नुवाकोट । विदुर नगरपालिकाले बार्षिक स्वीकृत कार्यक्रम अन्तरगत यहाँका नगरबासी किसानलाई घाँसको बीऊ वितरण सुरु गरेको छ । पशुचौपाय पालन गर्दै आएका किसानलाई सहज रुपम घाँस उपलब्ध गराउने लक्ष्य अनुरुप वर्षे घाँस (मकैचरी)को बीऊ वितरण थालिएको विदुर नगरपालिकाको नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँको अनुसार किसानलाई हरेक वर्ष हिउद र बर्खायाममा गरेर दुई पटक बीऊ वितरण गरिदै आएको छ । अहिले वितरण गरिएको बीऊ बर्खायाममा उत्पादन गरेर पशुचौपायलाई खुवाउने लक्ष्य अनुरुप वितरण थालिएको हो ।
नगरपालिकाले यसअघि प्रकाशित सूचनाको आधारमा माग गर्ने किसानलाई ३ केजी र फर्मलाई सात केजी उपलब्ध गराउदै आएको प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेलले जानकारी दिनुभयो ।
उहाँको अनुसार तोकिएको समयमा निवेदन नदिएका तर, घाँसको बीऊ आवश्यक पर्ने किसानलाई मध्येनजर गर्दै उनीहरुलाई पनि समावेश गर्ने नीति लिइएको छ । निवेदन नदिएका तर, बीऊ आवश्यक भएर अहिले बीऊ लिन आएका किसानलाई २ केजी र फर्मलाई बढीमा पाच केजीसम्म बीऊ उपलब्ध गराइने भएको छ ।
निवेदन दिएका आधारमा बुधबारदेखि बीऊ वितरण भइरहेकाले माग गरेका र आवश्यक परेका किसान एंव फर्मलाई घाँसको बीऊ लिनको लागी आउनको लागी विदुर नगरपालिका, पशु सेवा शाखाको तर्फबाट पशु चिकित्सक सुजता अधिकारीले आग्रह गर्नुभयो ।
अहिले बीऊ रोप्ने समय भइसकेको र पानी पर्ने बित्तिकै रोप्न आवश्यक पर्ने भएकाले किसानलाई जतिसक्दो चाडो बीऊ लिएर लगाउने तयारीमा रहन उहाँले सुझाब दिनुभयो ।
विदुर नगरपालिकाको बार्षिक स्वीकृत कार्यक्रम अन्तरगत उपलब्ध गराइएको घाँसको बीऊमा ४५ प्रतिशत सहयोग जिल्ला पशु सेवा कार्यालय नुवाकोटको रहेको छ ।