आज मौसम सफा, भोलि पाँचवटा प्रदेशमा हिमपात

माघ १५, २०८१ मा प्रकाशित | 192 views


काठमाडौँ । देशभरको मौसम आज मुख्यतया सफा रहनेछ । पश्चिमी वायुको सामान्य प्रभाव रहँदा देशभरको मौसम मुख्यतया सफा रहने भएको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । तराईका धेरै भूभागमा हुस्सु र कुहिरो रहेको छ ।

तराई क्षेत्र तथा उपत्यकाका धेरै स्थानमा हुस्सु र कुहिरोको सम्भावना रहेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ ।

विभागले दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भूभागमा आंशिक बदलीको सम्भावना रहेको जनाएको छ । बाँकी प्रदेशका अन्य भूभागमा मौसम सफा रहनेछ ।

काठमाडौंमा आज बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ६.६ डिग्री सेल्सियस मापन गरिएको छ । दिउँसो अधिकतम तापक्रम २० देखि २२ डिग्री सेल्सियससम्म पुग्ने पूर्वानुमान रहेको मौसमविद् राजु प्रधानाङले जानकारी दिए ।

हिजो बिहान पौने ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ६.१ डिग्री सेल्सियस रहेको थियो । हिजोको भन्दा आज तापक्रम केही बढेको हो ।

उनका अनुसार बिहान ५ : ४५ बजे काठमाडौंको भिजिविलिटी ५ किलो मिटर रहेको छ । “तराईका धेरै भूभागमा हुस्सु र कुहिरो लागिरहेको छ,” उनले भने, “तर, यो दिउँसोसम्म हट्नेछ ।”

भोलिबाट कमजोर न्यूनचापीय प्रणाली भित्रिनेछ । जसको प्रभाव अधिकांश प्रदेशमा पर्नेछ । जसका कारण मौसममा बदली हुनेछ । जसका कारण सातवटै प्रदेशमा आंशिक बदली हुनेछ ।

“भोलिबाट कमजोर न्यूनचापीय प्रणाली आउँदै छ । जसका कारण सबै प्रदेशमा आंशिक बदली हुनेछ,” मौसमविद् प्रधानाङले भने, “मधेस र लुम्बिनी प्रदेशबाहेक अन्य प्रदेशका केही भू–भागमा हिमपातको सम्भावना रहेको छ ।”

हिमपातको सम्भावना रहे पनि वर्षाको सम्भावना भने नरहेको विभागले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web