नुवाकोट । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ (जोन), नुवाकोटले कृषि यान्त्रिकरणको मर्मतसम्भार सम्बन्धि किसानलाई तालिम दिएको छ । तीन दिनसम्म चलेको तालिमबाट किसानले प्रत्यक्ष लाभ पाएका छन् ।
परियोजना कार्यान्वयन इकाई (जोन)ले चालु आर्थिक वर्ष २०८१-८२ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार ३ दिने कृषि यान्त्रीकरण मर्मत सम्बन्धी कृषकस्तर तालिम तरकारी जोन अन्तर्गतका किसानलाई प्रदान गरेको हो ।
सैद्धान्तिक र प्रयोगात्मक सहित सञ्चालन भएको तालिम चैत १५ गते सुरु भएर १७ गते सम्पन्न भएको परियोजना कार्यान्वयन एकाइ (जोन), नुवाकोटका प्रमुख रबिन्द्र पौडेलले जानकारी दिनुभयो ।
उहाँको अनुसार सहभागी किसानलाई दक्ष एंव तालिम प्राप्त प्राविधिक मार्फत यान्त्रिकरणको मर्मतसम्भारको आधारभूत जानकारी दिइएको छ ।
“किसानले उपयोग गर्दै आएका यान्त्रिकरणमा देखिएका समस्या समाधानको लागी उकरण बोकेर प्राविधिक भएको ठाँउसम्म पुराउदा कठिनाई हुने, समय लाग्ने, खर्चिलो हुने हुदाँ स-साना प्रकृतिका समस्या देखिएमा किसानले आफ्नै कार्यथलोमा मर्मत गर्न सक्ने बनाउनको लागी तालिम दिइएको छ ।
अहिले आधारभूत तहको तालिम भएकाले आगामी दिनमा आवश्कता र कार्यालयको कार्यक्रमको आधारमा थप तालिम पनि प्रदान गर्नेछौ ।” परियोजना कार्यान्वयन एकाइ (जोन), नुवाकोटका प्रमुख रबिन्द्र पौडेलले जानकारी दिनुभयो ।
परियोजनाको कार्यालय विदुर–१ ढुङ्गे स्थित सभाहलमा सम्पन्न तालिममा कार्यालयले जारी गरेको सूचनामा निवेदन दिएर पारदर्शी रुपमा छनोट भएका १८ जना किसानको सहभागिता रहेको कार्यालयका कृषि प्राबिधिक भुवन तिमल्सिनाले जानकारी दिनुभयो ।
कार्यालयले किसानको आर्थिकस्तर सुधार, कम लागतमा उत्पादनमा बृद्धि गराई आम्दानीको दायरा बढाउन यान्त्रिकरणको प्रयोगलाई प्राथमिकता दिदै आएकाले यान्त्रिकरण चलाउन, मर्मतसम्भार गराउन पनि कार्यक्रम चलाउदै आएको कृषि प्राबिधिक भुवन तिमल्सिनाको भनाई छ ।