ ।

नुवाकोट इसाई एकता समाजको आयोजनामा बृहत्त इष्टर महोत्सव तथा सांगेतिक कार्यक्रमलाई शुभकामना सन्देश सहितको सम्बोधन गर्दै नगरप्रमुख राजन श्रेष्ठले आफू हिन्दू धर्मालम्वी भएपनि धर्मनिरपेक्ष संघीय गणतन्त्र नेपालको स्थानीय सरकारको प्रमुखको रुपमा प्राप्त जिम्मेवारीलाई इमान्दारिताको साथ पूरा गर्दै सबैलाई समान रुपमा सेवा र सुविधा उपलब्ध गराउदै आइरहेको बताउनुभयो ।

कोही कसैले धर्म, भूगोल र सँस्कृृतिको आडामा कहिलेकाहीँ सयौँ थुङ्गाको मालाको रुपमा मिलेर बनेको नेपाली समाजलाई खलबल्याउने दुस्प्रयास गर्ने गरेको भन्दै नगरप्रमुख श्रेष्ठले त्यस्ता तत्वहरुले नेपालीको एकतालाई कहिलेपनि बिगार्न नदिन सबै धर्म, भूगोल, जाती एंव समूदाय सचेत हुनुपर्ने बताउनुभयो ।

विदुर नगरपालिकाले सबै धर्म र सँस्कृतिको रक्षाको लागी समान रुपमा हेर्दै आइरहेकाले माग अनुसारको स्थानमा इसाई धर्मालम्वीहरुको धार्मिकस्थल चर्च निर्माण तथा निर्माण भएका चर्चको संरक्षणको लागी बजेट समेत उपलब्ध गराउदै आएकाले त्यसलाई आगामी दिनमा पनि निरन्तरता दिने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

नुवाकोट इसाई एकता समाजका अध्यक्ष सेलमोन तामाङको सभापतित्वमा आयोजित कार्यक्रममा विदुर नगरपालिकाको उपप्रमुख प्रभा बोगटी, वडा नं ५ का अध्यक्ष लिलानाथ न्यौपाने, कार्यक्रमका प्रमुख वक्ता अधिवक्ता बुद्ध घिसिङ, मिना वाइवा लगायतको सहभागिता रहेको थियो ।

बैशाख ७ गते आइतबार नेपाल सहित विश्वभर रहेका क्रिस्चियन धर्मावलम्बीले विभिन्न कार्यक्रम गरी ‘इष्टर सन्डे’ मनाएका छन्। इष्टर सन्डे क्रिस्चियनको दोस्रो ठूलो चार्डको रुपमा मनाइने गरिएको छ । आजको दिन चर्चामा प्रार्थनासँगै विभिन्न कार्यक्रम गरेर मनाइने गरिएको छ भने यसै अवसरमा क्रिस्चियन धर्मावलम्बीहरुले नुवाकोट सहित देशभरका विभिन्न स्थानमा इष्टर र्याली समेत निकालेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web