शेरामा विदुर नगरपालिकाको डोजर चल्यो, लामो समयदेखिको विवाद समाधान

पुस १८, २०८१ मा प्रकाशित | 836 views


शेरा । मध्येपहाडी लोकमार्ग अन्तरगत ‘गंगटे–ढिकुरे सडक खण्ड’को विदुर–२ शेरा स्थित सडकको दायाबाया रहेका घरमा डोजर चलाइएको छ । क्षतिपूर्ति कम भयो भनेर स्थानीय चार घरपरिवारले पुराउदै आएको अबरोध अन्ततः विदुरका नगरप्रमुख राजन श्रेष्ठको समन्वयमा समस्या समाधान गर्दै बिहीबार डोजर चलाइएको हो ।

चार घरपरिवारको पाच घरटहरामा बिहीबार विदुर नगरपालिकाको डोजर लगाएर सडक विस्तारको लागी भइहरको अबरोध हटाइएको छ । योसगैँ अब विदुर–२ को अन्तिम बिन्दु, लिखु गाँउपालिका– १ सुरु हुनु अघिको उकालोमा लामो समयदेखि धुलो र खाल्डाखुल्डीले समस्या भोगिरहेका सवारीचालक र यात्रुले सहजता पाउने भएका छन् ।

नगरबाट नगद उपलब्ध गराई समस्या समाधान :

मध्येपहाडी लोकमार्गको सडक विस्तारका क्रममा सडक दायाँबायाँ परेका घरटहराको धनी परिवारलाई चित्तबुझ्दो क्षतिपूर्ति नभएको भन्दै लामो समयदेखि विभिन्न निकायको प्रयास एंव बलप्रयोगको बाबजुत कायम रहेको चार घरपरिवारको घरटहरा हटाउन नसक्दा ठूलो समस्या थियो । विगतमा प्रशासनले बल समेत प्रयोग गरेको थियो । तर, सामाजिक न्यायको सिद्धान्तबाट हेर्दा पनि उक्त स्थानका बासिन्दाले साच्चै कम रकम पाएका थिए । प्रशासनको बल प्रयोगले पनि सार्थकता पाउन सकेन । पहलको लागी विगतका जनप्रतिनिधि र प्रशासकले पनि चासो दिएनन वा दिएको चासो पनि सफल हुन सकेन ।

सोही कारण उक्त स्थानमा सडक निर्माणको काम नै ठप्प भएको थियो । तर, उक्त समस्या समाधानको लागी कहिले कार्यालयमा नै प्रभावित बासिन्दालाई बोलाउने त कहिले आफै प्रभावितको घरमा पुगेर विदुरका नगरप्रमुख राजन श्रेष्ठले भने मनाउन सफल हुनुभयो । उनीहरुलाई कम हुन पुगेको भन्दै प्रति घरटहरा नगरबाट एक लाख रुपैयाँ दिएर डोजर चलाउने वातावरण तयार भयो ।

लामो समयदेखिको समस्या जारी थियो । तर, नगरप्रमुखको विशेष पहल एंव प्रयासबाट प्रभावित बासिन्दालाई सन्तुष्ट हुने वातावरण सुनिश्चित गराई केही दिन अघि भएको सम्झौता अनुरुप सडक विस्तारको लागी बिहीबार घरटहरा हटाई सडक विस्तारका लागी ठाँउ खाली गरिएको छ ।
मध्येपहाडी लोकमार्गमा पर्ने उक्त स्थानमा उत्पन्न अबरोध हटाउन नगरपालिकाको तर्फबाट आवश्यक संरचना हटाई सडक निर्माणका लागी साइट क्लियर भएको छ ।

विदुर नगरपालिकाको अन्तिम बिन्दु स्थित लिखु गाँउपालिका प्रवेश गर्नुअघिको उक्त स्थानमा भौगोलिक रुपमा उकालो ठाँउ, साघुँरो सडक, थुलाम्य र खाल्डाखुल्डी समेत भएका कारण सवारी आवागमन र पैदल यात्रुले भोग्दै आएको समस्या अब समाधान हुने आशा जगाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web