नुवाकोट–रसुवामा ‘त्रिशूली अल्ट्रा दौड’ प्रतियोगिता हुदैँ, बिजेताले एक लाख पाउने

त्रिशूली । नुवाकोट र रसुवामा सञ्चालन हुने गरेर अहिलेसम्मकै ऐतिहासिक दौड प्रतियोगिता The Trishuli Ultra-2025 (त्रिशूली अल्ट्रा दौड) आयोजना गरिएको छ ।

नेपाल एडभेन्चर रनिङ महासंघको आयोजनामा यही चैत २३ गते शनिबारको दिन नुवाकोटको बेलकोटगढी नगरपालिका– १० बेलकोट स्थित निरन्जना भवगती मन्दिरबाट सुरु भएर नुवाकोट र रसुवाको विभिन्न स्थान हुदै विदुर नगरपालिका–५ देवीघाट स्थित जालपादेवी मन्दिरमा पुगेर सम्पन्न हुने गरेर महिला र पुरुष दुवै बिधामा दौड प्रतियोगिता आयोजना गरिएको हो ।

महिला र पुरुष दुई समूहमा हुने प्रतियोगिताको बिजेताहरुले पदक, ट्रफी, प्रमाणपत्र सहति प्रथम हुनेले एक–एक लाख रुपैयाँ पाउने छ भने दोश्रो हुनेले ७५ हजार, तेश्रो हुनेले ५० हजार, चौथो हुनेले २० हजार, पाचौ स्थान हुनेले १० हजार र छैटौँ देखि दशौँ स्थानसम्म हुनेले ३ हजार रुपैयाँ पाउने छ ।

प्रतियोगिता सञ्चालन सम्बन्धि जानकारी दिन सोमबार बट्टारमा आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष एकेन्द्रबहादुर कुंवरले साहसिक खेल (दौड) अन्तरगत आयोजित प्रतियोगिता मार्फत नुवाकोट र रसुवामा खेल क्षेत्रको प्रबद्र्धन, नयाँ खेलाडीको उत्पादन, यहाँको भूमि, धार्मिक स्थल, पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा उल्लेख्य सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

महासंघका बरिष्ठ उपाध्यक्ष तथा प्रतियोगिताको संयोजक राजन खत्रीको अनुसार पहिलो पटक आयोजना गरिएको त्रिशूली अल्ट्रा दौड प्रतियोगितामा २५० जना भन्दाबढी खेलाडी धावकको सहभागिता रहने छ । प्रतियोगितामा विदेसी खेलाडीलाई समेत सहभागी गराउन लागिएको छ । प्रतियोगितालाई आगामी वर्षमा पनि निरन्तरता दिइने र क्रमशः यसलाई नुवाकोटको बेलकोटगढीबाट सुरु गरेर चीनसंगको सीमा रसुवाको रसुवागढीसम्म अथवा लाङटाङसम्म दौडाउने योजनाको बनाइएको उहाँले जानकारी दिनुभयो ।

नुवाकोट र रसुवामा प्रतियोगिता सञ्चालन गर्न लागिएकाले यसलाई ऐतिहासिक रुपमा सफल बनाउन नुवाकोट जिल्लामा रहेका सम्पूर्ण खेल सम्बन्धि संघसँस्थाहरुको सहयोग हुने पत्रकार सम्मेलनमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बिजय गुरुङले प्रतिबद्धता जनाउनुभयो ।

प्रतियोगितामा कालेपत्र गरिएको सडक, सिढीँबाटो, ग्राबेल बाटो, धुलाम्य बाटो, वन तथा गोरेटो बाटो समेत गरेर करीब ५६ किलोमिटरको दुरी रहेको प्रतियोगिताको रुट व्यवस्थापनमा प्राविधिक सहयोग पुराउदै आउनुभएका बेलकोट निवासी माधवप्रसाद भट्टले जानकारी दिनुभयो ।

प्रतियोगितामा सहभागी हुन नाम दर्ताको लागी एक जनाको ३०० रुपैयाँ तोकिएको छ भने सहभागि सबैलाई टिसर्ट उपलब्ध हुनेछ । काठमाडौबाट आउने खेलाडीले यातायात सहित खाना नास्ताको प्रबन्ध समेत मिलाइएको आयोजकले जनाएको छ । नुवाकोटमा नाम दर्ताको लागी जिल्ला खेलकुद विकास समिति मार्फत गरिने अध्यक्ष बिजय गुरुङले जानकारी दिनुभयो ।

प्रतियोगिता सञ्चालनमा बागाती प्रदेसको खेलकुद विकास परिषद्, नुवाकोट र रसुवाको जिल्ला खेलकुद विकास समिति, नुवाकोटको चार पालिका बेलकोटगढी, लिखु, सूर्यगढी र विदुर तथा रसुवाको उत्तरगया गाँउपालिकाको सहयोग रहेको छ । कार्यक्रमको उद्घाटन बागमती प्रदेसको मुख्यमन्त्री बहादुरसिंह लामा तामाङ मार्फत हुनेछ भने प्रदेस खेलकुद विकास परिषद्को सदस्य सचिव दिपक लामा लगायतको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

TOP