
नुवाकोट । बिदुर नगरपालिका वडा नं ९ स्थित वडा कार्यालय परिसरमा जमिनमुनीको पानी तानेर किसानलाई सिचाई सुविधा उपलब्ध गराउन डिप बोरिङ थालिएको छ । उक्त कार्यको बिहीबार विदुर नगरपालिकाको प्रमुख राजन श्रेष्ठले शिलान्यास गर्नुभयो । डिप बोरिङ गर्ने स्थानमा शुभसाइत बनाएर नगरप्रमुख श्रेष्ठले भूमि पूजा गरेर कार्य थालिएको हो । उक्त अवसरमा ९ नं अध्यक्ष हरेराम भण्डारीले पनि शिलान्यासमा साथ दिनुभयो ।
कोलनी आसपासमा रहेका खेतीयोग्य उर्वर भूमि जहाँ सिचाई सुविधाको अभावले खेती लगाउन समस्या भोगिरहेका किसानको मुहारमा खुसी ल्याउन माथिल्लो निकायसंगको निरन्तरको प्रयासबाट डिप बोरिङको काम अघि बढाउन सफल भएको उक्त अवसरमा नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
‘एकीकृत नदी बेसिन सिचाई तथा जलस्रोत व्यवस्थापन कार्यक्रम, जलस्रोत तथा सिचाई विभाग’संग नेपाली काँग्रेस नुवाकोटका सभापति एंव बागमती प्रदेससभा सदस्य रमेशकुमार महतको पहलमा नुवाकोटमा आएको उक्त डिप बोरिङको काम सुरुमा पञ्चकन्यामा २ वटा र विदुर–१० मा एक गरेर तीन वटा कार्यक्रम रहेकोमा नगरप्रमुख श्रेष्ठको पहलमा थप एक कार्यक्रम विदुर–९ को लागी समावेश गर्न सफल भएको हो ।
उक्त विभागको प्राविधिक टोलीबाट डिप बोरिङ गरेर पानी निकाल्ने काम पूरा गर्नेछ भने सिचाई विस्तारका लागी चाहिने पाइप लाइन, विद्युतीय उपकरण जडान लगायतको काम नगरपालिका मार्फत गरिने भएको छ । यस हिउदयामको सुख्खा समयमा सिचाईको लागी पानी उपलब्ध गराउने लक्ष्य लिइएको छ ।
कार्यक्रमसंग सम्बन्धित थप तस्बिरहरु :

20.12¡ÆC