नुवाकोट जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा 

फाल्गुन २६, २०८१ मा प्रकाशित | 429 views


त्रिशूली । नुवाकोट जिल्ला पूर्ण खोप सुनिश्चितता भएको घोषणा गरिएको छ । पूर्ण खोपयुक्त सुनिश्चितताको लागी तोकिएका मापदण्ड पूरा भएसगैँ जिल्ला खोप समन्वय समिति, नुवाकोटको आयोजनामा आइतबार जनस्वास्थ्य कार्यालयमा आयोजित विशेष कार्यक्रमको बीच बागमती प्रदेसका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले पूर्ण खोपयुक्त सुनिश्चितता भएको प्रमाणपत्र प्रदान गर्नुभयो ।

मुख्यमन्त्री तामाङले समितिका संयोजक एवम् जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरीलाई प्रमाणपत्र प्रदान गर्दै आगामी दिनमा राष्ट्रिय अभियानका खोप कार्यक्रमको आवश्यक प्रक्रिया र क्रियाकलाप अवलम्वन गर्ने प्रतिबद्धता पूरा गर्न स्मरण गराउनुभयो ।

“अहिलेसम्मको अध्ययन र सर्वेक्षणका आधारमा तोकिएका उमेर समूहका बालबालिकाले पाएको खोपलाई आधार मानेर पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ ।” मुख्यमन्त्री तामाङले भन्नुभयो “राष्ट्रिय अभियानका क्रममा आगामी दिनमा चलाइने खोप कार्यक्रम सहित स्वास्थ्य सुधारका आवश्यक सूचक पूरा गर्न कार्ययोजना र क्रियाकलाप निरन्तर जारी राख्नु पर्दछ ।”

पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने कार्यक्रम अन्तरगत नुवाकोट जिल्ला सबैभन्दा अन्तिममा रहेको बागमती प्रदेसका स्वास्थ्य मन्त्री किरण थापामगरले जानकारी दिनुभयो । नुवाकोटले विसं.२०७८ बैशाखमा घोषणाको लागी माग गरेको अनुमति र त्यस पश्चातका प्रयासमा तोकिएका मापदण्ड पूरा गर्न नसकेपछि घोषणा कार्यक्रम रोकिदै आएको थियो । नुवाकोटले प्रमाणपत्र पाएसगैँ अब बागमती प्रदेस सहित नेपाललाई पूर्ण खोप सुनिश्चितता भएको घोषणा गर्न बाटो खुला भएको स्वास्थ्य मन्त्री थापा मगरको भनाई छ ।

राष्ट्रिय खोप तालिकामा समावेश भएका १५ महिना उमेर भित्रका बालबालिकाले पाउनु पर्ने सबै खोपको पूर्ण मात्र लिएको एवम् अन्य खोप थप गर्न परेमा त्यसलाई समेत समावेश भएको सुनिश्चित भएसगैँ पूर्ण खोपयुक्त भएको घोषणा गरिएको हो ।

नुवाकोट जिल्लामा जन्मेदेखि १५ महिना उमेर समूहका तीन हजार ५८१ सबै बालबालिकाले खोप पाएको जनस्वास्थ्य प्रमुख महेन्द्रध्वज अधिकारीले जानकारी दिनुभयो । उहाँको अनुसार खोपको पूरा मात्रा लगाएपछि वडा र पालिकातहको घोषणा, कोही छुट भएकी भनेर गरिएको सर्वेक्षण र छुट खोप कार्यक्रम सञ्चालन गरेर सबै बालिकालाई खोप कार्यक्रममा समावेश गरिएको छ ।

बच्चा जन्मेदेखि १५ महिनासम्ममा बीसीजी, रोटा, पोलियो, एफआईपीभी, पीसीभी, डीपीटी, हेपाटाइटिस–बी, हिब, दादुरा–रुवेला र जापनीज इन्सेफलाइटिस विरुद्धका विभिन्न चरणका खोप निर्धारित तालिकामा तोकिए अनुसार प्रदान गरेको सुनिश्चित भएपछि मात्रै पूर्ण खोपयुक्त भएको घोषणा हुने गरेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web