बेलकोटगढीका किसानलाई ७५ प्रतिशत अनुदानमा अकबरे खुर्सानीको बिरुवा वितरण

चैत्र ६, २०८१ मा प्रकाशित | 473 views


बाघखोर । बेलकोटगढी नगरपालिकाले नगरभित्रका किसानलाई एक लाख २० हजार अकबरे खुर्सानीको बिरुवा उपलब्ध गराउन सुरु गरेको छ ।

नगरप्रमुख जगतबहादुर गुरुङ र उपप्रमुख शिवप्रसाद दाहालले छनोटमा परेका कृषि संघ, समूह र सहकारीका प्रतिनिधिलाई बुधवार खुर्सानीको विरुवा प्रदान गर्दै नगरको अनुदानको बिरुवा उपलब्ध गराउन थालिएको हो।

नगरपालिकाले गत कार्तिक ६ गते सार्वजनिक गरेको सूचनाको आधारमा माग गरेका खुर्सानीको बिरुवा ७५ प्रतिशत अनुदानमा उपलब्ध गराउन थालिएको छ ।

किसानलाई बिरुवा प्रदान गर्दै नगरप्रमुख गुरुङले बेलकोटगढीको अकबरे खुर्सानीलाई राष्ट्रियस्तरमा पहिचान (ब्राण्डिङ) बनाउन लागिरहेको हुदा सोही लक्ष्य अनुरुप खुर्सानी उत्पादन गरेर सहयोग पुर्याउन र आर्थिक उपार्जन बृद्वि गर्न किसानलाई आग्रह गर्नुभयो ।

उक्त अवसरमा उपप्रमुख दाहालले खुर्सानीको बिरुवा माग गरेका किसानलाई उपलब्ध गराउन नगरले अधिकतम प्रयास गरेकाले यदी कोही छुट भएमा तथा थप इञ्छुक किसानलाई आगामी वर्षको कार्यक्रममा समावेश गराइने जानकारी दिनुभयो ।

किसानलाई बिरुवा वितरणको अवसरमा नगरपालिकाको नि.प्रमुख प्रशासकीय अधिकृत दिपक थिङ, लेखा अधिकृत गोबिन्द प्याकुरेल, सहायक लेखा अधिकृत सुमन नेपाल सहित कृषि शाखा एंव नगरमा कार्यरत कर्मचारीहरु लगायत सरोकारवालाहरुको सहभागिता रहेको रहेको थियो ।

बेकोटगढी नगरपालिका किसानको आय आर्जन बृद्विको लागि अकबरे खुर्सानीलाई पकेट क्षेत्रको रुपमा उत्पादन गरेर राष्ट्रिय पहिचान बनाउन नगरले महत्वकांक्षी लक्ष्यको रुपमा लिएकाले अनुदान सहित प्राबिधिक सहयोगको कार्यक्रम उपलब्ध गराएको आर्थिक विकास शाखा (कृषि) प्राबिधिक सुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।

सोही लक्ष्य पूरा गर्न नगरपालिका आफैले बिरुवा उत्पादन गरेर नगरको ७५ प्रतिशत लगानी (अनुदान) र सम्बन्धित किसानको २५ प्रतिशत लागतमा बिरुवा उपलब्ध गराउन थालिएको कृषि प्राबिधिक श्रेष्ठले जानकारी दिनुभयो ।

बिरुवा माग गरिएका कृषि फर्म, समूह, सहकारीको उत्साहजनक सहभागितामा बुधवारदेखि सुरु भएको खुर्सानीको बिरुवा वितरण नगरको कार्यालय बाघखोरमा पायक पर्ने स्थानका किसानलाई कार्यालयबाट बिरुवा लिन आब्हान गरिएको छ ।

नगरको कार्यालयसम्म पुग्न कठिनाई हुने किसानको फर्म, समूह तथा सहकारीलाई सोही स्थानसम्म नै नगरपालिकाले ढुवानी गरेर उपलब्ध गराउने कृषि प्राबिधिक बिनोद पौडेलले जानकारी दिनुभयो ।

उहाँको अनुसार नगरपालिकाले किसानलाई अनुदानमा बिरुवा उपलब्ध गराएको खुर्सानी उत्पादन गर्न आवश्यक पर्ने प्राविधिक सहयोग समेत निरन्तर प्रदान गर्नेछ । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web