खेलकुद क्षेत्रको विकासमा सक्दो सहयोग हुनेछः मुख्यमन्त्री लामा

चैत्र २७, २०८१ मा प्रकाशित | 328 views


रसुवा । बागमती प्रदेशका मुख्यमन्त्री वहादुरसिंह लामाले राम्रो अध्ययनका साथै खेलकुदलगायत अतिरिक्त क्रियाकलापमा समेत विद्यार्थीको ध्यान जानुपर्नेमा जोड दिनुभएको छ ।

रसुवा जिल्ला खेलकुद विकास समितिद्वारा धुन्चेमा आयोजित १२औँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री लामाले शारीरिक रुपमा चुस्तदुरुस्त भई सहज रुपमा काम गर्न र अन्तरराष्ट्रिय जगत्मा समेत परिचित हुन खेलकुद विधातर्फ विद्यार्थीको ध्यान जान आवश्यक रहेको बताउनुभयो ।

रसुवा जिल्लाको खेलकुद विकास तथा विस्तारमा आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले २०७२ को ‘गोर्खा भूकम्प’ ले क्षति पु¥याएको जिल्ला खेलकुद भवन पुनर्निर्माण गरिदिने बताउनुभयो ।

ऐतिहासिक रसुवागढी नाका, लाङटाङ पर्यटकीय क्षेत्र, पवित्र तीर्थस्थल गोसाइँकुण्ड, विद्युत् उत्पादनका दृष्टिले महत्वपूर्ण जिल्लाका रुपमा परिचित रसुवा जिल्लाको समग्र विकासमा प्रदेश सरकारले सक्दो सहयोग गर्ने उल्लेख गर्दै मुख्यमन्त्री लामाले लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रको प्रवद्र्धन गर्न र वन–बनस्पति तथा वन्यजन्तुलगायत जैविक विविधताको संरक्षणमा सहकार्य गर्न तयार रहेको स्पष्ट गर्नुभयो ।

सो अवसरमा प्रतिनिधिसभाका सदस्य मोहन आचार्यले रसुवा जिल्लाको सडक–बाटो निर्माण तथा विस्तारसहित विकास निर्माणका कामलाई प्राथमिकतामा राखी आगामी वर्षको वजेट बनाउन प्रदेश सरकारको ध्यानाकर्षण गर्नुभयो ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विराज तामाङको अध्यक्षतामा भएको सो कार्यक्रममा जिल्ला समन्वय प्रमुख अशोककुमार घिमिरे, गोसाइँकुण्ड गाउँपालिकाका प्रमुख कैसाङनुर्पु तामाङ, आमाछोदिङ्मो गाउँपालिकाका प्रमुख बुचुङ तमाङलगायतले दुर्गम तथा हिमाली जिल्ला रसुवालाई प्राथमिकता दिई बजेट तर्जुमा गर्न मुख्यमन्त्री लामाको ध्यानाकषर्ण गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web